पैसा चाहिएन घर जान पाऊँ

21 June, 2016

काबुलमा नेपाली सुरक्षागार्डको क्रन्दन

 

काबुलको सडकमा एकाबिहानै १२ जना दाजुभाइको ज्यान जाने गरी आत्मघाती बम आक्रमण भएपछि त्यहाँ कार्यरत नेपालीको भोकनिद्रा हराएको छ।

 

एक बेलायती कम्पनीमा सुरक्षागार्डका रूपमा कार्यरत नेपालीलाई कम्पनीबाट स्थानीय समयअनुसार बिहान ५:४० बजे मिनीबसमा राखेर क्यानाडेली दूतावासतर्फ लैजाने क्रममा तालिवानका कार्यकर्ताले आक्रमण गर्दा उनीहरू मारिएका थिए।

 

एक सय ७३ जना नेपाली कार्यरत उक्त बेलायती कम्पनीबाट दूतावाससम्म पुग्ने जम्मा दूरी १० मिनेटको मात्र थियो। अमेरिकी, बेलायती र क्यानाडेली दूतावाससमेत रहेको सडकमा आफ्ना १२ जना साथी मारिएपछि त्यहाँ रहेका अन्य नेपाली भगवान् पुकार्दै बसिरहेका छन्।

 

‘सँगै काम गर्ने साथी बिते भन्ने सुन्यौं। कम्पनीले केही नबोल्नु भनेको छ’, १० वर्षअघि अफगानिस्तान पुगेका गोरखाका एक युवकले अन्नपूर्णसँग भने, ‘नेपालको दु:खलाई सुखमा परिणत गर्न विदेश आयौं तर जिउँदै घर फर्किएलाजस्तो लाग्न छाड्यो।’नेपाली सुरक्षागार्डहरूलाई क्यानाडेली दूतावासमा रात्री ड्युटीमा रहेका नेपालीलाई पालो दिन दुईवटा मिनीबसमा चढाएर बिहानै लगिँदै थियो।

 

‘बम आक्रमण हुने डरले नै दुईटा गाडी करिब १० मिटरको दूरीमा गुडिरहेका रहेछन्। हामी चढ्दा पनि गाडीले केही दूरी राखेर गुड्छन्’, सुरक्षाका कारण नाम नबताउने सर्तमा ती युवकले टेलिफोनमा भने, ‘पहिलो गाडी दूतावास परिसरमा पस्नै लागेको अवस्थामा त्योभन्दा पछाडि जलालाबादको सडकमा गुडिरहेको दोस्रो गाडीमा तालिवानले आत्मघाती बम हान्न भ्याएछन्।’

 

करिब साढे तीन लाख रुपैयाँ तिरेर अफगानिस्तानमा सुरक्षागार्डको काम गर्ने नेपालीको मासिक तलब ९ सय ५० डलरदेखि माथि छ। नेपालबाट सैनिक र प्रहरीका जवानहरू पनि जागिर छाडेर त्यहाँ सुरक्षागार्डको काम गर्न पुग्ने गरेका छन्।

 

त्यहाँ पुग्ने नेपालीहरूको जीवन कैदीहरूभन्दा फरक छैन। ‘दस वर्षदेखि म यहाँ कार्यरत छु। कम्पनीको होस्टेलबाट सुरक्षा गर्ने स्थानसम्म जाँदा बाहिरी संसार हेर्ने हो नत्र कैदीजस्तै घरभित्र बस्नुपर्छ’, उनले भने, ‘सुरक्षामा चनाखो हुँदाहुँदै तालिवानले आत्मघाती आक्रमण गर्न भ्याइहाले। साथीहरू मारिएको सुनेदेखि यहाँ बस्न मन छैन।’

 

कमाइ एक लाखभन्दा माथि हुने भएकाले लोभिँदै अफगानिस्तान पुगेका नेपाली यसअघि भएका घटनामा यति ठूलो संख्यामा दाजुभाइ नपरेकाले आत्तिएका थिएनन्।सामान्य अवस्थामा कम्पनीले २८ दिनअघि जानकारी गराएपछि मात्रै छुट्टी दिने गरेको छ। तर सोमबारको घटनापछि यहाँका नेपाली पैसाको लोभ छाडेर घर जान आतुर छन्।

 

गोरखाका यी नाम खुलाउन नचाहने युवकसहित १२ जनाले काममै नगएर नेपाल फर्काइदिन कम्पनीलाई आग्रह गरिरहेका छन्। ‘हामीलाई अब पैसा चाहिएन, बाँचेर नेपाल पुग्न पाए भयो’, उनले भने, ‘सँगै काम गरेका साथीहरू लास भएर घर फर्किंदा हाम्रो पनि त्यही हालत हुने पिरलो छ। कम्पनीले घर फर्काइदिए पुनर्जीवन पाएसरह हुने थियो।’

 

दस वर्षअघि अफगानिस्तान छिरेका यी युवकले पाँच वर्षअघि यो बेलायती कम्पनीमा काम थालेका हुन्। कम्पनीबाट ड्युटी गर्ने स्थानसम्म जाँदा उनीहरू सधैं नि:शस्त्र हुन्थे। तर तालिवानले उनीहरू सुरक्षागार्ड रहेको ठम्याइसकेछन्।

 

‘हामी ड्युटीमा हुँदा मात्रै बन्दुक समाउँथ्यौं। यहाँ आउनेबित्तिकै हाम्रा पासपोर्ट र अन्य कागजात सबै कम्पनीले खोसेर राखिदिन्छ’, उनले सुनाए, ‘यस्तो अवस्थामा बाहिर जाने कुरै भएन। तर कम्पनीबाट ड्युटी स्थानसम्म आउँदाजाँदा हाम्रा साथी र हामीमाथि तालिवानका आँखा परिसकेका रहेछन्। सँगै बसेर हाँसखेल गर्ने दाजुभाइ गुमाउँदा यहाँ सबै नेपाली शोकमा छौं।’

 

अफगानिस्तानमा कमाएको पैसामध्ये केही पकेट खर्च दिएर कम्पनीले नेपालमा खोलिएको खातामै जम्मा गरिदिने रहेछ। ‘आर्मी कम्पनीको यो ‘जेल जीवन’ बाट अब भाग्न चाहन्छौं। अब एउटै कामना छ-बाँचेर नेपाल पुगौं’, ती युवकको कामना छ, ‘देशमा दु:ख पाएर विदेश आइयो। अब बाँचेर घर फर्किन सके उतै ढुक्कले बस्थ्यौं। अब पैसा चाहिएन, सकुशल घर पठाइदेऊ।’

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026