पोखरा महानगर: साढे २ करोडको राहत कोष स्थापना, विपन्नलाई २ हजारको राहत दिने

30 March, 2020

युवराज श्रेष्ठ

पोखरा महानगरपालिकाले अतिविपन्न र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्नेहरूलाई सहयोग गर्न करिब साढे २ करोड रूपैयाँको राहत कोष स्थापना गरेको छ। 

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले सोमबार विज्ञप्ति प्रकाशित गरी २ करोड ४८ लाख ५० हजार रूपैयाँको राहत कोष स्थापना गरिएको जानकारी दिए। यसमा महानगरपालिकाले २ करोड राखेको छ भने कर्मचारीबाट ४८ लाख ५० हजार रुपैयाँ संकलन गरिएको छ। 

महानगरले ३३ वटै वडा कार्यालयमार्फत् असहाय, अतिविपिन्न र दैनिक ज्यालादारी मजदुरहरूको नामावली संकलन गर्ने तयारी सुरू गरेको छ। सम्बन्धित व्यक्तिको परिचय खुल्ने कागजपत्रका आधारमा राहत वितरण गरिने प्रमुख जिसीले जानकारी दिए। प्रत्येक परिवारलाई २ हजार रुपैयाँ बराबर खाद्यान्न सामग्री उपलब्ध गराइने उनले बताए। 

एकद्वार प्रणालीमार्फत् राहत वितरण गरिने भएकाले पोखरा महानगरले राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गरी सहयोग गर्न आमजनता, विभिन्न संघ-संस्था, बैंक, वित्तीय संस्था, सहकारी, उद्यमी, व्यापारी लगायतसँग आह्वान गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024