प्रवासबाट जिल्लावासीलाई स्वास्थ्य सामग्री सहयोग

20 Jul, 2020

श्याम खतिवडा

दोलखा स्थायी घर भई रोजगारीका लागि दक्षिण कोरिया पुगेका युवाले कोरोना महामारीको समयमा गृहजिल्लालाई स्वास्थ्य सामग्री उपलब्ध गराएर सहयाेग गरेका छन् ।

प्रवासमा श्रम गरेर कमाएको रकममध्ये केही रकम जिल्लावासीको स्वास्थ्य क्षेत्रमा खर्च गर्ने उद्देश्यले स्वास्थ्य सामग्री वितरण गरिएको हो । दक्षिण कोरियामा दोलखाली समाज दक्षिण कोरिया नामक सामाजिक संस्था स्थापना गरी सामाजिक सहयोग गर्दै आएको उनीहरूले बताए।

दोलखाली समाजका तर्फबाट उनीहरूले जिल्लास्थित संकट व्यवस्थापन समितिलाई कोरोना महामारी नियन्त्रणका लागि तीन लाख ६२ हजारबराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएका छन्।

स्वास्थ्य सामग्री जिल्ला भित्र्याउन सहजीकरण गरेका पत्रकार लक्ष्मण खड्काले आइतबार संकट व्यवस्थापन समिति दोलखाका संयोजक एवं दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

स्वास्थ्य सामग्री बुझ्दै दोलखाका प्रमुख जिल्ला अधिकारी शर्माले कोरोना महामारी नियन्त्रणका लागि जिल्लामा सबै सरोकारवालाकाे सहयोगले दोलखामा कुनै पनि समस्या नदेखिएको बताए । उनले विदेशबाट जिल्ला भित्रिने सबै नागरिकको अनिवार्य पिसिआर परीक्षण गरिरहेको जानकारी दिए ।

समाजले उपलब्ध गराएका सामग्रीरूमा भिटिएम १२ सय थान, सर्जिकल मास्क एक हजार थान, पिपिई २० सेट, एन नाइन्टी फाइभ मास्क दुई सय पिस र ग्लोभ्स छन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024