नेपाल कामदार थप्न इजरायल तयार

26 May, 2016

सन्तोष घिमिरे

 

काठमाडौं: इजरायल नेपालबाट थप कामदार लैजान सकारात्मक देखिएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग बुधबार जेरुसेलममा भएको भेटमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले नेपाली कामदार संख्या बढाउने विषयमा सकारात्मक जबाफ दिएका हुन् ।

 

‘नेपालबाट थप कामदार ल्याउने विषयमा प्रधानमन्त्रीले सकारात्मक जबाफ दिनुभएको छ’, इजरायलका लागि नेपाली राजदूत प्रह्लादकुमार प्रसाईंले अन्नपूर्णसँग टेलिफोनमा भने । हाल इजरायलमा केयरगिभर र कृषि कामदार गरी करिब चार हजार नेपाली कार्यरत छन् ।

 

नेपाल र इजरायलबीच गत वर्ष साउनमा एक समझदारी भएसँगै नेपालबाट ‘पाइलट प्रोजेक्ट’ अन्तर्गत केयरगिभर कामदार लैजान बाटो खुलेको थियो । इजरायलले ‘गभर्नमेन्ट टु गभर्नमेन्ट’ समझदारी पत्रअनुसार पाइलट कार्यक्रम सुरु गरी चरणबद्ध रूपमा तीन सय कामदार लिने सहमति दुई देशबीच भएको थियो । ती कामदारले इजरायलमा पाँच वर्ष काम गर्ने अवसर पाउनेछन् ।

 

उक्त कार्यक्रमअनुसार पहिलो चरणमा ६० जना छनोट भएकोमा १४ जना इजरायल पुगिसकेको र अन्य प्रक्रियामा रहेको राजदूत प्रसाईंले बताए । गभर्नमेन्ट टु गभर्नमेन्ट’ डिलअनुसार नेपाली कामदार लिने मुलुकमा इजरायल दोस्रो हो । दक्षिण कोरियाले पनि यसरी नै कामदार लिँदै आएको छ ।

 

भेटवार्तामा इजरायल र नेपालबीचको द्विपक्षीय सम्बन्धको समीक्षा गर्ने, त्यसलाई सुदृढ गर्दै दुवै देशको हितमा अघि बढाउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

उपप्रधानमन्त्री थापाले नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुवै देशले मजबुत सम्बन्ध राख्दै आएको चर्चा गर्दै इजरायलले नेपालको आर्थिक विकासमा वर्षौंदेखि पुर्‌याउँदै आएको सहयोगको प्रशंसा गरेका थिए । उनले भूकम्पपछिको उद्धार, राहत र पुनस्र्थापना प्रक्रियामा नेपाललाई इजरायली जनता र सरकारले गरेको सहयोगको स्मरण गरे ।

 

इजरायली प्रधानमन्त्रीले भूकम्प पछिको अवस्थाबारे चासो राख्दै भूकम्पपीडित तथा घाइतेको अवस्था र पुनर्निर्माणमा भइरहेका प्रगतिबारे चासो राखेको इजरायली विदेश मन्त्रालयले प्रेसविज्ञप्तिमा उल्लेख गरेको छ ।

 

प्रधानमन्त्री नेतन्याहुलाई नेपालको राजनीतिक परिस्थितिबारेसमेत मन्त्री थापाले जानकारी गराए । ‘गत वर्ष हामीले लोकतान्त्रिक र समावेशीमूलक संविधान जारी गरेसँगै नेपाल शान्ति, स्थिरता र आर्थिक समृद्धिको मार्गमा अघि बढेको छ’, मन्त्री थापाले भनेका थिए । उनले इजरायलबाट कृषि, शिक्षा, अनुसन्धान, तालिम र पुनर्निर्माणमा सहयोग चाहेको बताए । मन्त्री थापाले इजरायललाई कामदार संख्या बढाउन समेत आग्रह गरेका छन् ।

 

‘नेपालले चाहेका क्षेत्रमा हामी सहयोग गर्न तयार छौं’, नेतन्याहूले भनेका थिए । भेटवार्तामा नेपाल र इजरायलका विदेश सचिव तथा दुवै देशका राजदूत सहभागी थिए ।

 

नेपाल र इजरायलबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना

 

इजरायली प्रधानमन्त्री र मन्त्री थापाबीचको भेटअघि नेपालका परराष्ट्रसचिव र इजरायलका परराष्ट्रसचिवबीच द्विपक्षीय सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त संयन्त्रपछि दुवै देशका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूबीच द्विपक्षीय सम्बन्धका सबै पक्ष र अन्तर्राष्ट्रिय मामिलामा नेपाल र इजरायलका साझा चासोका विषयमा विचार आदानप्रदान गर्न बाटो खुलेको छ । नेपाल र मध्यपूर्वी मुलुक इजरायलबीच ५६ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । एसियाबाट इजरायललाई स्वतन्त्र मुलुकका रूपमा मान्यता दिने नेपाल नै पहिलो मुलुक हो ।

 

मन्त्री थापा उनको सम्मानमा इजरायली कृषिमन्त्री युरी यहुदा एरियलले आयोजना गरेको दिवाभोजमा सहभागी भए । सो अवसरमा इजरायलले नेपालको कृषि क्षेत्रमा गर्नसक्ने सहयोगबारे कुराकानी भएको थियो । मन्त्री थापा टर्कीमा जारी संयुक्त राष्ट्रसंघीय मानवीय शिखर सम्मेलनबाट इजरायल पुगेका हुन् । उनी बिहीबार टर्कीको इस्तानबुल फर्किने कार्यक्रम छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024