पति साउदी जेलमा यता परिवारको बिचल्ली

3 April, 2018

तोयानाथ भट्टराई 

चोरी आरोपमा २३ महिनादेखि साउदी जेलमा रहेका माई नगरपालिका दानाबारीका प्रेमबहादुर राईका परिवारजन कष्टकर जीवन बिताइरहेका छन्। पुरानो हुँदै गएको घर र सात दशक नाघेका सासूससुरा, दुई छोराछोरी सम्हाल्दै बसेकी सरिता राई पति सम्झिएर भावुक बन्छिन्। ‘कमाउने मान्छे नै जेलमा परेपछि अहिले घर चलाउन समस्या छ’, उनले भनिन्।

प्रेमबहादुरका पिता ७२ वर्षीय लोकबहादुरले आफ्नो छोराको रिहाइका लागि पहल गरिदिन सबैलाई आग्रह गरेका छन्। घरमा नयाँ व्यक्ति आउँदा पनि छोराको सुखद खबर आयो कि भन्ने उनलाई लाग्दो रहेछ।

दुई वर्षकी नातिनी काखमा खेलाउँदै भने उनले भने, ‘यिनीहरूको भविष्य के हुन्छ भन्ने चिन्ताले पिरोलेको छ।’ सन् २०१२ साउदी पुगेका प्रेम बिदामा घर आएर पुनः सन् २०१६ मा साउदी गएका थिए। उनले चलाएको कम्पनीको गाडी बाटोमै हराएको थियो। त्यसपछि उनलाई पक्राउ गरी दुई महिना जेल र ५० कोर्रा सजाय भएको जनाइएको छ। सजाय भुक्तान गरी घर फर्कने क्रममा पुनः पक्राउ गरी कम्पनीले ३ लाख १० हजार रियल (नेपाली ९५ लाख) जरिवाना लगाएको थियो।

 

फैसलाबमोजिमको रकम नबुझाएसम्म कारागारमै बस्नुपर्ने भएपछि उनको जीवनरक्षाका लागि अहिले अभियान सञ्चालन भइरहेको छ। हालसम्म विभिन्न समितिमार्फत ४० लाख रुपैयाँ संकलन भइसकेको सरिताले बताइन्।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024