इँटा उद्योगीले भारतीय मजदुरलाई भन्दा नेपालीलाई ५० प्रतिशत बढी पारिश्रमिक दिएर काममा लगाउन तयार रहेको बताएका छन् । कोसी इँटा उद्योग संघको बुधबार सुरु नवौँ साधारणसभामा सहभागी इँटा उद्योगीले नेपाली मजदुर नपाएकाले भारतीय कामदारलाई काम लगाउनुपरेको दुःखेसो पोखे । उनीहरूले बिहार र बंगालबाट फकाएर मजदुरहरू ल्याउनुपर्ने बाध्यता रहेको समेत बताए ।
प्रदेश १ का सांसद तथा इँटा उद्योगी लिलम बस्नेतले भारतीय कामदार ल्याएर काममा लगाउँदा कुनै नाफा नभए पनि बाध्यताले चुनौती मोलेर उनीहरूलाई काममा लगाउनुपरिरहेको जानकारी दिए । उनका अनुसार भारतीय कामदालाई ल्याउनेदेखि आवास र खाने व्यवस्था पनि गरिदिनुपर्छ । अर्कोतिर इँटा उद्योग अति नै संवेदनशील हुने भएकाले सुरक्षाको भय पनि हुन्छ ।
‘उद्योगबाट फोन आयो कि केही भइहाल्यो कि भनेर त्रसित हुनुपर्ने बाध्यता छ,’ उनले भने, ‘यसैले नेपाली कामदार पाए हामी ५० प्रतिशत बढी ज्याला दिएर काम गराउन राजी छौँ ।’इँटा उद्योगी तथा रंगेली नगरपालिका प्रमुख दिलीप बगडियाले पनि भारतीय मजदुरलाई काममा लगाउनु आफूहरूको रहर नभई बाध्यता भएको बताए । ‘नेपाली कामदार पाए इँटा उद्योगीले ५० प्रतिशत बढी ज्याला दिन तयार छन्,’ उनले भने । इँटा उद्योग संघका अनुसार कोसी अञ्चलमा ३३ इँटा उद्योगका ४४ वटा चिम्नी सञ्चालनमा छन् । एउटा उद्योगमा सिजनमा कम्तीमा ३ देखि ४ सय कामदार काम गर्छन् ।