प्रधानमन्त्रीज्यू, प्रवासका पीडा सुन्नुस्

1 August, 2025

दीपेश घिमिरे

परदेशको एउटा कुनाबाट प्रधानमन्त्रीज्यूलाई देशको गम्भीर संकट र त्यसले परिवार, समाज र देशलाई पारेको असरलाई लिएर आज केही शब्दहरू लेख्दैछु । नेपालको वास्तविकता यतिबेला दुःखद् तथा चुनौतीपूर्ण मोडमा आइपुगेको छ ।

विगत केही दशकदेखि नेपाली युवाहरूको ठूलो हिस्सा दिन दुई गुना, रात चौगुना भने जस्तै पलायन हुँदैछ । न रोकेर रोकिन्छ, न छेकेर छेकिन्छ, आम युवा पंक्ति स्वदेशमा अवसरको कमीको अनुभूति गर्दै परदेशतिर लागेका छन् । वैदेशिक रोजगारी अब विकल्प नभएर बाध्यता बनेको पो हो कि भन्ने आभास भएको छ । गाउँगाउँ सुनसान हुँदैछ र केही भइसके पनि, खेतबारी बाँझिएका छन्, वृद्धवृद्धा छोराछोरीको पर्खाइमा टोलाउँदै बाँचिरहेका छन् सायद मर्दा चितामा आगो लगाउन पुग्ला वा नपुग्ला भनेर आँसुका धारा चुहाउँदैछन् र देशको मेरुदण्ड बन्ने सपना देखिएका युवाहरू विदेशी भूमिमा रगत, पसिना बगाइरहेका छन् ।

हो, यस्तै अवस्था देखेर म सोच्दैछु र धेरै घोत्लिएर अनेक प्रश्नहरूको उत्तर माग्न खोजिरहेको छु, हामी कस्तो परिस्थिति चाहान्छौं र के भइरहेको छ मलाई एक गम्भीर प्रश्नको सामना गराइरहेको छ र सोध्न मन लागेको छ यो प्रश्न कहिले हुन्छ प्रधानमन्त्रीको गम्भीर हस्तक्षेप, नेपाल सरकारको हस्तक्षेप ?

म तपाईंप्रति आशावादी छु त्यसैले प्रश्न गर्ने आँट र हिम्मत गरेको छु किनकि तपाईं त्यो नेता हो जस्ले सपना देखाउनेमात्रै हैन हरेक प्रहारहरूको सामना गर्दै सपना साकार गर्ने इच्छाशक्ति राख्नुहुन्छ । म प्रधानमन्त्रीको सच्चा समर्थक हुँ । प्रधानमन्त्रीमा देखिएको नेतृत्वको हिम्मत, निर्णयको साहस र मुलुकको हितका लागि खरो उभिने प्रवृत्तिले मलाई आशावादी बनाएको छ र मजस्ता लाखौं युवाको तपाईंप्रति भरोसा पनि छ ।

तपाईंको कार्यशैलीमा रहेको स्पष्ट दृष्टिकोण र राष्ट्रप्रेम अहिलेको समयको सबैभन्दा ठूलो आवश्यकता हो चाहे त्यो भारतले लगाएको नाकाबन्दीको समयमा होस् वा नेपाली भूमि लिम्पियाधुरा लिपुलेकको विषयमा होस, जनता साक्षत छन् तपाईंको संकल्पप्रति र आशावादी पनि । तपाईंले सरकारको नेतृत्व गरिसकेपछि तपाईंले गरेको सकारात्मक पहल र प्राप्त उपलब्धिहरूलाई मैले नजिकबाट अध्ययन गरिरहेको छु, प्रधानमन्त्रीज्यू तपाईं मुलुकको उत्पादन क्षमता बढाउने, स्वरोजगार र उद्यमशीलता प्रवद्र्धन गर्ने र आत्मनिर्भर नेपालको परिकल्पनालाई मूर्तरूप दिन निरन्तर क्रियाशील हुनुहुन्छ र सुखी नेपाली समृद्ध नेपाल बनाउने सपना बोकेर दृढ इच्छाशक्ति लिएर अगाडि बढ्नु भएको छ । तर अब समय आइसकेको छ प्रधानमन्त्रीज्यू देशको माटो मरुभूम हुने गरी पलायन भइरहेको सपनाहरूको संरक्षण गर्न अझै गहिरो र दूरगामी हस्तक्षेप गर्ने ।

लाखौं नेपाली युवाहरू वैदेशिक भूमिमा श्रम बेचिरहेका छन् । तिनको श्रमबाट मुलुकले रेमिट्यान्स पाउँछ, तर त्योभन्दा ठूलो कुरा हामीले आफ्नो भविष्य गुमाइरहेका छौं । स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सूचना प्रविधिजस्ता क्षेत्रमा युवाशक्तिको प्रयोग गर्न नसक्नु हाम्रो नीति निर्माताको लाचारी हो कि विफलता ? के हामी यसरी सफल बन्न सकौंला र ?

प्रधानमन्त्रीज्यू, तपाईंसँग नेपाली जनताको अपार विश्वास छ । अब त्यो विश्वासलाई सकारात्मक प्रतिफलसहितको रूपान्तरण गर्ने बेला यही हो । देशभित्रै रोजगारी सिर्जना गरेर युवालाई सम्मानसाथ जिउने अवसर दिने र समृद्ध नेपाल निर्माण गर्ने ।

नेपाल सम्भावनाले भरिएको देश हो । जलस्रोतको धनी देश चाहे जलबाट होस् वा हावाबाट बिजुली उत्पादन गर्न सक्ने सामथ्र्य हामीसँग छ, जैविक कृषि गर्न सक्ने, हिमालदेखि तराईसम्म पर्यटनको अपार सम्भावना राख्ने मुलुकमा अवसर खोज्न विदेश जानुपर्ने अवस्थाले प्रश्न उठाउँछ कि हामीले योजना बनाउन नसक्ने हो कि कार्यान्वयन गर्न नसक्ने ?

प्रधानमन्त्रीज्यू, तपाईंसँग योजना छ, लक्ष्य छ, र मुलुक बदल्ने सोच पनि छ तर अब आवश्यक छ त्यसलाई जनताले अनुभूति गर्ने गरी व्यवहारमा ल्याउने । तपाईंको नेतृत्वमा स्वरोजगार, लगानीमैत्री नीति, कृषि आधुनिकीकरण, सीप र उद्यम विकासका कार्यक्रमहरू अझै मजबुत र स्थानीय तहसम्म कार्यान्वयन हुनुपर्छ ।

धेरै ढिला गर्ने समय छैन अब विदेश जाने सोच बनाइसकेका युवाहरूलाई देशमै अवसर देखाउने, सीपमूलक तालिम र लगानी सुरक्षाको ग्यारेन्टी दिने, स्थानीय उत्पादनमा मूल्य अभिवृद्धि गरी रोजगार सिर्जना गर्ने, साना तथा मझौला उद्यमहरूलाई कर छुट, सहुलियत ऋण र बजार प्रवद्र्धनको सुनिश्चितता दिने, अनुदान कार्यक्रम अन्त्य गरी सहकारी बैंकमार्फत सरकार ग्यारेन्टी बसी सहुलियत कर्जा उपलब्ध गराउने व्यावसायिक बनाउने उत्पादन भएका वस्तु बजारीकरणको सरकारले जिम्मेवारी लिने, नेपालको भौगोलिकताको मध्यनजर गरी ठूला व्यवसायीहरूलाई एक स्थानीय तह एक कलकारखाना खोल्न प्रोत्साहन गर्ने र युवाहरूलाई रोजगारी दिने आदि काम गर्न सके मेरा मनमा उब्जिएका प्रश्नहरूले सकारात्मक प्रतिफलसहितको उत्तर पाउथ्यो कि प्रधानमन्त्रीज्यू ।

प्रधानमन्त्रीज्यू, तपाईंसँग जनताले आशा गरेका छन् । तपाईंमा देश बदल्ने साहस देखेका छन् । तपाईंको गम्भीर हस्तक्षेपले हजारौं नेपाली परिवारलाई एउटै छानामुनि राख्न सक्छ । तपाईंको दृढ निर्णयले बाँझो जमिन खेतबारीमा गहुँ, धान, मकै उम्रन सक्छ, पसिना बगाएर देशभित्रै सम्पन्नता अनि समृद्धि ल्याउन सक्छ । बिदेसिँदै गरेका नेपाली सपनाहरूलाई सरकारले चाहँदा रोक्न सकिन्छ यदि नेतृत्व दृढ भएर निर्णय लियो भने र म विश्वास गर्छु यो दृढता प्रधानमन्त्रीमा छ हो तपाईंमा छ । अब ढिलो नगरौं, देश र जनताको भविष्यलाई जोगाउने ऐतिहासिक हस्तक्षेप तपाईंको नेतृत्वमै सम्भव छ भन्ने मलाई दृढ भरोसा छ । र अन्त्य फेरि पनि प्रश्न अब होइन भने कहिले– प्रधानमन्त्रीज्यू ?

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024