दसैं सकेर कामको खोजी

26 October, 2018

दसैं मनाउन भारतका विभिन्न ठाउँबाट घर आएकाहरू दसैं सकिए लगत्तै काममा फर्किन थालेका छन् । विगतका वर्षहरूमा तिहार सकिएर खेतीपाती लगाएपछि मात्रै जाने गरेपनि यस पटक भने तिहारअघि नै सीमामा काममा फर्किनेहरूको भीडभाड बढ्न थालेको हो  ।

बिहीबार गड्डाचौकी नाका हुँदै कामको खोजीमा भारत जान लागेकाहरू ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट दसैं मनाएर काम खोज्दै पश्चिमी नाका गड्डाचौकी हुँदै भारत पस्न थालेका छन् । कतिपय स्कुल बिदा भएका कारण बालबालिकालाई पनि सँगै लिएर जान लागेका भेटिन्छन् ।

‘दसैं सकियो, अब काममा लाग्यौं, घरमै बसेर खर्च केले चलाउनु,’ बिहीबार भारततिर जान लागेका बाजुराको बुढीनन्दा नगरपालिका कोल्टीका ५५ वर्षीय कैले लुहारले भने, ‘अब तिहार भारतमै मनाउँछौं ।’

कैले आफ्ना स्कुले छोरा धौलेलाई पनि संगै लिएर गएका छन् । कोल्टीका १३ जना बिहीबार दिउँसो गड्डाचौकी नाका हुँदै भारत पसे । ‘चम्पावत, लोहाघाटतिर मजदुरी गर्छाैं,’ कोल्टीकै बिर्खे लुहारले भने, ‘गाउँमा खेतीपाती हुन छाड्यो, पहिलेजस्तो छैन ।’

पहाडी जिल्लाहरूमा दसैंतिहार मनाएर गहुँ छरेपछि मात्रै २/३ महिनाको लागि पटके रोजगारीका रुपमा भारत पस्ने चलन थियो । तर केही वर्षयता खेतीपाती हुने जमिन पनि बाँझै छाडेर भारत पस्ने चलन बढेको छ ।

उत्पादन हुनेभन्दा बढी खर्च लाग्ने भएकाले खेतीपातीतर्फ ध्यान घट्दै गएको पाइन्छ । ‘खेतीपाती लगाएर मात्रै के गर्नु, समयमा पानी पर्दैन,’ कैलेले भने, ‘बिउ र मजदुरीको खर्च पनि उठ्दैन, त्यही भएर सके गहुँ लगाउनु नसके बाँंझै छाड्ने भनेर परिवारकै जिम्मामा छाडेर आयौं ।’

आफ्नो जमिनको उब्जनीबाट उनका परिवारलाई २ महिना पनि खान पुग्दैन । कैले १२/१३ वर्षको उमेरदेखि भारत उत्तराखण्डको नैनीताल, देहरादून, पिथौरागढ, चम्पावत, गढुवाललगायत क्षेत्रमा काम खोज्दै पुगिरहेका छन् ।

 

यतिबेला कामको खोजीमा अभिभावकसँगै बालबालिका पनि जान लागेका छन् । कतिपय बालबालिका छिमेकी र ठेकेदारहरूसँग पनि जान थालेका छन् । उनीहरूका अभिभावक भारतमा भएको भन्दै त्यहीँ जाने गरेका छन् ।

बालबालिकाहरूलाई जोखिमपूर्ण काममा लगाउन सकिने भन्दै सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले घर फिर्ता पठाउने गरेका छन् ।

मंगलबार मात्रै बाजुरा बुढीनन्दा नगरपालिका ३ बसालीका २२ जना बालबालिकालाई प्रहरीले रोकेर घर फिर्ता पठाएको छ । उनीहरूको उमेर ५/६ देखि १०/१२ वर्षसम्म छ । उनीहरूलाई भारततर्फ लैजाने ४ महिला र ४ जना पुरुषलाई समेत रोकिएको थियो ।

बालबालिकाको श्रम शोषण हुने, जोखिमपूर्ण काममा लगाइने तथा बेचबिखनसमेत हुन सक्ने भएकाले सीमामा रोकिने गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज सई पदमबहादुर बुढामगरले बताए ।

उनका अनुसार मंगलबार रोकिएका बालबालिकालाई आफन्तको जिम्मा लगाएर घर फिर्ता पठाइएको छ । यसअघि पनि पटक पटक ठूलो संख्यामा भारन जान लागेका बालाबालिकालाई प्रहरीले रोकेर घर फिर्ता पठाएको छ ।

तिहार लगत्तै पहाडी क्षेत्रमा गहुंँ छर्ने काम सुरु हुन्छ । गहुंँ छर्ने काम सकिएपछि सीमा क्षेत्रमा काम खोज्दै भारत पस्नेको लर्काे नै लाग्छ । तर यस वर्ष दसैंको भोलिपल्टदेखि नै भारत जाने क्रम बढेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024