नेपाली कामदार ६ महिनादेखि कोमामा

17 May, 2016

 

चौखावाङ–९, गलम्पाटी रुकुमबाट मीना खड्का आफ्ना पतिको पछिल्लो अवस्था बुझ्न हरेक साताजसो कतारमा कार्यरत रुकुमकै शनिकुमार वलीलाई फोन गरिराख्छिन् ।

 

उनका २५ वर्षीय पति ललित बूढामगरसँग गत मंसिर ८ देखि दोहोरो संवाद टुटेको छ । काम गरिरहेका बेला माथिबाट फलामको पाइप खसेर टाउकोमा लागेपछि ललित ढलेका थिए । त्यसपछि उनी कोमामा गए ।

 

‘उनको अवस्थामा हल्का सुधार आएको छ । बोल्न सक्दैनन् । शरीर चलाउन सक्दैनन् । हामी भेट्न जाँदा शरीरमा छुन्छौं । त्यतिखेर आँसु झार्छन्,’ वलीले फोनबाट मीनालाई सान्त्वना दिइरहेका हुन्छन्, ‘घाँटी र टाउकोमा गम्भीर चोट छ । घाँटीका नसामा असर परेकाले बोल्न सक्दैन ।’

 

अस्पतालले बेड नम्बर १५२ मा रहेका बूढामगरको हेरचाह गर्न एक जना नर्स खटाएको छ । ‘उपचारमा कमी छैन । डाक्टरले सकेसम्म चिनजानका साथीहरू आएर भेटिदिए बोल्न सक्छन् कि भनेर भनेका छन्,’ उनले शनिबार पछिल्लो खबर सुनाए, ‘आउने मे २८ मा अप्रेसन गर्ने तयारी गरेको छ ।’

 

३० महिनाअघि आल्मुनियम कम्पनीमा काम गर्न आएका थिए । घर फर्किने समय आएको बेला उनी दुर्घटनामा परेका थिए । उनको घरमा पत्नी, दुई वर्षीया छोरी, वृद्ध बाआमा रामबहादुर र चन्द्रकुमार बूढा छन् । ‘जंगलको बीचमा घर छ ।

 

चरा कराउँदा पनि आमालाई छोराको खबर आएजस्तो लाग्छ,’ पीडित परिवारलाई सहयोग गरिरहेका रुकुमका सञ्चारकर्मी नरेन्द्र केसीले भने, ‘बुहारीको मोबाइलमा कसैले फोन गरे पनि छोराकै केही खबर आयो कि भनेर सोध्छिन् ।’

 

आमालाई दिनमा भोक र रातमा निद्रा लाग्दैन । मीनाको मनमा ठूलो पीडा छ । ‘बिहे भएको सात महिनामै उहाँ कतार जानुभयो । त्यसपछि छोरी जन्मिइन् ।

 

छोरीले बाबुको मुख देख्न पाएकी छैन,’ मीनाले भनिन्, ‘सानै उमेरमा बिहे गरेर आइयो । श्रीमान्सँग गतिलो संगत नै गर्न पाएको छैन । अब के हुन्छ, भाग्यभरोसामा बाँचेकी छु ।’

 

झन्डै ६ लाख साँवा ऋण तिर्न विदेश गएका ललितले घाइते हुनुअघिसम्म झन्डै चार लाख ऋण तिरिसकेको थिए ।

पीडित परिवारलाई तत्काल सहयोग गर्नका लागि वलीको पहलमा आर्थिक सहयोग अभियान सुरु गरिएको छ । ‘केही भए पनि सहयोग पुग्छ कि भनेर ललित उद्धार अभियान सुरु गरेका छौं,’ नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष वलीले भने, ‘पाँच हजार रियाल जम्मा भइसकेको छ ।’

 

Other News

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024