बालबालिकाले रोके बालश्रममा जान

14 August, 2015

नगेन्द्र अधिकारी

 

खारेचौर र गेरुवापानीका कक्षा ७ र ८ मा पढ्ने खतिवडा थरका २ जना बालबालिका घर भूकम्पले भत्किएपछि कामको खोजीमा काठमाडौं जान लागेका थिए। स्थानीय बाल क्लबकी सदस्य सविता ढकाल र उनका साथीहरूले यो थाहा पाएपछि उनीहरूलाई बेचबिखनमा पर्ने जोखिमका बारेमा जानकारी गराएर फर्काए। बाल क्लबकै पहलमा फोएप नामक संस्थालाई समन्वय गराएर परिवारका लागि आयआर्जनको बाटो पहिल्याइदिएपछि उनीहरू समुदायमा नै पुन: स्थापित भएका छन्।

 

बालअधिकारको संरक्षणका लागि स्थानीय बालबालिका नै संगठित रूपमा अग्रसर भएपछि बालबालिका बेचबिखनको सिकार हुनबाट जोगिएका छन्।

बाल क्लबकी अगुवा सविता भन्छिन्, ‘बाल क्लबको सक्रियतामा बालश्रम रोक्न सकिएकामा सबैले प्रशंसा गरेका छन्,’ उनले भनिन्, ‘बालबालिकाले पनि ठूला काम गर्न सक्छन् भनेर प्रमाणित गरेका छौँ।’ सविता अहिले आफ्ना गाविसका बालबालिका तथा महिलालाई बेचबिखनबाट बच्ने तरिका, सरसफाइ, पानी शुद्धीकरण, यौन दुव्र्यवहारलगायत विषयमा जानकारी गराउँछिन्।

 

ज्याम्दीकी प्रमिला पराजुलीका भाइ प्रज्ज्वल भूकम्प गएपछि तर्सिने, विद्यालय जान नमान्ने गर्थे। भूकम्पले उनीहरूको घर जगैदेखि भत्किएको छ। बेलाबेलामा फेरि पनि भूकम्प आउने हो कि भनेर तर्सिने गरेका उनी दिदीले भूकम्प, सुरक्षा उपायका बारेमा बताएपछि फेरि विद्यालय जान थालेका छन्। ‘गाउँका अरू साथीलाई पनि भूकम्पबाट जोगिने उपायबारे बताएपछि नडराउने भएका छन्,’ उनले भनिन्। प्रमिलाले गाउँका ठूला मानिसलाई पनि सरसफाइबारे बताएपछि उनीहरूले शौचालय बनाउने प्रतिबद्धता जनाएका छन्। ‘सानो मान्छेले पनि धेरै राम्रो कुरा सिकायौ भनेर प्रशंसा गर्नुभयो,’ उनले भनिन्, ‘तिमीहरूको अभियानमा साथ छौँ भनेर हौसला पनि दिनुभएको छ।’

 

‘बालबालिकालाई सिकाउन बालबालिका’ नै उपयुक्त हुने अवधारणाअनुसार भूकम्प प्रभावित १० गाविसमा सञ्जालका २/२ जना परिचालन गरिएको जिल्ला बाल सञ्जालका अध्यक्ष सञ्जीव न्यौपानेले बताए। ‘आफ्नै उमेर समूहकाले सिकाउँदा र अनुभव साट्दा प्रभावकारी होला भन्ने लागेर यसो गरेका हौँ,’ उनले भने, ‘साथीभाइलाई आफ्ना समस्या निर्धक्क राख्न पनि सक्छन्।’ भूकम्पपछिको समयमा बालबालिकाको सक्रियतामा धेरै काम भएको उनले बताए। अति प्रभावित ज्याम्दी, देवीटार, पोखरीनारायणस्थान, रबिओपी, काभ्रे, र्‍याले, कुशादेवी, धुलिखेल, नासिकास्थान, साँगा र पाँचखालमा बालबालिकाले सचेतनामूलक जानकारी दिइरहेका छन्। घर, विद्यालय र सुमदायमा गएर उनीहरूले सिकाउने गरेका छन्।

 

जिल्ला बालअधिकृत जयराम कर्माचार्यका अनुसार जिल्लामा ६ सय ७१ वटा बालसमूह छन्। १ सय ३९ बाल क्लब जिल्ला बालकल्याण समितिमा सूचीकृत छन्।

  

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024