नेपालीका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव

9 Jun, 2025

काठमाडौँ — अमेरिकाले नेपाली नागरिकका लागि दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा अब खारेज गर्ने भएको छ । त्यहाँको आन्तरिक सुरक्षा मन्त्रालय (डीएचएस) ले सोमबार संघीय रजिस्टरमा सूचना प्रकाशित गर्दै सन् २०२५ अगस्ट ५ बाट नेपालीका लागि टीपीएस कार्यक्रम औपचारिक रूपमा अन्त्य हुने घोषणा गरेको छ ।

मन्त्रालयकी सचिव क्रिस्टी नोएमले नेपालको वर्तमान अवस्था तथा अन्तरनिकाय परामर्शपछि नेपालले टीपीएसको मापदण्ड पूरा नगर्ने निष्कर्ष निकाल्दै उक्त निर्णय गर‍िएको जनाइएकी छन् । मन्त्रालयले हाल टीपीएसका आधारमा अमेरिका बसोबास गरिरहेका नेपालीहरूलाई अन्य वैध आवासीय आधार नभएमा स्वदेश फर्कने तयारी गर्न अनुरोध गरेको छ ।

अमेरिकाबाट घर फर्किन चाहनेहरूले ‘सीबीपी होम मोबाइल एप्लिकेसन’ प्रयोग गर्न सक्ने व्यवस्था गरिएको अमेरिकाको सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेजको वेबसाइटमा उल्लेख छ ।

सन् २०१५ को भूकम्पपछि नेपालीहरू प्रभावित भएको भन्दै अमेरिकी सरकारले टीपीएस कार्यक्रममार्फत हजारौँ नेपालीलाई अमेरिका बस्न र काम गर्न अनुमति दिएको थियो । यो कार्यक्रमले मानवीयताका आधारमा आफ्नो देश फर्कन सक्ने अवस्था नभएका योग्य देशका नागरिकलाई आवधिक र अस्थायी कानुनी मान्यता प्रदान गर्छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको अघिल्लै कार्यकालमा पटक-पटक यो कार्यक्रम खारेज गर्ने प्रयास भए पनि विभिन्न मुद्दा र बाइडेन सरकारको निर्णयका कारण खारेजी लागू हुने समय थपिँदै आएको थियो।

नेपालीलाई अब टीपीएस कार्यक्रम उपलब्ध नगराउने भन्ने घोषणा अमेरिकाे आप्रवासन र भिसा नीतिमा भइरहेको व्यापक परिवर्तन र कडाइकै सेरोफेरोमा आएको छ ।

अमेरिकी विदेश मन्त्रालयले नयाँ विद्यार्थी भिसाको अन्तर्वार्ता मिति तोक्ने प्रक्रियासमेत स्थगित गरेको छ भने विभिन्न १२ देशका नागरिकलाई अमेरिका प्रवेशमै प्रतिबन्ध लगाइसकेको छ । आप्रवासनसम्बन्धी मुद्दामा लचिलो रहने डेमोक्र्याट नीतिको विपरीत आप्रवासनमा कडाइ र गैरकानुनी आप्रवासनलाई नियमन गर्ने भनेरै पुनः निर्वाचित भएका ट्रम्प प्रशासनले सत्ता सम्हाल्नेबित्तिकै यस्ता कार्यक्रम निरन्तर थप्दै लगेको छन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024