दक्षिण कोरियामा कार्यरत नेपालीको बेसिक तलब झण्डै डेढ लाख

1 January, 2018

विकास श्रेष्ठ

दक्षिण कोरियामा कार्यरत कामदारले यो महिनाबाट न्यूनतम तलब १५ लाख ७३ हजार ७ सय ७० अर्थात मासिक नेपाली १ लाख ४२ हजार भन्दा बढि पाउने भएका छन्।

 

गत वर्ष सरकारले सन् २०१८ को जनवरी देखि लागू हुने गरी कामदारको ज्याला १६ दशमलव ४ प्रतिशत वृद्धि गर्ने निर्णय गरेसँगै कामदारले अब बढेको तलब पाउने भएका हुन्। ऐतिहासिक वृद्धि अनुसार कामदारले प्रतिघण्टा ७५३० कोरियन वोन पाउने छन्। जुन सन् २०१७ को भन्दा १०६० वोनले बढी हो। कोरियामा नेपालीले दैनिक आठ घण्टा देखि १६ घण्टासम्म काम गर्ने गरेका छन्। जसका कारण उनीहरुको मासिक तलब बेसिकभन्दा पनि दोब्बर हुने गर्छ।

 

मजुदरप्रति उदार मानिने वर्तमान राष्ट्रपति मून जे इनले सन् २०२२ सम्म तलब प्रतिघण्टा दश हजार वोन पुर्‍याउने चुनावी प्रतिबद्धता अनुरुप तलब गत वर्षको भन्दा दोब्बर वृद्धि गरिएको हो। यद्यपि यहाँका मजदुर संगठन र प्रवासी मजदुर संगठनले अहिले नै प्रतिघण्टा दश हजार वोन हुनुपर्ने माग राख्दै आइरहेका छन्। तर कम्पनीहरुले तलब वृद्धिले कम्पनीको भार बढ्ने, कम्पनी धरायसी हुने भन्दै तलब वृद्धिको विरोध गरेका थिए।

 

संभावित साना उद्योग र मझौला कम्पनी धरासायीलाई ध्यानमा राखी सरकारले तीस भन्दा कम कामदार भएका कम्पनीलाई अनुदान दिने निर्णय गरेको छ भने आवास र खानाको कटौती गर्ने अधिकार पनि कम्पनीलाई दिएको छ। कोरियामा साना तथा मझौला कम्पनीमा रोजगार अनुमति प्रणाली इपिएस मार्फत आएका नेपाली कामदार कार्यरत छन्।

 

तलब वृद्धिको खुसिसँगै कामदारमा कम्पनीले आवास र खानाको नाममा तलब कटौती गर्ने आशंकाले केहि बेखुसी बनाएको छ। कोरियामा कृषि, मत्स्य, साना तथा मझौला कम्पनीमा झण्डै ४० हजार भन्दा बढी कामदार कार्यरत रहेको अनुमान छ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026