दिनहुँ लुटिन्छन् नेपाली कामदार

26 September, 2017

भवानी भट्ट

 

दसैंका लागि भारतबाट स्वदेश फिर्ने यात्रु बाटोमै लुटिन थालेका छन् । सीमावर्ती क्षेत्रमा नसालु पदार्थ खुवाएर लुट्ने क्रम बढेको हो । सोमबार मात्रै २ लाखभन्दा बढी रकम लुटिएका ६ नेपाली कामदार अलपत्र अवस्थामा भेटिएका छन् । 

 

दैलेखका ५ जनाबाट डेढ लाखभन्दा बढी र प्यूठानका एक जनाबाट ४५ हजार भारु लुटिएको छ । लुटिएपछि रित्तो हात सिमानाका पार गरेर गड्डाचौकी पुगेका उनीहरूलाई प्रहरी र विभिन्न सामाजिक संघसंस्थाले चन्दा उठाएर घर पठाएका छन् । भारत, उत्तराखण्डको वागेश्वरमा मजदुरी गरेर घर फर्किरहेका दैलेखको राकम कर्णाली गाउँपालिका– ८ तिलिपाटाका नरेश सिजापतिसहितका ५ जनालाई किच्छामा ३ जना नेपालीहरूले नै लुटेका हुन् । भारतको हल्द्वानीमा भेटिएका ती नेपाली आफ्नो घर पनि दैलेख भएको बताउँदै नजिकिएका थिए । ‘किच्छा बजारमा पुगेपछि बनवासा आउने बस पाइएन, त्यहाँ सँगै बस्यौं,’ उनले भने, ‘राति उनीहरूले नै दिएको जुस खाएपछि सबै बेहोस भयौं ।’ शनिबार राति बेहोस भएका उनीहरू सोमबार बिहान मात्रै होसमा आएका थिए ।

 

लुटेराहरूले नगदसँगै मोबाइल र लुगाकपडासमेत लगेका छन् । आइतबार बिहान बेहोस अवस्थामा देखेपछि भारतीय प्रहरीले उनीहरूलाई अस्पताल पुर्‍याएको थियो । होसमा आएपछि त्यहींका प्रहरीको आर्थिक सहयोगमा उनीहरू महेन्द्रनगर पुगेका हुन् । ‘अब घरसम्म कसरी पुग्ने,’ अर्का पीडित कमल नेपालीले भने, ‘रेता (बालुवा) बोकेर कमाएको सबै रकम लुटियो, दसैं पनि कसरी मनाउने भन्ने चिन्ता छ ।’ लुटिनेमा नरेश र कमलसँगै भरन, नवराज र ललित नेपाली रहेका छन् । उनीहरूबाट २० हजार देखि ४०/४५ हजारसम्म लुटिएको छ । ‘दुई महिनाअघि मात्रै काम खोज्दै भारत पसेका हौ’ कमलले भने, ‘घर फर्किंदा रित्तो हात भयौं । जे भए पनि ज्यान जोगियो ।’ उनीहरूलाई सुरक्षित आप्रवासनका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था निड्स कञ्चनपुरले आर्थिक सहयोग गरेर घर पठाएको छ । बस भाडा र बाटो खर्च दिएर घर पठाइएको निड्सका कर्मचारी मेखराज जोशीले बताए । 

 

हिमाञ्चलबाट घर फर्किने क्रममा आइतबार प्यूठानका नरेश विष्ट पनि हरिद्वारमा लुटिएका छन् । खानामा नशालु पदार्थ खुवाएर ४५ हजार र मोबाइल तथा लुगाकपडा लुटिएको उनले बताए । सहारा नेपालका कर्मचारीको सहयोगमा उनी महेन्द्रनगर हुँदै सोमबार प्यूठान हिँडे । गत साता मात्रै घर फर्किरहेका सल्यानका ३ जनाबाट ८० हजारभन्दा बढी रकम लुटिएको थियो । ब्रह्मदेव नाका हुँदै घर फर्किरहेका उनीहरूलाई नेपालीहरूले नै लुटेका थिए । स्थानीयले तत्काल थाहा पाएर प्रहरीलाई खबर गरेपछि पीडितको उद्धारसँगै ४ जना लुटेराहरू पक्राउ परेका थिए ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024