दिल्लीमा १९ युवतीको उद्धार, १६ नेपाली

1 August, 2018

भारतीय प्रहरीले दिल्लीको मैदानगढी क्षेत्रबाट १९ युवतीको उद्धार गरेको छ। तीमध्ये १६ युवती नेपालका छन् भने ३ जना भारतको जलपाईगुडीका छन्। प्रहरीले मानव बेचविखनको आरोपमा तीनजनाई पक्राउ पनि गरेको छ। बनारस प्रहरीको अपराध शाखाले दिएको सूचनाका आधारमा उक्त कारबाही गरिएको थियो। बनारस प्रहरी र दिल्ली प्रहरीको विशेष दस्ताले त्यहाँ छापा मारेको थियो। प्रहरीले पक्राउ गरेका अभियुक्तमा हिसारका बासिन्दा पवन खुराना, काठमाडौंका शाहवीन शाह र गाजीपुर (उत्तर प्रदेश)का राजेन्द्र उर्फ राजन छन्। 

 

उनीहरूले अवैध रूपमा मैदानगढीको एउटा फ्ल्याटमा राख्दै आएका थिए। उनीहरूलाई पश्चिम बंगाल र नेपालबाट दिल्ली ल्याएर राखेका थिए। उनीहरू सबैलाई खाडी मुलुकमा राम्रो रोजगारी मिलाइदिने निहुँमा त्यहाँ राख्दै आएका थिए। आरोपी तीनजनाले ती युवतीहरूका राहदानी आफ्नो नियन्त्रणमा राखेका थिए। उनीहरूबाट प्रहरीले ६८ वटा राहदानी बरामद गरेको छ।

 

तीमध्ये ७ वटा भारतीय राहदानी छन् भने बाँकी ६१ बटा नेपाली राहदानी छन्। उक्त गिरोह करिब २ वर्षदेखि दिल्ली, उत्तर प्रदेश, हैदराबाद र जयपुरमा सक्रिय रहेको प्रहरीको भनाइ छ। उनीहरूले १ हजारभन्दा बढी युवतीलाई अवैध रूपमा खाडीका ओमान, कुवेत, दुबईका साथै अफ्रिकी महादेशमा पठाएको खुलासा भएको छ। उनीहरूले नेपाली र भारतका युवतीलाई अलग अलग कोठामा राख्ने गरेका थिए।

 

एउटा समूहका युवतीलाई विमानस्थलबाट पार गराए लगत्तै अर्को समूहका युवतीलाई मैदानगढीमा ल्याउने गरेका थिए। उद्धार गरिएका युवतीले आफूहरूलाई बाहिर निस्कन नदिने गरेका पनि दाबी गरेका छन्।

 

अपराध शाखाका अनुसार बनारसको शिवपुर थानामा केही महिनाअघि मानव तस्करी र देह व्यापारअन्तर्गत एक मुद्दा दर्ता भएको थियो। उक्त मुद्दाका आरोपी दिल्लीमा रहने गरेको जानकारी मिलेको थियो। त्यसैका आधारमा प्रहरी उनीहरूसम्म पुग्न सफल भएको हो। नेपालबाट खाडी र अफ्रिकामा महिलालाई घरेलु कामदारका जान रोक लगाइएपछि तस्करहरूले भारुतको बाटो प्रयोग गर्ने गरेका छन्। यसका लागि उनीहरूले विमानस्थलमा सेटिङ मिलाउने गरेको दाबी छ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026