दिल्लीका कोल्डस्टोरमा पसिना बगाउँदै

28 Aug, 2018

दिल्लीको आजादपुरस्थित तरकारी चिस्यान केन्द्रमा कार्यरत नेपाली भरिया साँघुरो भर्‍याङमा करिब ६० किलोको भारी बोकेर नौ तलासम्म ओहोरदोहोर गर्छन्

नयाँदिल्लीको आजादपुरस्थित तरकारी बजार । चौबीसै घण्टा क्रेता र विक्रेताको भीड हुने यो बजारसँगै छन्, लहरै उभिएका बहुतले पुराना घर । ती घरका तलैपिच्छे फलफूल तथा तरकारी चिस्यान केन्द्र छन् ।यिनै चिसा कोल्ड स्टोरमा वर्षौंदेखि बितिरहेको छ, केही नेपालीको जिन्दगी ।

बैतडी, सिगासका उज्ज्वलसिंह धामी चार वर्षदेखि यही कोल्ड स्टोरमा काम गर्दै आएका छन् । गाउँकै दाजुभाइको लहैलहैमा लागेर उनी आजादपुर आइपुगेका हुन् ।

सबै जनाको दैनिकी बिहान ५ बजे सुरु हुन्छ र राति ९ बजे टुंगिन्छ । दिउँसो दुई घण्टा खाने समय छुटयाइन्छ । ट्रकबाट आएका सामानलाई ठेकेदारले भनेअनुसार विभिन्न तलामा रहेका चिस्यान केन्द्रमा पुर्‍याउने र त्यहाँबाट ल्याएर गाडीमा लोड गर्ने– यसैगरी बित्छ उनीहरूको दिन । साँघुरो भर्‍याङमा करिब ६० किलोको भारी बोकेर नौ तलासम्म ओहोरदोहोर गर्छन् उनीहरू । ‘सुरुमा निकै गाह्रो भयो, पछि बानी पार्दै गयो,’ उज्ज्वलले भने ।

उज्ज्वलसँगै वर्षौंदेखि पसिना बगाइरहेका छन् धनवीर, गगनसिंह, करणसिंह, हरिसिंह धामी । उनीहरूका अनुसार आजादपुर तरकारी बजारमा रहेका पाँचवटा ठूला कोल्ड स्टोरमा सिजनका बेला एउटैमा पन्ध्रभन्दा बढी नेपाली हुन्छन् । अझ दिल्लीको छिमेकी राज्य हरियाणाको समेत हिसाब गर्ने हो भने त्यो संख्या हजारभन्दा बढी नाघ्छ ।

धनवीरसिंह धामी नेपाली विषयमा आईएड उत्तीर्ण छन् । दिल्ली आउनुअघि शिक्षा आयोगदेखि लोकसेवासम्मका परीक्षा पनि दिए । तर, नतिजा अपेक्षित भएन । अनि पढाइ, सरकारी जागिरका अठोट र सबै सपना हापेर दिल्ली हान्निए ।

मलेसिया तीन वर्ष बसेका कैलालीका हरिसिंह धामी स्कुलको पढाइ छाडेर १७ वर्षको उमेरमै दिल्ली आएको बताउँछन् । केही समय होटलमा काम गरेपछि उनलाई पनि कोल्ड स्टोरको चिसोले लोभ्यायो । बीचमा तीन वर्ष मलेसिया गए, फर्किएर फेरि आजादपुरमै आइपुगे । ‘मलेसियामा काम केही सजिलो भए पनि तलब खासै बच्दैनथ्यो,’ उनले भने ।

गगनसिंह धामी २२ वर्ष मात्रै भएका छन् । उनी दिल्ली आएको पाँच वर्ष भयो । आएकै दिन ६० केजीको बोरा बोक्नुपर्‍यो । ‘दिल्लीमा राम्रो काम पाइन्छ भन्ने लागेको थियो तर सुरुका दिन कति गाह्रो भयो भनिसाध्य छैन,’ उनले भने, ‘केही दिन त थलै परें ।’ त्यसयता उनको दिल्ली आउने–जाने क्रम टुटेको छैन ।

४० वर्षीय करणसिंह धामीलाई भने अरूभन्दा केही सहज छ । एउटै कोल्ड स्टोरमा २० वर्ष बिताइसकेका उनले दस वर्षयता भारी बोकेर भर्‍याङ उक्लिनुपरेको छैन । गाडीबाट सामान झार्दा वा राख्दा बोक्नुपरे पनि उनको मुख्य काम मुन्सीगिरी अर्थात् लोड र अनलोड भएका पेटी र बोराको हिसाब दुरुस्त राख्ने हो । ‘अनुभव र मिहिनेतकै कारण होला, ठेकेदारले मलाई विश्वास गरेर हिसाबकिताबको काम दिएको छ,’ उनले भने । २०५५ सालमा पहिलो पटक उनी दिल्ली आउँदा सामान्य मजदुरी गर्नेले महिनामा बढीमा हजारदेखि बाह्र सयसम्म कमाउँथे । तर, कोल्डस्टोरमा भने तीन हजारभन्दा बढी थियो ।

कमाइ सबैको समान छ । दिनभरिमा कसले कति काम गर्‍यो भन्ने भोलिपल्ट एकमुस्ट हिसाब हुन्छ । अहिले चलेको दर साठी केजी एउटा पेटीको चार रुपैयाँ दस पैसा र करिब सय केजीको बोराको पाँच रुपैयाँ । त्यसको हरहिसाब मुन्सीले राख्छन् । दिनभरिको पेटी र बोराको संख्यालाई चार रुपैयाँको हिसाबले जम्मा हुने रकम ठेकेदार, मुन्सी र भरियालाई बराबर भाग लगाइन्छ । यसरी हिसाब गर्दा हुने आम्दानीबाट सबै खर्च कटाएर महिनामा १० देखि १२ हजार भारु जोगिने गरेको उनीहरू बताउँछन् ।

ज्यालाका अतिरिक्त दसौं तलामा नाम मात्रको सुत्ने कोठाबाहेक उनीहरूले कुनै सुविधा पाउँदैनन् । बिरामी परेका बेला औषधिमूलो पनि आफैं गर्नुुपर्छ । नौ तले भवनमा तलमाथि गर्दा कुनै दुर्घटना भइहाल्यो भने त्यसमा ठेकेदारले चासो दिँदैन । कोल्ड स्टोरको रसायन र चिसोले स्वास्थ्यमा पर्ने दीर्घकालीन असर त परको कुरा भयो । ‘भित्र हिउँजस्तै चिसो हुन्छ बाहिर पूरै गर्मी, त्यसले पनि होला ज्वरो आउने गर्छ,’ उज्ज्वलले भने, ‘भगवानको कृपाले अहिलेसम्म कसैलाई पनि त्यस्तो ठूलो चोटपटक लागेको छैन ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024