प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिछ्याउनु पर्छ: कुलमान घिसिङ

25 August, 2025

युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिछ्याएर स्वागत गर्नु पर्ने बताएका छन्।

नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलद्वारा  आफ्नो सम्मानमा शनिवार आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले प्रवासी नेपालीबाट मुलुकले ठुलो अपेक्षा राखेको बताए।

खाडी मुलुक लगायत संसारभरि रहेका नेपालीहरूले पठाएको रकम (रेमिटेन्स) बाट मुलुकको अर्थतन्त्र चलिरहेको तर तिनै प्रवासी नेपालीलाई एयरपोर्ट देखि नै दुख दिने गरिएको उनले बताए।

‘विदेशमा रहेका नेपालीले हरेक महिना एक खरब रुपियाँ भन्दा बढी नेपाल पठाई रहनु भएको छ, त्यसैले मुलुक धानेको छ, तर त्यस अनुसार उहाँहरूले सम्मान पाउन सक्नु भएको छैन,’ उनले भने।

‘मुलुकमा छिटो भन्दा छिटो आर्थिक परिवर्तन गर्न र बिदेसिएका नेपालीलाई नेपाल फर्काउन पनि  नीति र नेतृत्वमा  व्यापक परिवर्तन आवश्यक छ,’ उनले भने । आफू खाडी राष्ट्र, अमेरिका, बेलायत हुँदै युरोपेली मुलुकहरूको भ्रमणमा  आइ पुगेको बताउँदै घिसिङले  जब सम्म नेपाल समृद्ध हुँदैन तब सम्म  कसैको पनि इज्जत नबढ्ने बताए।

चिलिमे जलविद्युत आयोजनाको प्रमुख भएर काम गरेको अनुभव साझा गर्दै घिसिङले भने,’चिलिमेबाट मलाई सरुवा गरिए पछि स्थानीय जनताले एक महिनासम्म आन्दोलन गर्नु भयो, एक हप्ता सम्म त सडक नै बन्द गर्नु भयो।  त्यसैले जनताको माया कस्तो हुन्छ भन्ने मैले त्यसै बेला थाहा पाएको हुँ ।’

जनतालाई केन्द्रमा राखेर सामाजिक(आर्थिक रूपान्तरणको लागि काम गर्नुपर्ने उनले बताए।  ‘आम जनतालाई सहुलियत दिन विद्युत् महसुल २५ प्रतिशत घटाउँदा  पनि प्राधिकरणले अहिले वार्षिक  १२, १५ अर्ब रुपियाँ नाफा गरी रहेको छ । १० वर्ष सम्म लोडशेडिंग  अन्त्य हुँदैन भनेर हाम्रै एक्स्पर्टहरुले भनेका थिए, तर अहिले भारत र बङ्गलादेशलाई विद्युत् निर्यात गरिरहेका छौँ। सात हजार मेगावाटका परियोजना निर्माणाधीन छन्,’ उनले भने। 

घिसिङले ५० हजार मेगावाट विद्युत् उत्पादन गर्ने हो भने नेपालले विद्युत् बिक्री गरेर बर्सेनि  ३० देखि ४० खरब रुपियाँ आम्दानी गर्न सक्ने बताए । ‘२५ देखि ३० वर्षभित्र ती सबै आयोजना  सरकारको स्वामित्वमा आउँछन् ।  विद्युतबाट प्राप्त आम्दानी   शिक्षा, स्वास्थ्य र  पूर्वाधारको विकासमा खर्च गर्न सकिन्छ,’ उनले भने।

विद्युत् मात्रै हेरेर हुँदैन, नेपालमा  सबै क्षेत्र उज्यालो बनाउनु पर्छ भन्दै आफूले उज्यालो नेपाल अभियान सुरु गरेको उनले बताए। ‘नेपालमा सही समयमा सही व्यक्ति सही ठाउँमा हुँदैन, त्यसले समस्या आउँछ।  राजनीतिमा पनि,  हरेक क्षेत्रमा यो लागू हुन्छ,’ उनले भने।

‘यो पोलिटिकल लिडरसिप राम्रो हुनु पर्छ भन्ने अभियान पनि हो।  देश विकास गर्नलाई राजनीतिक नेतृत्व नै राम्रो हुनु पर्छ , मेरो पनि बुझाइ त्यही हो। समय आएको बेला देशमा परिवर्तन गर्नलाई तपाईँहरूले पनि योगदान गर्नु पर्छ,’ उनले भने।

नेपालको  संविधानले दिएको र सर्वोच्च अदालतले दिएको  आदेश अनुसार  विदेशमा बस्ने नेपालीहरूलाई  विदेशमै बसेर पनि भोट हाल्न दिनु पर्ने उनले बताए।  त्यस्तै एनआरएन नागरिकता अहिले  प्रयोगविहीन  अवस्थामा रहेको गुनासो आएको भन्दै जति सक्दो चाँडो कानुन बनाएर एनआरएन  नागरिकता कार्यान्वयन गर्नु पर्नेमा उनले जोड दिए।

‘एनआरएनहरूलाई सहज रूपमा नेपालमा गएर लगानी गर्ने वातावरण बनाउनु पर्छ। नेपाललाई उज्यालो बनाउने, नेपाललाई  समृद्ध बनाउने  तपाईँ हाम्रो सबैको दायित्व हो।  यो सबैलाई जोड्ने अभियान हो।  उज्यालो नेपाल अभियानलाई साथ सहयोग दिन म आग्रह गर्न चाहन्छु,’ घिसिङले भने ।

उनले आफ्नो बाँकी जीवन समग्र देशको उज्यालोको लागि समर्पित गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उक्त अवसरमा घिसिङलाई कदर पत्र सहित सम्मान गरिएको थियो।

नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष चोप कुमार मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा  वरिष्ठ उपाध्यक्ष सोनाम योञ्जन लामाले गरेका थिए भने अर्जुन घिमिरे, सोम फुरी शेर्पा लगायतले मन्तव्य राखेका थिए।  नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका  महासचिव प्रेम लिम्बुले सञ्चालन गरेको  कार्यक्रममा शेर्पा नृत्य पनि प्रस्तुत गरिएको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024