बाह्र नेपाली मारिएको इराक घटनाबारे जान्नुपर्ने केही तथ्य

28 Aug, 2018

वैदेशिक रोजगारको इतिहासमा कालो दिनको रुपमा सम्झिइने भदौ १६ सायद अब भविष्यमा फेरि नदोहोरिएला र नदोहोरियोस पनि। निर्मम ढंगले १२ नेपालीको हत्या गरिएको घटनाले सारा विश्व स्तब्ध भयो। अपहरणपछि कायरतापूर्ण ढंगले हत्या गरिएको दृश्य तथा भिडियो जब अन्तर्राष्ट्रिय संचार माध्यममा आउन थाले, शान्त रहने वीर नेपालीको स्वभावले एकाएक ज्वालामुखीको रुप धारण ग-यो। सयौं मेनपावरहरुका कार्यालय तोडफोड भए, हजारौ राहदानी जलाइए, क्षतिको हिसाब लाखमा सीमित रहेन करोड नाघ्यो। 

तत्कालिन न्यायाधिश गौरी बहादुर कार्कीको संयोजकत्वमा छानबिन समिति गठन गरिएपनि उक्त समितिले दिएको प्रतिवेदन दराजमै थन्कियो। १२ नेपालीको हत्याको घटनाले वैदेशिक रोजगारमा जानु अघि नेपालीलाई एक पल्ट त झस्क्यायो तर बिर्सिन पनि धेरै समय लागेन। एकातिर विदेशिनेको संख्या बढ्दै गयो अर्कोतिर मानव तस्करले आफ्नो जालो झन् झन् फैलाउँदै गए। अन्तत वैदेशिक रोजगारको यात्रा एक नेपालीका निम्ति तरवारको धारमा हिडे जस्तै बनेको छ। कतिबेला के हुने कसैलाई पत्तो नहुने। इराक घटना भएको १४ वर्ष पुग्दै गर्दा उक्त घटना बारे जान्नुपर्ने केही तथ्यहरुः

१) इराक घटनामा १२ नेपाली मारिए पनि उनीहरु सँगै अन्य २३ जनाले वैदेशिक रोजगार विभागबाट २०६१ असार १६ गते श्रम स्वीकृति लिएका थिए। तर ति २३ जना भने भाग्यले बाँच्न सफल भए। 

२) मारिएका ति १२ नेपाली कुपन्डोलस्थित मुनलाइट मेनपावरबाट विदेशिएका थिए। 

३) उनीहरुले जोर्डनमा होटलमा काम गर्नका लागि श्रम स्वीकृति लिएको भएपनि झुक्क्याएर इराक पुर्याइएको थियो।

४) उनीहरुलाई आर्मी अफ अन्सर अल सुन्न नामक एक आतंककारी समूहले केही दिन बन्धक बनाएपछि हत्या गरेको थियो। 

५) आफ्नै नेपालीलाई नेपाल सरकारले बचाउन गरेका अनेक प्रयास सफल हुन सकेनन्। अन्ततः हत्याको खबर अल जजिरा टिभीबाट सार्वजनिक भएको थियो।

६) मारिएका नेपालीका आफन्तले अमेरिकन कम्पनी केबिआर र सोही कम्पनीकै मातहतमा जोर्डनमा काम गर्ने दाउद एण्ड पार्टनर्स बिरुद्ध कानुनी लडाई सुरु गरे। १२ मध्ये १० जनाका परिवारले क्षतिपूर्ति पाएका थिए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024