दसैं मनाउन देश छिर्दा लुटपाट

13 October, 2018

गड्डाचौकी नाकामा दसैंमा घर फर्कनेहरू लामबद्ध छन्। भारतीय सुरक्षाकर्मीले भने उनीहरूलाई ठाउँठाउँमा सास्ती दिएको छ। पाँच ठाउँमा खानतलासी हुन्छ। प्रत्येक ठाउँमा पैसा तिर्नुपर्छ।

दिल्लीको आनन्दविहारबाट घर फर्किएका खगेन्द्रप्रसाद भट्ट मंगलबार बिहान वनबासा बसपार्क पुगे। वनबासादेखि गड्डाचौकीसम्म पुग्दा उनको झोला पाँच ठाउँमा खोतलियो। ६ किलोमिटर दूरीमा उनले पटकपटक कम्तीमा २० देखि बढीमा दुई सय रूपैयाँसम्म तिरे।

यो भट्टको मात्रै समस्या होइन, दसैं मनाउन घर फर्किने सबै नेपालीले नाकामा अनावश्यक झन्झट र अवैध असुली गर्नुपर्ने बाध्यता छ। ‘वनबासादेखि गड्डाचौकी भन्सार कार्यालयसम्म पुग्दा भाडाबाहेक २ सय रूपैयाँ थप तिर्नुपर्‍यो, ठाउँठाउँमा झोला खोतलियो’, भट्टले भने।

भारतीय प्रहरी, कस्टम कर्मचारी, भारतीय सीमा सुरक्षा बल (एसएसबी) सीमामा करिब १ किलोमिटरको दूरीमा बस्छन्। तीनै ठाउँमा नेपालीले सामान जाँच गराउनुपर्छ। एसएसबीले सामान मात्रै चेकजाँच गर्छ। भारतीय प्रहरी र कस्टम कर्मचारीले भने घर फर्किंदै गरेका नेपालीसँग पैसै असुल्छन्।

‘पैसा दिए सामान चेक गरेजस्तो मात्रै गरेर छोडिदिन्छन्’, बाजुराका काशीराम जोशीले भने, ‘नत्र झोला, गुन्टा खोलेर भित्रको सामान छरपस्ट बनाइदिन्छन्।’ उनले बाध्यतावश भारतीय प्रहरी र कस्टमका कर्मचारीलाई २०÷३० भारतीय रूपैयाँ बुझाउनु परेको सुनाए।

कारगिलबाट फर्किरहेका बर्दियाका कैलाश थारुले गड्डाचौकीमा ठाउँ–ठाउँमा पैसा बुझाउनुपर्ने बाध्यता रहेको बताए। ‘पैसा नदिए टाँगा, टेम्पोलगायत अघि बढ्नै दिँदैनन्’, उनले भने, ‘जबर्जस्ती खल्तीमा हात हालेरै भएपनि पैसा लिन्छन्।’

दिल्लीबाट काठमाडौं फर्किरहेका व्यवसायी तीर्थराज बस्नेतले पश्चिमी नाकामा नेपालीको बिजोग भएको सुनाए। मंगलबार बिहान दिल्लीबाट गड्डाचौकी पुगेका उनले भने, ‘चेकजाँचका नाममा दुःख र पैसा बुझाउन समेत बाध्य छन्।’

घर फर्कने नेपालीका लागि गौरीफन्टा नाका सहज

बनवासादेखि गड्डाचौकी र महेन्द्रनगर पुग्न टाँगा, जीप र अटो रिक्सा प्रयोग हुन्छ। ती सवारीका चालकले नाकामा अवैध रकम बुझाउनु पर्ने भएकाले यात्रुबाट अतिरिक्त असुल्छन्।

‘चेकजाँचमा रकम नबुझाए जानै दिँदैन’, एक टाँगा चालकले भने, ‘त्यहीँ बुझाउन हामीले यात्रुबाट भाडाबाहेकको रकम बढी लिन्छौं।’

घर फर्किने नेपालीले नेपालतिरै पनि रकम बुझाउनु परिरहेको छ। सवारी चालकबाट नेपाल प्रहरीले समेत अतिरिक्त रकम लिने गरेको अर्का टाँगा चालकले बताए। ‘यता पनि प्रहरीलाई पैसा दिनुपर्छ, त्यही भएर यात्रुहरूबाटै भाडाबाहेक थप रकम लिन्छौं’, उनले भने।

सटहीमा पनि सास्ती

सीमानाकामा घर फर्किने गरेका नेपाली भारतीय नोटक सटही गर्दा पनि गिरोहबाट ठगिने गरेका छन्। सटही गर्नेहरु गड्डाचौकीदेखि महेन्द्रनगर बसपार्कसम्म हातमा नेपाली रकम बोकेका भेटिन्छन्।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी इन्चार्ज सई पदमबहादुर बुढाले नाकामा घर फर्किनेलाई सहज हुने वातावरण मिलाउने काम भइरहेको बताए।

‘चेकजाँचमा केही कठिनाइ भए पनि सहज बनाइरहेका छौं’, बुढाले भने, ‘अनावश्यक दुःखबारे भारतीय पक्षसित कुराकानी पनि भइरहेको छ।’ उनले नेपालतर्फ दुःख दिने काम नभएको दाबी गरे।

घर फर्किने नेपालीको आवागमन सहज बनाउन संयुक्त हेल्प डेस्क नाकामा राखिएको निमित्त प्रमुख जिल्ला अधिकारी शंकर विष्टले जानकारी दिए।

नाकामा सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बलको संयुक्त हेल्प डेस्क छ। नेपालतर्फ गड्डाचौकी र महेन्द्रनगर बसपार्कमा पनि हेल्प डेस्क राखिएको छ। हेल्प डेस्क राखिए पनि घर फर्किनेको आवागमनमा सहज हुन सकेको छैन।

पश्चिमी नाका गड्डाचौकीबाट दिनहुँ ४ देखि ५ हजार संख्यामा नेपाली दसैं मनाउन घर फर्किरहेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024