त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा बुधबार गुलाबी कुर्तामा एक महिला मुखभरि घाउ लिएर कुर्सीमा बसिरहेकी थिइन्। हेर्दा लाग्थ्यो, उनी ठुलै युद्ध जितेर आएकी हुन्। नभन्दै स्थिति त्यस्तै रहेछ। उनी साँच्चै लडाइँ जितेरै आएकी रहिछन्। बुटवल दाउन्नेकी रोमा कुमालको त्यस्तो जितका पछाडि ठुलो हार पनि रहेको देखियो। हातमा सुटकेस गुडाउँदै विदेशबाट स्वदेश आइपुगेहरूको भिडमा घाउचोटको चाङ बोकेर उनी आएकी थिइन्। उनीसँग शरीरमा लगाएको कपडाबाहेक अरू केही थिएन।
विमानस्थलमा भेटिएकी रोमा निकै दुब्ली भएकी थिइन्। विदेशबाट फर्किएकाहरूले थर्थराइरहेकी उनलाई नियालिरहेका थिए। शरीरभरि मात्र होइन, मनभरि पनि चोटैचोट लिएर उनी घर फर्किएको उनको हाउभाउले स्पष्ट हुन्थ्यो। विदेशबाट आएका सबैलाई लिन परिवारजन एयरपोर्टमा खादामालासहित पुगेका थिए।
रोमालाई स्वागत गर्न कोही पनि पुगेनन्। उनको उद्धार गर्ने अमृतसर संस्थाका प्रतिनिधिले भने उनलाई साथ दिएका थिए। उनको शरीरका विभिन्न भाग र अनुहारमा जताततै नीलडाम देखिन्थ्यो। आँसु पुछ्न आफ्ना हात अघि बढाउन सक्ने अवस्थामा उनी थिइनन्। टाउकाभरि चोट बोकेकी उनका दुवै कान सुन्निएका थिए। हाँसीखुसीका साथ उनी जसरी विदेश गएकी थिइन्, फर्कंदा उनको हालत अत्यन्त नाजुक बनेको थियो।
पतिले लगाएको ऋणको भारी बिसाउने र छोराछोरीलाई राम्रो शिक्षा दिलाउने सपना साकार पार्न दुई महिनाअघि मात्रै उनी घरेलु कामदारका रूपमा एजेन्टमार्फत भिजिट भिसामा कुवेत पुगेकी थिइन्। कुवेत पुगेको १५ दिनदेखि नै घरमालिकबाट पशुलाई जस्तै व्यवहार हुँदा समेत उनले सहँदै आएकी थिइन्। उनलाई कुवेतीले दिनप्रतिदिन शारीरिक र मानसिक यातना दिँदै गए। उनी पनि घरको आर्थिक अवस्थालाई सम्झेर विदेशी नागरिकको कुटाइ सहिरहिन्। तरदिनदिनैको कुटाइका कारण उनले आवाज नै गुमाइन्।
रोमामाथिको कुटाइ दुई–चार दिनको मात्रै थिएन। उनले कुटाइ नभेटेको कुनै दिन थिएन। शिरदेखि पाउसम्म घाउचोट नभएको ठाउँ नै थिएन। अमृतसरले आवास गृह दिने उद्देश्यले कुवेतबाट उनको उद्धार गरेको थियो। विमानस्थलबाट गाडीमा राखेर लैजाने क्रममा उनी सासले मात्र बोलिरहेकी थिइन्। ‘म आफैंलाई थाहा थिएन, नेपाल आउँदैछु भन्ने।
कुवेतीको घरबाट निस्कने क्रममा अब मलाई जेल लैजाँदै छ भन्ने लागेको थियो,’ आँखाबाट बलिन्द्र अश्रुधारा बहाउँदै उनले भनिन्, ‘आखिरमा कसरी नेपाल आइपुगें, म आफैं अचम्ममा छु। नेपाल जिउँदो आउने त के मरेको लास पनि फर्किन्छ होला भन्ने कहिल्यै कल्पनासमेत गरेकी थिइनँ। उनीहरूले दिनरात कुटिरहँदा म भन्ने गर्थें– कि मेरो लास नेपाल पुर्याइदे कि त सास।’
उनको रुवाइले सासले मात्रै बोलेको आवाज पनि हराउँदै गएको थियो तर बोल्न भने छाडेकी थिइनन्।
सकीनसकी उनले नागरिकसँग भनिन्, ‘उनीहरूले कहिल्यै खाना खुवाउँदैनथे। काम गर्दै गर्दा भोकले रिँगटा चल्थ्यो। एक दिन भोक सहन नसकेर मालिककी छोरीको सानो क्याटबरीजस्तो चकलेट खाएकी थिएँ। त्यही निहुँमा उनीहरूले मेरो घाटी अँठ्याएर झुन्ड्याए।’ उनले थपिन्, ‘उनीहरूले नकुटेको दिन त कहिले पो थियो र, मलाई कुट्दाकुट्दा उनीहरूको हात दुख्थ्यो। त्यसपछि जे सामान देख्थे, त्यसैले झटारो हान्थे। उनीहरूको कुटाइले मेरो कानको बाहिरी भाग दोब्रियो। टाउको रगताम्य भएको थियो। हातहरू काम नलाग्ने बने।’
रोमाको मनको गहिरो चोटको संकेत बाहिर बोलीबाट समेत प्रस्टिन्थ्यो।
हिँड्दा कसैको सहारा चाहिने रोमालाई जिउँदै नेपाल फर्किन्छु भन्ने कल्पनासम्म पनि थिएन। ‘उनीहरूले मलाई यति धेरै कुटेका थिए कि म नेपाल फर्किने कुनै आस थिएन। छिटोछिटो नगरेको भन्दै मेरा हात भुइँँमा राखेर उनीहरूले विभिन्न सामानले थिचिदिन्थे। उनीहरूले जतिबेला पनि घाँटी अँठ्याउने गर्दा मैले स्वर गुमाउनुपरेको छ। सग्लो ज्यान लिएर नआए पनि सास लिएर नेपाल आएकी छु,’ रोमाले भनिन्। उनले आफ्ना पति र परिवारलाई आफू कुवेतबाट नेपाल फर्किएको खबर थाहा नभएको बताइन्।
रोमाको वैदेशिक यात्रा कुवेत मात्रै थिएन। उनी केही वर्षअघि साउदी अरेबियामा वर्षौं बिताएर आएकी थिइन्। उनलाई साउदीमा व्यवहारसँगै काम पनि राम्रो थियो तर कुवेतमा नारकीय जीवन व्यतीत गर्नु भनेर कहिल्यै नसोचेको उनले बताइन्। ‘देशअनुसारको व्यवहार हुन्छ भन्ने थाहा भएन। साउदीमा घरकै काममा पाँच वर्ष बिताएँ। त्यहाँ केही नराम्रो भएन,’ उनले भनिन्। अब बुढालाई लिएर भारत पस्ने र उतै गुजारा चलाउने तर अरू कुनै देश नजाने उनले बताइन्।
कुवेत पुगेदेखि नै घरमालिकले आफ्नो मोबाइलमा कुवेती भाषा राखिदिएकाले परिवारसँग पनि सम्पर्क गर्न नपाएको पीडा उनले सुनाइन्। ‘साहुनीले मेरो मोबाइलमा भाषा परिवर्तन गरेपछि घरपरिवारसँग कुराकानी गर्नबाट रोकियो। एजेन्टले भनेअनुसारको भिजिट भिसामा दुबईबाट उनी कुवेत पुगेकी हुन्। कुवेत पुगेपछि त दसा सुरु भइहाल्यो,’ उनले भनिन्, ‘पानीको कार्टुन बिछ्याएर ट्वाइलेटमा सुत्न दिइन्थ्यो। साह्रै दुःख पाइयो। नेपाल आउन पाउँदा धेरै खुसी छु। पिटाइ सम्झिँदा म नेपाल आइपुग्ने मान्छे नै होइन भन्ने लाग्छ।’
रोमा प्रतिनिधि पात्र मात्र भएको अमृतसरकी अध्यक्ष मुना गौतमले बताइन्। उनीजस्ता लाखौं महिला विदेशमा दुःख पाएर नेपाल फर्किएको अवस्थामा छन्। गौतमका अनुसार रोमासँगै थप चार महिलाको उद्धार गरिएको थियो। उनका अनुसार एउटै फ्लाइटमा रोमासहित अरू ३७ महिला नेपाल फर्किएका छन्। रोमालाई नेपाल फर्काउन अमृतसर संस्थाले साता दिनजति पहल गरेको अध्यक्ष गौतमले बताइन्। ‘हामीलाई त्यही काम गर्ने नेपाली महिलामार्फत रोमाको खबर आएको थियो,’ उनले भनिन्, ‘रोमालाई विदेश पठाउने एजेन्टको माध्यमबाट रोमा बस्ने घर पत्ता लाग्यो। कुवेती भाषा प्रयोग गरेर त्यो रोमालाई सास छउन्जेल नेपाल फिर्ता गर्दिनुस् नत्र घरमै पुलिस पठाएर हामी कारबाही गर्छौं भनेर घरमालिकसँग बिहानबेलुकै फोनमार्फत धम्क्याउने गरेपछि मात्र सफलता पाइएको हो।’
उनका अनुसार विदेशमा गएका महिला हिंसाका लागि काम गर्छु भन्ने धेरै छन्। तर यसरी फर्केर आएका महिलाको उद्धार गर्ने उनीहरूलाई हौसला दिने कोही छैनन्। विदेशमा गएका महिलालाई अप्ठेरो परेको अवस्थामा सहायता दिने भन्दै धेरै सरकारी र गैरसरकारी संघसस्था खुलेका छन्। त्यसरी खोलेका संघसस्थाले काम नगरेको गौतमले बताइन्। ‘त्यस्ता संघसंस्था वैदेशिक रोजगारीमा गएका महिलाको हकहितका लागि काम गर्ने र आवाज उठाउने हो भने दिनप्रतिदिन विदेशमा दुःख पाउनेको संख्या बढ्नुको साटो घट्ने थियो,’ उनले नागरिकसँग भनिन्, ‘दैनिक एकजना महिला बचाउनुमै हामी खुसी छौँ। यसरी नै हाम्रो कामप्रति गर्व गर्दै यो कार्यलाई निरन्तरता दिन तयार छौँ।’
कुवेती घरको मारपिटमा परेर मृतप्रायः अवस्थामा रहेकी उनी अहिले आफ्नै देश फर्केकी छन्। कुवेती घरको युद्धमा होमिएकी उनको शरीर थङथिलो भएको थियो। कुवेती भुइँमा लडेकी उनी जीवितै देश फर्किनु पनि एउटा जितसरह हो।