प्राइम लाइफकोे जघन्य ठगीः बीमा गर्ने, क्षतिपूर्ति नदिने

12 Apr, 2018

प्राइम लाइफ इन्स्योरेन्सको जघन्य ठगी सार्वजनिक भएको छ । बीमा गरेर प्रिमियम सधै लिने तर, बीमा रकम दावी गर्दा बीमा गरेको कागजात नभेटिएको भन्दै भुक्तानी नदिएपछि प्राइमको ठगी प्रकरण छताछुल्ल भएको हो ।

 

उक्त बीमा कम्पनीले वैदेशिक रोजगारमा गएका कामदारको बीमा गरेर रकम लिएपनि कम्पनीले बीमा गरेको रेकर्ड भने नराख्ने गरेको पाइएको छ । वैदेशिक रोजगार (म्यादी बीमा) गरेर धादिङ जिल्ला साविकको केवलपुर गाविस वडा नम्बर ३ बस्ने गोकर्णप्रसाद बिडारी मलेसिया पुगेका थिए । प्राइम लाइफमा वैदेशिक रोजगार बीमा गरी २०७३ साल कात्तिक ११ गते वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर मलेसिया पुगेका बिडारीको नेपाल आएका समयमा बीमा अवधि बाँकी छदै गत भदौमा मृत्यु भयो । गोकर्णको मृत्युपछि उनको परिवार मृत्यु दाबी भुक्तानीका लागि बीमा कम्पनी पुग्यो तर, बीमा कम्पनीले उनको परिवारलाई रित्तो हात फकाई दियो । कारण थियो, रेकर्ड नभेटिनु ।

 

‘श्रीमानको मृत्युपछि बीमा वापतको रकम पाइन्छ कि भनेर प्राइमको अफिस पुगे’ मध्यान्ह राष्ट्रिय दैनिकसँगको कुराकानीमा मृतककी श्रीमती गोमा बिडारीले भनिन्, ‘मेरो श्रीमान्ले बीमा गरेको सम्पूर्ण प्रमाण बुझाउँदा समेत कम्पनीले दावी भुक्तानी दिएन ।’ बीमा कम्पनीले शुरुमा केही कागजात नपुगेको भनेको तर, पछि सबै कागजात पु¥याउँदा समेत दावी भुक्तानी नदिएको पीडित गोमाले मध्यान्हलाई बताइन् । ‘तपाईको श्रीमानको बीमा इन्ट्री नै छैन’ भन्दै प्राइमको नागरपोखरी शाखाले दावी रकम नदिएको उनको गुनासो छ ।

 

प्राइमको ठगी धन्दा

 

यो घटनापछि प्राइमले बीमा गर्ने तर, रेकर्ड नराख्ने गरेको तथ्य बाहिर आएको छ । पीडित बिडारीसँग बीमा गरेको सबै कागजातहरू सक्कलै भएपनि प्राइममा भने बीमा गरेको रेकर्ड राखिएको छैन् । कम्पनीमा रेकर्ड नभेटिएका कारण नै मृतककी श्रीमतीलाई प्राइमका कर्मचारीले रित्तो हात फर्काइदिए । श्रीमानको मृत्युको पीडामा परेकी गोमालाई प्राइमको लापरबाहीले गर्दा पीडामाथि पीडा थपिदिएको छ । ‘श्रीमानले त छाडेर जानु भयो, बीमा गरेको रकमले बालबच्चालाई पढाउन थोरै राहत हुने महशुस गरेको थिए’, गोमाले भनिन्, ‘कर्मचारीको लापरबाहीले हामीलाई थप पीडा दिएको छ ।’

 

बीमा अभिकर्ता पक्राउ

 

प्राइमले वर्षौ अघिदेखि संगठित रुपमा ठगी धन्दा गर्दै आएको पर्दाफास भएको भएपछि कम्पनीका एक पूर्व कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त कालीमाटीले उक्त इन्स्योरेन्सका पूर्वकर्मचारी प्रकाश रेग्मीलाई मंगलवार पक्राउ गरी जिल्ला अदालत काठमाण्डौंबाट ठगी अभियोगमा अनुसन्धानका लागि म्याद थप गरी हिरासतमा राखेको छ । पक्राउ परेका रेग्मी करिब ८ वर्ष प्राइमको कर्मचारीको रुपमा कार्यरत थिए । हाल भने प्राइम छाडी सिटिजन लाईफमा काम गर्दै गरेको बुझिएको छ । रेग्मीले नै मृतक बिडारीको म्यादी बीमा गरेका गरेका थिए । उक्त ठगी धन्दामा इन्स्योरेन्स कम्पनीका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतकै मिलेमतो रहेको प्रहरी आशंका छ । राजधानीको हात्तीसारमा केन्द्रीय कार्यालय रहेको उक्त इन्स्योरेन्स कम्पनीको अध्यक्ष पियुशराज अर्याल हुन् भने सीईओ मनोजकुमार भट्टराई हुन् । यस विषयमा बुझ्न प्राइमका सीईओ भट्टराईलाई पटक–पटक टेलिफोन सम्पर्क गर्दा फोन भट्टराईले उठाएनन् ।

 

प्राप्त विवरणअनुसार उक्त इन्स्योरेन्सले सन् २०१६ को अक्टोवर २७ तारेखका दिन वैदेशिक रोजगारीका लागि मलेसिया जाने १८ जना कामदारको म्यादी जीवन बीमा गरेको थियो । १८ मध्ये एक जना मृतक बिडारी हुन् । मृतक बिडारीसँगै बीमा गर्ने अन्य १७ जनाको समेत प्राइमले रेकर्ड राखेको छैन । बिडारी राजधानीको कोटेश्वरस्थित इजाजतपत्र नं ६१७।०६३।०६४ को वल्र्ड वेज म्यानपावर इंक प्रालिबाट मलेसिया गएका थिए । मृतक बिडारीले प्राइममा बीमा गरेको पोलीसी नम्बर प्त्ः ०००३०२११ रहेको छ । बीमित अवस्थामा वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु भएको अवस्थामा १४ लाख रुपैयाँ बराबर रकम पाउने व्यवस्था बैदेशिक रोजगार नियमावली २०७४ ले गरेको छ ।

 

वैदेशिक रोजगार विभागले पीडित परिवारलाई प्राइमले बीमा दावी भुक्तानी नदिएर हैरानी दिएको भन्दै कारवाहीका लागि मंगलवार अपराध अनुसन्धान महाशाखा टेकुलाई पत्राचार गरेको थियो । पक्राउ परेका रेग्मीले अन्य थुप्रै म्यानपावर र इन्स्योरेन्सले पनि आफुले जस्तै अभिलेख नराखी वैदेशिक रोजगारीमा जाने कामदारको फर्जी म्यादी बीमा कागज बनाई ताहाँचलबाट श्रम स्वीकृती गराएको वयान दिएका छन् । रेग्मीको उक्त बयानले बैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय ताहाचालमा वेभ बेष्ड अनलाईन प्रणाली लागू हुनुअघि मृतक विडारीको जस्तै धेरैको फर्जी म्यादी बीमा भएको रहस्य समेत खुलेको छ । यस विषयमा प्रहरीले विस्तृत अनुसन्धान थालेको जनाएको छ ।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024