नेपाली विद्यार्थीहरू किन रोज्दैछन् न्युजिल्यान्ड?

27 February, 2025

निर्मला घिमिरे

उच्च शिक्षाका लागि नेपालबाट धेरै विद्यार्थी बिदेसिन्छन्। विश्वका विभिन्न मुलुकमा पुगिरहेका नेपाली विद्यार्थीहरूको रोजाइमा न्युजिल्यान्ड पनि परिरहेको छ।

शिक्षा मन्त्रालयका अनुसार पछिल्लो समय वार्षिक पाँच सयदेखि एक हजार हाराहारी विद्यार्थीले न्युजिल्यान्डमा अध्ययनको अनुमति लिइरहेका छन्।

गुणस्तरीय शैक्षिक पद्धति र पढ्दै कमाउँदै गर्ने वातावरण भएकाले न्युजिल्यान्ड धेरैको रोजाइमा परिरहेको एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसका अस्ट्रेलिया र न्युजिल्यान्ड शाखाका निर्देशक शान काफ्लेले बताए। एक्सपर्टले वैदेशिक अध्ययनका लागि विद्यार्थीहरूलाई शैक्षिक परामर्श तथा विभिन्न विषयमा सहजीकरण गर्दै आएको छ।

निर्देशक काफ्लेका अनुसार न्युजिल्यान्डमा विभिन्न प्राविधिक विषय पढ्न धेरै विद्यार्थी जान्छन्।

होटल व्यवस्थापन, कृषि तथा दुग्ध उत्पादन, निर्माण र इन्जिनियरिङ, स्वास्थ्य तथा सामाजिक, व्यवस्थापन तथा लेखा, सूचना-प्रविधि जस्ता विषयमा पढ्न जाने धेरै छन्।

‘छोटो अवधिको पढाइपछि वर्किङ (काम गर्ने) भिसा पाउने हुँदा पनि न्युजिल्यान्ड आकर्षण बनिरहेको हो,’ काफ्लेले भने, ‘३० देखि ३२ हप्ता पढिसकेपछि वर्किङ भिसा पाइन्छ। विद्यार्थीका लागि यस्तो सजिलो अन्त कहीँ छैन। यस कारण पनि धेरै विद्यार्थीले न्युजिल्यान्ड रोज्न थालेका हुन्।’

न्युजिल्यान्डमा पढाइ तथा बसाइका लागि अस्ट्रेलियामा जत्तिकै खर्च लाग्छ। वर्किङ भिसा पाइसकेपछि तीन वर्ष बसोबास तथा काम गर्न मिल्छ।

त्यसपछि पनि न्युजिल्यान्डमा कामलाई निरन्तरता दिन मन लागे ‘स्किल्ड माइग्रेन्ट क्याटगोरी रेजिडेन्स’ भिसाका लागि आवेदन दिन सकिन्छ। यसका लागि ‘जब अफर लेटर’ भने हुनुपर्ने उनले बताए।

जब अफर लेटर भएपछि कम्तीमा ६ अंक जुटाउनुपर्छ।

‘निर्दिष्ट पेसामा न्युजिल्यान्डमा रजिस्ट्रेसन भएकाले तीन अंक पाउँछन्। न्युजिल्यान्डमा दुई वर्ष दक्ष (स्किल्ड) रोजगारी अनुभव छ भने थप तीन अंक पाइन्छ,’ निर्देशक काफ्लेले भने, ‘तीन वर्षको रोजगारी अनुभव भएकाले चार अंक पाउँछन्।’

यसरी थप बसोबासका लागि भिसा पाइन्छ। त्यसपछि विभिन्न प्रक्रिया पूरा गरेर ग्रिनकार्डका लागि आवेदन दिन सकिन्छ।

यहाँ पेसाका आधारमा ग्रिनकार्डका लागि आवेदन दिन सकिन्छ। ‘टियर-१’ सूचीमा पर्ने पेसा छ भने सिधै ग्रिनकार्डका लागि आवेदन दिन सकिन्छ। टियर-१ सूचीमा इन्जिनियरिङ, निर्माण (प्रोजेक्ट मेनेजर, प्रोजेक्ट बिल्डर, सर्भेयर लगायत), स्वास्थ्य तथा सामाजिक सेवा (चिकित्सक र प्राविधिक), इलेक्ट्रिक कम्युनिकेसन (सफ्टवेयर इन्जिनियर, एनालाइस्ट प्रोग्रामर, आइसिटी मेनेजर) लगायत पेसा पर्छन्।

पेसा टियर-२ सूचीमा छ भने कम्तीमा दुई वर्ष काम गरेपछि ग्रिनकार्डका लागि आवेदन दिन सकिन्छ। यो सूचीमा निर्माण क्षेत्रका अपरेटर, स्काभेटर, लोडर, ग्राइन्डर अपरेटर, व्यापार क्षेत्रतर्फ डिजेल मोटर मेकानिक, इलेक्ट्रिसियन, प्लम्बर लगायत पेसा पर्छन्।

एक्सपर्टले त्यहाँको भिसा प्रक्रिया लगायत विषयमा सहजीकरण गर्दै आएको काफ्लेले बताए।

‘हामी न्युजिल्यान्ड जानेलाई नेपालबाटै सहजीकरण गर्छौं। न्युजिल्यान्डमा भएका नेपाली तथा अन्य आप्रवासीलाई पनि भिसा आवेदन प्रक्रिया लगायतमा सहजीकरण गर्छौं,’ उनले भने।

न्युजिल्यान्ड जाँदा सुरूमा विद्यार्थीहरूलाई ‘होम-सिक’ हुने (नियास्रो लाग्ने) र त्यहाँको सामाजिक, सांस्कृतिक गतिविधिमा घुलमिल हुन असहज हुने उनले बताए।

‘भविष्यको, कामको कुरालाई लिएर चिन्ता हुन्छ। कतिपयले आफ्नो पढाइ अनुसार काम नपाउने समस्या छ,’ निर्देशक काफ्लेले भने, ‘त्यसैले सुरूदेखि नै पार्ट-टाइम भए पनि आफ्नो पढाइ तथा रूचि अनुसारको काम थाल्नुपर्छ। अनि त्यसैलाई निरन्तरता दिन सकिन्छ।’

न्युजिल्यान्डमा पाँच हजारभन्दा धेरै नेपाली विद्यार्थी भएको अनुमान छ। कोरोना महामारीको समयमा न्युजिल्यान्डले दुई वर्षभन्दा बढी समय अन्तर्राष्ट्रिय सीमा बन्द गरेको थियो। विद्यार्थी, कामदार तथा पर्यटक लगायत भिसामा न्युजिल्यान्ड जान रोकेको थियो।

यो बन्देज खुला भएपछि भने ठूलो संख्यामा आप्रवासीहरू न्युजिल्यान्ड गइरहेका छन्।

न्युजिल्यान्डबारे सहजीकरण आवश्यक परे आफूलाई ०४१५७७५३४६, ०३९०८८६०६८ मा सम्पर्क गर्न सकिने शान काफ्लेले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024