दिल्लीमै नक्कली नागरिकता र पासपोर्ट

9 September, 2016

भवानी भट्ट

 

•    २२ वर्षमा काम खोज्दै ३ मुलुक

•    १४ वर्षकै उमेरमा साउदी

 

भर्खर २२ वर्षमा टेकिन्। तर, रोजगारी खोज्दै हिंड्न थालेको ८ वर्ष पूरा भयो। यो अवधिमा वैदेशिक रोजगारीका लागि खाडीका ३ मुलुक घुमिसकिन्। यसपटक दिल्ली जाने क्रममा माइती नेपालले सीमामा रोकेर सोधपुछ गरेपछि उनले वैदेशिक रोजगारका अनेक किस्सा सुनाइन्। झापाकी यी किशोरी घरको आर्थिक अवस्था कमजोर भएपछि १४ वर्षकै उमेरमा वैदेशिक रोजगारीका लागि घरबाट हिंडेकी थिइन्। उनी २२ वर्ष पुग्दा नपुग्दै साउदी अरब, कतार र कुवेतमा काम गरेर फर्किसकेकी छन्। नागरिकतासमेत नबनेका अवस्थामा सुरुमा नक्कली पासपोर्ट बनाएर साउदी पुगेको सुनाइन्। ‘दिल्लीमा नक्कली पासपोर्ट र नागरिकता बनाएर साउदी पुगे,’ ती युवतीले भनिन्, ‘त्यहाँ २ वर्ष काम गरेपछि घर फर्कें।’ 

 

उनका अनुसार साउदीमा घरेलु कामदारका रूपमा मासिक ६ सय रियाल पाउने गरेकी थिइन्। साउदीबाट फर्केपछि आफ्नै नागरिकता र पासपोर्ट बनाएर फेरि कतार गइन्, घरेलु कामदारकै रूपमा। ‘कतारमा पनि डेढ वर्ष काम गरें,’ उनले भनिन्, ‘त्यहाँको कमाइ सबै बुवाको उपचारमा सकियो।’ उनी कतारबाट बुवा बिरामी भएकै कारण समय भन्दा अगाडि नै घर फर्किन्। कतारबाट फर्केको २ वर्षपछि फेरि कुवेत गइन्। त्यहाँ पनि घरेलु कामदारकै रूपमा। तर त्यहाँ काम गर्न साउदी र कतारको जस्तो सजिलो थिएन। समयमा तलब नपाउने, गाह्रो काममा लगाउने तथा मालिकले बेलाबेलामा दु:ख दिने गर्थे। त्यही पीडाका कारण उनले पासपोर्ट छाडेर बाहिर काम गर्न हिंडेपछि २ महिना जेलसमेत बस्नुपर्‍यो। 

 

‘जेलबाट छुटेपछि कुवेतबाट ९ महिनामै घर फर्किएँ,’ उनले भनिन्, ‘त्यहाँ काम र मालिकको व्यवहार ठीक थिएन, पैसा पनि समयमा नपाइने।’ कुवेतमै उनले भारतको हैदराबादका एक मुस्लिम युवकसँग विवाह पनि गरिन्। यसपटक उनी कुवेतबाट फर्केर आफ्नो घर नगई सीधै तिनै मुस्लिम युवकलाई खोज्न दिल्ली जान लागेकी थिइन्। ती किशोरीका अनुसार उनीहरूको कुवेतमै मुस्लिम परम्पराअनुसार विवाह भएको हो। उनका श्रीमान् उनी जेलबाट छुट्नुअघि नै भारत फर्किइसकेका छन्। समयमा तलब नपाउँदा तिनै युवकले उनलाई सहयोग गरेका थिए। 

 

अहिले ती युवती ५ महिनाकी गर्भवती छिन्। ‘गर्भ बोकेर आमाबुबाको अगाडि कसरी जानु भनेर युवक खोज्दै दिल्ली जान लागेकी हुँ,’ उनले भनिन्। 

 

उनी कुवेतबाट ५ दिनअघि मात्रै नेपाल आएकी थिइन्। माइतीको बदनामी हुने डरले घरमा नगएरै दिल्ली जान लागेकी बताइन्। माइती नेपालले काठमाडांै–दिल्ली जाने बसमा जाँच गर्दा उनलाई रोकेको हो। उनको विवाह भएको हो वा होइन माइती पक्ष र उनले भनेका भारतीय व्यक्तिलाई बोलाएपछि मात्रै कसको जिम्मा लगाउने भन्ने निक्र्याैल गरिने माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताइन्। ‘भारतीय युवक र युवतीका बुवालाई बोलाइएको छ,’ उनले भनिन्, ‘आवश्यक कुरा बुझेर मात्रै छाडिनेछ।’ 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026