नसुध्रने म्यानपावर ‘डाइनोसर’ हुन्छन् : मन्त्री विष्ट

20 March, 2018

रीतु थेबे

म्यानपावर व्यवसायीले पालना गर्नुपर्ने कर्तव्य इमान्दारिताका साथ पूरा गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आग्रह गर्नुभएको छ । नियम कानुनको सीमामा रहेर मर्यादित रुपले म्यानपावर व्यवसाय सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो ।नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मंगलबार काठमाडौंमा आयोजना गरेको बधाई शुभकामना तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले नसुध्रने म्यानपावर व्यवसायी ‘डाइनोसर’ जस्तै हुने बताउनुभयो । ‘व्यवसायीको तर्फबाट कानून उल्लंघन गर्ने भूमिका देखा परेका छन् । यो अवस्था दोहोरिए जस्तोसुकै कारबाही गर्न पनि सरकारले खुट्टा कमाउँदैन’ मन्त्री विष्टले भन्नुभयो । म्यानपावर व्यवसाय किन सम्मानित हुन सकेन भन्ने कुरा व्यवसायीले नै मनन गर्नुपर्ने मन्त्री विष्टको भनाई छ । यो क्षेत्र सम्मानित बनाउनकै लागि सरकारले सुधारको काम गर्ने उहाँले बताउनुभयो । ‘व्यवसायीले जति धेरै सहयोग गर्छन्, उत्ति नै यो क्षेत्र सम्मानित हुन्छ,’ उहाँले भन्नुभयो । 

 

सरकारका तर्फबाट कमजोरी भए छलफल गरेर अघि बढ्न उहाँले व्यवसायीसित आग्रह गर्नुभयो । आवश्यक प्रक्रिया पूरा गरेर पनि सरकारी निकायबाट व्यवसायीको काम नभएको आफूलाई जानकारी गराए आधा घण्टामा ‘एक्सन’ लिने उहाँले आश्वासन दिनुभयो ।

 

सिण्डिकेट र नातावाद् अब चल्दैन 

 

कामदार विदेश पठाउँदा नाममा भइरहेका सिन्डिकेट तोडेर वैदेशिक रोजगारको क्षेत्रलाई कानुनको दायरामा ल्याउने पनि उहाँले बताउनुभयो । राजनीतिक पार्टी, नातागोता, चिनजानका आधारमा कामदार ठगी गर्ने कसैलाई क्षमा नहुने मन्त्री विष्टले बताउनुभयो । विदेश गएका कामदारको रगत र पसिनाले देशको अर्थतन्त्र चलेको भन्दै उहाँले देश धान्ने युवामाथिको श्रम शोषण आफ्ना लागि सह्य नहुने पनि बताउनुभयो । 

 

मन्त्री विष्टले भन्नुभयो, ‘कुनै पनि बहानामा खडा गरिने सिण्डिकेट कायम रहने छैन । सिण्डिकेट विरुद्ध विधि प्रक्रिया अनुसार अघि बढिनेछ ।’ संविधानको मर्म र भावना, लोकतान्त्रिक अभ्यास तथा कामदारको हितका लागि सिण्डिकेट रहन नहुने उहाँको तर्क छ । 

 

युवालाई स्वदेशमै रोजगारी 

 

सरकारले युवाको श्रम देशभित्रै प्रयोग गर्ने वातावरण बनाउन नीति बनाएर तथा परिमार्जन गरेर विशेष ध्यान दिने पनि मन्त्री विष्टले बताउनुभयो । श्रम बजारको माग अनुसार जनशक्ति तयार गर्नुपर्ने आवश्यकता रहेको भन्दै उहाँले त्यसका लागि यसक्षेत्रका विज्ञसँग परामर्श गरिरहेको जानकारी दिनुभयो ।

 

अहिले वैदेशिक रोजगारीलाई निरन्तरता दिनुपर्ने बाध्यता रहेको तर पर्याप्त विकासका संरचना मार्फत रोजगारी सिर्जना गर्ने र धेरै युवालाई स्वदेशमा नै रोजगारी दिने सरकारको लक्ष्य रहेको उहाँको भनाई छ । 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024