पाँच नेपाली महिला अलपत्र

27 Sep, 2014

बायो सर्भिस क्लिनर कम्पनीमा क्लिनरको काम गर्दै आएका ५ नेपाली महिला ६ महिनादेखि तलब नपाएपछि घर फिर्न नपाएको भन्दै नेपाली दूतावास पुगेका छन्। उनीहरूले तलबका लागि श्रम विभागमा समेत उजुरी हालेका छन्। कमला राई, कमला ढंगोल, निमाकुमारी पन्थी, सलिन मगर जमुना गोले दूतावास पुगेका हुन्। तीमध्ये ३ जना डीपी डायनामिक (६९३) म्यानपावरबाट कतार आएका थिए।

उनीहरूले अगस्ट ८ मा लेबरकोर्टमा मुद्दा हालेका थिए। लेबरकोर्टले यो मुद्दालाई उच्च अदालतमा जानका लागि सिफारिस गरेको छ। ‘पठाइदिन्छु भन्दा भन्दै महिनौं बिताइसकेको छ,’ कमला राईले भनिन्, ‘हामीलाई दैनिक खानै समस्या परिसकेको छ।’ ५ जनामध्ये ढंगोल, पन्थी र मगरले ६ महिनाको तलब नपाएका हुन्। उनीहरू सबैको कतारी परिचयपत्र (आइडी) को म्याद सकिसकेको छ। दूतावासका श्रम सहचारी लीलानाथ दाहालले उनीहरूको समस्या समाधान गरी नेपाल पठाउन प्रयास भइरहेको बताए।

‘पहिलादेखि नै समस्या भइरहे पनि जुन २६ बाट भने निकै कठिनाइ भोग्दै आएका थियौं,’ राईले भनिन्, ‘एक साताअघि घरबेटी आएर कोठा छोड्न दबाब दियो।’ उनीहरूलाई कम्पनीले १२ घन्टा काम गर्दा पनि एक हजार रियालमात्रै दिँदै आएको छ। पीडितका अनुसार कम्पनी बन्द भइसकेको छ। कम्पनी कालोसूचीमा परेको हुँदा पठाउन नसकिएको भन्दै आएको दाहालले बताए। उनीहरूले काम छाडेर बसेका छन्। उनीहरू समस्या समाधानका लागि कतार राष्ट्रिय मानव अधिकार समितिमा पुगेका थिए।

कम्पनीले आफू आर्थिक संकटमा परेकाले तलब दिन नसकिने बताएको उनीहरूले जनाए। म्यानपावरले आफूबाट गएको तीन जना महिलालाई खानाका लागि केही सहयोग गरेको बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024