दक्षिण कोरियाले गर्‍यो १० नेपालीलाई निष्कासन

19 May, 2025

काठमाडौं : दक्षिण कोरियाले १० जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बस्दै आएका उनीहरूलाई दक्षिण कोरियाको अध्यागमनले निष्कासन गरेको हो।

निष्कासनमा पर्नेमा चार जना अध्यागमन कानुन उल्लंघन गर्नेहरू छन्। जसमा सम्बाहम्बे, गौतम, गुरुङ र थापा थरका एक-एक जना रहेका छन्। उनीहरूलाई गत मे १६ तारिखमा नेपाल फर्काइएको हो। स्रोतका अनुसार कोरियन एयरलायन्सको विमानबाट उनीहरूलाई काठमाडौं ल्याइपुर्‍याएको हो।

त्यस्तै भिसा म्याद सकेर लुकीछिपी बस्ने ६ जनालाई त्यहाँको अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा थापा, तिवारी पुन, अधिकारी, पुन र घर्ती क्षेत्री थरका एक-एक जना रहेका छन्। स्रोतका अनुसार उनीहरूलाई १५ तारिखमा थाई यएरवेजको विमानबाट काठमाडौं फर्काइएको हो।

वैशाखको अन्तिम साता पनि एकैपटक ९ जना नेपालीलाई दक्षिण कोरियाले निष्कासन गरेक थियो। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई दक्षिण कोरिया सरकारले नेपाल फर्काएको थियो।।

नेपाल फर्काइनेमा थापा, ठगुन्ना, आचार्य, राई, तुम्बाहम्पे, राई, तामाङ, मगर र मैनाली थरका एक-एक जना रहेका थिए। दक्षिण कोरिया नेपाली युवाहरूको प्रमुख वैदेशिक रोजगारीको गन्तव्य हो। कम लागत र आकर्षक तलब पाउने भएपछि इपीएस भाषा परीक्षाका लागि प्रत्येक वर्ष लाखौं नेपालीले आवेदन दिँदै आएका छन्। तर, त्यसबाट छानिएर केही हजारमात्र दक्षिण कोरिया पुग्ने गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024