-रोहित राई
धरान- ‘के–के सपना बुनेर गएकी थिएँ तर कहाँ फसेँ कहाँ! बचेर घर फर्किन्छु भन्ने त आसै थिएन,’ यति भनिनसक्दै उनी भक्कानिइन्, ‘नयाँ जीवन पाउँछु भनेर एक मनले पनि सोचेकी थिइनँ।’ उनको कहानी सुनेर नजिकै बसेकी आमा ताराको आँखामा पनि आँसु छचल्कियो। उनले छोरीको काँधमा टाउको राखेर मनको भारी बिसाइन्।
हसनपुर–४, भोजपुरकी १९ वर्षीया मनीषा राई तिनै युवती हुन् जसलाई दुई साताअघिसम्म पनि सकुशल स्वदेश फर्कने, आमबुबासँग भेट हुने कल्पनासम्म थिएन। गत असोजमा मानव तस्करी गर्ने दलालको फन्दामा परेर अवैध तरिकाले कुर्दिस्तान हुँदै इराक पुगेकी थिइन् उनी। तर, उनका आमाबुबा सञ्चारमाध्यमको सम्पर्कमा आएर सामाचार प्रकाशित भएपछि मनीषालाई एजेन्टले नै सकुशल नेपाल झिकाइदिए। मंगलबार मात्रै काठमाडौं झरेकी उनी बिहीबार धरान आइपुगिन्।
‘म त फसिहालेँ तर कोही पनि नेपाली चेली दिल्ली हुँदै नजाऊन्। विदेश जाने नै भए पनि सरकारले स्वीकृति दिएको देशमा अनुमति लिएर नै जानुस्, नत्र मजस्तै दुःख पाउनुहुन्छ,’ विदेश गएर मनग्ये कमाउने सपना देखेका युवतीलाई उनले सुझाव दिइन्।
मनीषाका अनुसार उनी दुबई जाने तर्खरमा थिइन् तर काठमाडौंको मिराकल म्यानपावर कम्पनीका एजेन्ट बमबहादुर गुरुङले सित्तैमा कुर्दिस्तान पठाइदिने प्रस्ताव गरे। सुरुमा इन्कार गरे पनि सबै खर्च बेहोरिदिने, कमाइ राम्रो हुनेजस्ता प्रलोभन देखाएपछि उनी राजी भएकी थिइन्। सुरुमा राम्रो कम्पनीमा काम दिलाउने भने पनि कुर्दिस्तान पुगेपछि भने घरेलु कामदारका रूपमा आफूलाई बिक्री गरिएको उनले सुनाइन्। ‘बिहान ७ बजेदेखि राति २–३ बजेसम्म काम लगाउने। खानाको टाइमै थिएन, जति बेला मन लाग्यो त्यति बेला दिने। काम गर्दिनँ भन्दा बोसले कुट्थ्यो,’ उनले पीडा सुनाइन्।
घरमालिकबाट यातना दिँदै शारीरिक शोषणको प्रयास हुन थालेपछि घर फेरिन्। त्यहाँको कम्पनीले आफूलाई ५ हजार डलरमा घरमालिकलाई दुई वर्षका लागि बिक्री गरेकाले घर फेरिदिन माग गर्दा कुटपिट गर्ने गरेको उनले बताइन्। मनीषाका अनुसार एजेन्टले भनेको कम्पनी कुनै प्रोडक्सनको नभई युवती सप्लाई (बिक्री) गर्ने हो। त्यहाँ प्रेमिका तामाङ नाम गरेकी नेपाली युवतीले एयरपोर्टमा रिसिभ गर्ने र उनैले घरका काम खोजिदिने एजेन्टका रूपमा काम गर्छिन्। कम्पनीले घरमा ४ देखि ५ हजार डलरमा दुईवर्षे सम्झौतामा युवती बिक्री गर्छ। ‘हामीजस्ता युवती भेला पार्ने र घरमा बिक्री गर्ने रहेछन्, घर फेर्दा कम्पनीले पैसा फिर्ता गर्नुपर्ने भएकाले अर्को घरमा जान्छु भन्दा मान्दै मान्दैनन्,’ उनले भनिन्।
मनीषाका अनुसार कठिन काम र यातनाकै कारण उनी सुरुको घरमा ३ दिन, दोस्रो घरमा ३ दिन र तेस्रो घरमा १० दिन मात्र टिक्न सकिन्। चौथो घरमा २ महिना ६ दिन काम गरेपछि ६ सय डलर ज्याला लिएर घुम्न निस्किएको बहानामा एक सरो कपडा र ब्याग बोकेर भाग्न सफल भइन्। भागेपछि उनी झन् असुरक्षित बनिन्। सिन्धुपाल्चोककी एक युवतीको कोठामा एक महिना लुकेर बसेका बेला कम्पनीले कसैले फेला पारे ५ सय डलर पुरस्कार दिने भनेपछि नेपालीले नै उनको खोजी गरेका थिए। नेपालको एजेन्टले आमाबुबालाई ५ लाख दिए मात्रै फर्काइदिने भनेको थियो।
सामाजिक सञ्जाल फेसबुकको परिवर्तनशील सोच, माइन्ड एप्स नेपाल भन्ने ग्रुपका राम वियोगीले उनको पीडा बुझेर सहयोग गर्न आग्रह गरेका थिए। त्यसपछि मात्रै भोजपुरमा रहेका आमाबुबाले थाहा पाए। माघ चौथो साता उनीहरू उद्धारनिम्ति पहल गरिदिन भन्दै धरान आइपुगे। सामुदायिक प्रहरीसेवा केन्द्र, पौरखी नेपालको पहल र समाचार प्रकाशित भएपछि एजेन्ट गुरुङ मनीषालाई नेपाल झिकाउन बाध्य भएका थिए। ‘समाचार छापिएपछि किन पत्रिकामा गएको भन्दै धम्की पनि आयो, मनीषा फर्काइदेऊ केही पनि हुँदैन भन्यौं,’ सेवाकेन्द्रकी सदस्य विद्या देवानले भनिन्।
मनीषाकी आमा ताराले आफ्नो छोरी आए पनि अरू थुप्रै नेपाली युवती अलपत्र भएकाले उद्धार गरेर फर्काइदिन सरकारसँग आग्रह गरिन्। साथै, गैरकानुनी रूपमा युवती लैजाने एजेन्टलाई कानुनी कारबाही गर्न पनि माग गरिन्। ‘मेरी त छोरी आई, खुसी छु। अब अरू कसैले यस्तो दुर्दशा भोग्न नपरोस्,’ उनले भनिन्।
एजेन्टका छोरा भाइ बने
मनीषाका अनुसार उनी काठमाडौंबाट एजेन्ट बमबहादुर गुरुङका छोरा मिलनसँग दिल्ली गएकी थिइन्। मिलन उनको भाइ बनेका थिए। मिलनले आफ्नो थर राई उल्लेख गरेको परिचयपत्र बनाएका थिए। काठमाडौंदेखि दिल्लीसम्मको यात्रा गाडीबाट भएको थियो। दिल्लीबाट दुबईसम्म उनी भिजिट भिसामा पुगिन्। एजेन्टले नै सबै सेटिङ मिलाएको थियो। दिल्ली एयरपोर्टमा उनलाई दुबईमा आफन्तलाई भेट्न जान लागेको र एक महिनामा फर्किने भनेर जबाफ दिन सिकाएका थिए। ‘दिल्लीबाट दुबई र दुबईबाट कुर्दिस्तान लग्यो,’ मनिषाले भनिन्।