दुई महिनामै २६ हजार युवा मलेसिया पुगे

16 October, 2017

उत्तम काप्री 

 

चालू आर्थिक वर्ष २०७४/७५ को साउन र भदौमा वैदेशिक रोजगारीका लागि २६ हजार चार सय ७२ युवा मलेसिया गएका छन्। वैदेशिक रोजगार विभागका अनुसार भदौमा मात्रै म्यानपावरमार्फत नयाँ भिसामा १२ हजार ५० युवा रोजगारी गर्न मलेसिया पुगेका छन्। यसमा ११ हजार सात सय ७१ पुरुष र दुई सय ७९ महिला छन्।

 

यसैगरी भदौ महिनामै व्यक्तिगत श्रम स्वीकृति लिएर १९ सय ६६ युवा मलेसिया गएका छन्। संस्थागत (म्यानपावर) र व्यक्तितर्फ गरी भदौमा मात्रै श्रम स्वीकृति लिँदै मलेसिया पुग्नेको संख्या १४ हजार १६ पुगेको विभागले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ। यसैगरी साउनमा १२ हजार चार सय ५६ युवा रोजगारीका लागि मलेसिया पलायन भएका थिए।

 

चालू आवको भदौ महिनामा मात्रै ५१ हजार ७६ युवा रोजगारीकै लागि विश्वका विभिन्न मुलुक पुगेका छन्। चालू आवको सुरुसँगै मलेसिया जाने युवाको संख्याका ह्वात्तै बढेको छ। खाडीको आन्तरिक द्वन्द्व र कतारलाई एक्ल्याउन खोज्दा युवाको रोजाइ मलेसिया बन्न पुगेको छ। खाडी राष्ट्रबाट हुने कामदार माग दिनदिनै घटेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ बताउँछन्। खाडीका जाने युवाले विकल्पका रूपमा अहिले मलेसिया रोज्न थालेको उनको भनाइ छ।

 

गत आवको साउन महिनामा म्यानपावरमार्फत ६ हजार सात सय एकजना र भदौ महिनामा सात हजार दुई सय ९२ युवा मलेसिया गएका थिए । चालू आवको दुई महिनामा म्यानपावरमार्फत मलेसिया जाने युवाको संख्या गत आवको दुई महिनाभन्दा नौ हजारभन्दा बढी छ। गत आवको दुई महिनामा म्यानपावरमार्फत १३ हजार नौ सय ९३ युवा रोजगारीका लागि मलेसिया पुगेका थिए भने चालू आवको दुई महिनामा २३ हजार दुई सय १७ युवा मलेसिया पुगेका छन् ।

 

गत आवमा मासिक सरदर ११ देखि १२ हजार युवाको रोजाइमा परेको कतार जानेको संख्या भने चालू आवको सुरुसँगै भन्डै ५० प्रतिशतले गिरावट आएको छ। चालू आवको दुई महिनामा १३ हजार दुई सय ६६ युवा रोजगारीका लागि कतार पुगेको विभागले जानकारी दिएको छ। तर गत आवको सोही अवधिमा ३१ हजार पाँच सय ६ युवा कतार पुगेका थिए। साउदी, दुबई, ओमन र बहराइन जाने युवाको संख्या पनि गत आवभन्दा चालू आवमा ५० प्रतिशतले गिरावट आएको देखिन्छ।

 

मलेसिया जानेको संख्या ह्वात्तै बढे पनि समग्रमा म्यानपावरमार्फत रोजगारीका लागि विदेश जानको संख्यामा भने गिरावट आएको छ। गत आवको साउन र भदौमा म्यानपावरमार्फत ६५ हजार पाँच सय २१ युवा विश्वका विभिन्न मुलुकमा रोजागरीका लागि पुगेका थिए। तर चालू आवको साउन र भदौमा गरी ५९ हजार दुई सय सात युवा रोजगारीका लागि विदेश पलाएन भएका छन्। योसँगै चालू आवको दुई महिनामा कोरिया जानेको संख्या एक हजार तीन सय ३८ छ। यसमध्ये २७ जना महिला छन्।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024