नागरिकताभन्दा राहदानी दोब्बर

23 July, 2015

अगन्धर तिवारीगत आर्थिक वर्षमा पर्वतबाट नागरिकताको तुलनामा दोब्बर राहदानी वितरण भएको छ। प्रशासनबाट एक वर्षमा ४ हजार ३ सय ८७ जनाले नागरिकता लिएकोमा सोही समयमा ८ हजार ७ सय ४६ जनाले राहदानी लिएका छन्। जिल्ला प्रशासनले जिल्लाबाटै ४ हजार ७ सय ८५ र द्रुत सेवाबाट ३ हजार ९ सय ६१ वटा राहदानी सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चूडाराज भट्टराईले बताए। विदेश जानेहरूका लागि एमआरपी (मेसिन रिडेबल पासपोर्ट) अनिवार्य गरेपछि प्रशासनमा राहदानी बनाउनेहरूको वर्षैभरि भीड लागेको हो। गएको आर्थिक वर्षमा देखिएको राहदानी संख्याले जिल्लामा पछिल्लो समय युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै गएको प्रशासनले जनाएको छ। गएको वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि विदेशबाट घर फर्किनेहरूमध्ये अधिकांशले पुरानो राहदानी परिवर्तन गरेकाले पनि यो वर्ष राहदानी लिनेको संख्या दोब्बर देखिएको प्रशासनले जनाएको छ। ‘भूकम्पपछि विदेश गएकाहरू धेरै घर फर्किए,’ सहायक प्रजिअ भट्टराईले भने, ‘पुरानो राहदानी भएकाहरू सबैले नयाँ बनाउँदा धेरै देखिएको हो।’ कहिलेकाहीँ एकै दिन दुई सय बढी राहदानी वितरण गर्नुपरेको उनले बताए। प्रशासनले राहदानी वितरणबाट मात्रै गएको आर्थिक वर्षमा २ करोड ४५ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरेको छ। सामान्य राहदानीका लागि पाँच हजार र द्रुत सिफारिस गरेबापत दस हजार रुपैयाँ शुल्क लिने व्यवस्था छ। दुई वर्षअघि अन्तर्राष्ट्रिय मापदण्डबमोजिम एमआरपी वितरणको प्रक्रिया सुरु भएपछि जिल्लाबाट राहदानी लिन करिब एक महिना कुर्नुपर्छ। तत्काल लिन मन्त्रालयमै जानेहरूले दोब्बर दस्तुर तिर्नुपर्ने प्रावधान छ। १८ वर्ष पूरा भएका नागरिकहरूलाई हरेक सरकारी कामकाजमा नागरिकता अनिवार्य भएका कारण नागरिकता हरेक वर्ष निरन्तर चलिरहने हुँदा नागरिकताको संख्या कम भएको प्रशासनले जनाएको छ। प्रशासनबाट नागरिकताको प्रतिलिपि लिनेहरूको संख्या पनि गत आर्थिक वर्षमा उल्लेख्य रहेको प्रशासनले जनाएको छ। प्रशासनको राहदानी शाखाका अनुसार एक वर्षमा तीन हजार तीन जनाले नागरिकताको प्रतिलिपि लिएका छन्। Published on: 23 July 2015 | Kantipur  

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024