बलात्कारपछि नेपाली महिलालाई भारत लैजान खोज्ने दुई भारतीय पक्राउ

1 February, 2023

नेपाली महिलालाई बलात्कार गरेको अभियोगमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

भारत घर भएका ४० वर्षीय बाबु साहब र मोहम्मद जाहगिरलाई पक्राउ गरेको जानकारी दिँदै मोरङ प्रहरीले उनीहरूले पीडित महिला र उनको साथमा रहेकी नाबालिग छोरीलाई भारत लैजाँदै गर्दा नियन्त्रणमा लिइएको जनाएको छ।

पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय रानी विराटनगरले मोरङ अदालतमा मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरू गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने,‘हिजो म्याद थप्यौं, अहिले घटनाको अनुसन्धान भइरहेको छ।’

माघ १२ गते बिहीबार बिहान विराटनगरको रोडशेष चोकस्थित एउटा होटलमा एक जना महिला काम खोज्दै आइपुगेकी थिइन्। झापा घर बताउने २७ वर्षीया ती महिलाको साथमा १४ वर्षीया बालिका पनि थिइन्। उनी महिलाकी दिदीको छोरी भएको खुलेको छ।

होटल सञ्चालकले होटलको काममा सघाउने गरी उनलाई काम दिने तर इमान्दारीपूर्वक काम गर्नुपर्ने बताएर काम दिए।

पक्राउ परेका दुबै जना भारतीय नागरिक केही दिनदेखि त्यही होटलमा बसिरहेका थिए। कामको खोजीमा आएकी महिला र बालिकालाई नियालिरहेका उनीहरूले राम्रो काममा लगाइदिने प्रलोभन देखाउन थाले। त्यही क्रममा महिलामाथि दुई भारतीयले त्यही राती जबरजस्ती गरेको खुलेको प्रहरीको भनाइ छ।

‘प्रलोभन देखाउने क्रममा नजिकको होटलमा लगेर जबरजस्ती करणी गरेपछि भोलिपल्ट भारत लैजाने भएछन्,’ मानव ओसारपसारविरूद्ध काम गरिरहेको संस्था साना हातहरू नेपालका स्टेसन म्यानेजर दिवस श्रेष्ठले भने, ‘उनीहरूलाई भारत लैजाँदै गर्दा हामीले सीमा क्षेत्रबाट नियन्त्रणमा लिएका हौं। उनीहरूले काममा लगाइदिने भनेर सानिमा र छोरीलाई लिएर जाँदै रहेछन्। हामीले नियन्त्रणमा लिएपछि घटनाबारे खुलेको हो।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024