पाकिस्तान हुँदै खाडी

20 May, 2016

भवानी भट्ट

  

दलालहरूले मानव बेचबिखन तथा ओसारपसारका नयाँ तरिका र गन्तव्य प्रयोग गर्न थालेका छन् । महिलालाई आकर्षक रोजगारीको प्रलोभन देखाएर पश्चिमी नाका गड्डाचौकी हुँदै अवैध तरिकाले दिल्लीको बाटो खाडी पठाउने दलालहरूले अब पाकिस्तानी बाटो रोज्न थालेका हुन् ।

 

यसै साता माइती नेपाल कञ्चनपुरले दिल्ली हुँदै पाकिस्तान लगिँदै गरेकी एक १६ वर्षीया किशोरीको गड्डाचौकी नाकाबाट उद्धार गरेपछि उक्त रहस्य बाहिर आएको हो । कास्की भदौरे गाविसकी ती युवतीलाई फर्जी कागजात बनाएर दिल्ली हुँदै पाकिस्तान पुर्‍याइदिने भन्दै सीमा पार गराइरहेको अवस्थामा उद्धार गरिएको थियो । उनलाई भारत लग्न खोज्ने धादिङका भरत सुनारलाई प्रहरीको जिम्मा लगाइएको माइती नेपालले जनाएको छ ।

 

छोरीलाई पाकिस्तान पठाउन मञ्जुरी रहेको फर्जी पत्र देखाएर भरतले युवतीलाई नाका पार गराउन खोजेका थिए । उक्त पत्रमा किशोरीका बुबाको औंठा छाप छ । तर, किशोरीका बुबाले कुनै पनि मञ्जुरीपत्रमा आफूले औंठा छाप नलगाएको बताए । ‘मैले कुनै मञ्जुरीपत्र दिएको छैन,’ उद्धारपछि छोरी लैजान आएका उनले भने, ‘लग्ने मान्छेलाई पनि मैले कहिल्यै देखेको र भेटेको छैन ।’

पाकिस्तान हुँदै पोर्चुगल पठाइदिने प्रलोभन देखाएपछि युवकसँगै जान लागेको किशोरीले बताइन् । ‘पाकिस्तानमा ब्युटीपार्लरसँगै अंग्रेजी भाषा सिकेपछि पोर्चुगल पठाइदिने भनेको छ,’ उनले भनिन्, ‘नाबालक परिचयपत्रका आधारमा पासपोर्ट बनाएर दिल्लीबाटै भिसा लगाइदिने भनेको थियो ।’

 

गत शुक्रबार मोबाइलको ब्याट्री किन्ने बहानामा छोरी घरबाट हिँडेको उनका बुबाले बताए । ‘एक/दुई दिनसम्म पनि नआएपछि खोजतलास गरिरहेको थियौं,’ उनले भने, ‘यहाँबाट छोरी भेटिएको खबर गएपछि हतारिँदै आए ।’ अहिले किशोरी अभिभावककै साथमा छिन् । माइती नेपालकी कञ्चनपुर संयोजक महेश्वरी भट्टका अनुसार पाकिस्तानी बाटो भएर खाडी जान लागेको यो पहिलो घटना हो । ‘यसले मानव बेचबिखन तथा ओसारपसारका लागि दलालहरूले नयाँ रुट र तरिका अपनाएको रहस्य बाहिर आएको छ,’ उनले भनिन् ।

 

२० नेपालीको उद्धार

 

क्वालालम्पुर– मलेसियाली टेलिफोन सेवा प्रदायक कम्पनी डीजी टेली कम्युनिकेसनले जेल सजाय पूरा गरी हवाई टिकट अभावमा घर फिर्ती केन्द्रमा रहेका २० जना नेपालीको उद्धार गरेको छ । नेपाली दूतावास क्वालालम्पुरको पहलमा उक्त कम्पनीले हवाई टिकटको प्रबन्ध मिलाएको हो ।

 

दूतावासको विज्ञप्तिमा यहाँको नेगरी सेम्बिलानस्थित अध्यागमनको ‘लेङगेङ डिपो’ मा रहेका २० नेपालीको उद्धार गरिएको जनाइएको छ । दूतावासले करिब १ वर्षअघि जेल सजाय पूरा गरी केन्द्रमा रहेका नेपालीको फिर्ती अभियान चलाउँदै आएको छ । अभियानस्वरूप हालसम्म विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोगमा ५ सय २१ नेपालीको उद्धार गरिसकिएको उल्लेख छ । हालसम्म उद्धार गरिएकामध्ये आधाजसोलाई नेपाल वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सहयोगमा फर्काइएको हो । फिर्ती केन्द्रमा अलपत्र रहेका नेपालीलाई उद्धार गर्न सहयोग गरेकामा दूतावासले मंगलबारको विज्ञप्तिमा डीजी टेलिकम्युनिकेसनलाई धन्यवाद दिएको छ ।

 

• मानव बेचबिखनको नयाँ बाटो

• पाकिस्तान लगिँदै गरेकी किशोरीको उद्धार

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024