दक्षिण अफ्रिकास्थित दूतावासको आग्रह— ‘कामको लोभमा नआऊ’

19 November, 2017

चन्द्रशेखर अधिकारी

 

मानव तस्करहरूले सहज काम र राम्रो पारिश्रमिकको लोभ देखाउँदैं दक्षिण अफ्रिकामा समेत नेपाली ल्याउने गरेका छन् । उनीहरूले नेपाली युवालाई दिल्ली, मुम्बई, थाइल्यान्ड हुँदै दक्षिण अफ्रिका पुर्‍याएर अलपत्र पार्ने गरेका छन् । मानव तस्करहरूले विभिन्न प्रलोभनमा ल्याइएका नेपाली महिलालाई अन्य अफ्रिकी मुलुकका डान्सबारमा जबर्जस्ती काममा लगाउने गरेकोमा युवालाई समेत दक्षिण अफ्रिका पुर्‍याउने गरेका हुन् । दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले भने कुनै सभा, सेमिनार तथा अध्ययनबाहेक अन्य उद्देश्यले नआउन आग्रह गर्दै आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अफ्रिका उडानमा आउनेलाई अध्यागमनले बुझेर मात्र पठाउने गरे पनि नेपालबाट दक्षिण अफ्रिका मानव तस्करी रोकिन सकेको छैन । हरेक महिना ६ नेपालीले आफू ठगिएको गुनासो गर्ने गरेको नेपाली दूतावासमा गर्ने गरेका छन् । त्यसबाहेक आफूसम्म नआइपुगेका कैयन् हुन सक्ने दूतावासले जनाएको छ । 

 

नेपालीहरू अन्य मुलुक हुँदै आएकाले पनि मानव तस्करी कसरी नियन्त्रण गर्ने भन्नेमा दूतावास आफैं अन्योलमा छ । दूतावास स्थापनापछि अधिकांश समय यसमै बित्ने गरेको अनुभव दूतावास अधिकारीहरूको छ । ‘दक्षिण अफ्रिका सरकारले विदेशी कामदारलाई वर्क परमिट दिँदैन । तर पनि नेपालीहरू आइरहेका छन्,’ दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईले कान्तिपुरसँग भने, ‘पहिले यहाँ दक्ष कामदारको खोजी हुन्थ्यो । अहिले त्यो अवस्था छैन । ३० प्रतिशत बेरोजगार यहीं छन् । सन् २००० अघि राम्रा डाक्टर, इन्जिनियर, प्राध्यापकको खोजी हुन्थ्यो । अहिले त्यो पनि बन्द छ । त्यो समयमा समेत सामान्य श्रमिकको खोजी हुँदैनथ्यो । सामान्य कामदारलाई यहाँ वैधानिक रूपमा काम गर्नसमेत छुट छैन ।’

 

निकै अपराध र ठगी हुने यो मुलुकमा नेपालीहरू लामो समयदेखि ठगिँदै आएका छन् । यहाँको सरकारले मानव तस्करमा संलग्न नेपाली तथा अन्य मुलुकका नागरिकलाई कारबाही नगरेको अवस्था सुनाउँदै राईले भने, ‘नेपाली यहाँ किन आउँछन्, के सपना देखाएर ल्याइन्छन् भनेर हामी आफैं जिल्ल पर्ने गरेका छौं ।’ मानव तस्करलाई पैसा बुझाएर आएकाहरू दक्षिण अफ्रिका आएर पनि थप लुटाउँछन् । अनि बेखर्ची भएर दूतावास आइपुग्छन् । दूतावासमा नै काम गर्ने श्याम राई पनि यसका उदाहरण हुन् । उनले सुरुमा लाख बुझाएर दक्षिण अफ्रिका आए । त्यसपछि उनले आफूलाई खर्चका रूपमा राखेको पैसा अरू तीन लाख पनि यहाँ लुटाउन बाध्य भए र ज्यान बचाएर स्वदेश फर्किए । नेपालमा खेती किसानी गरेर बसे । उनको कथा सुनेर राजदूतले आफ्नो सहयोगीका रूपमा सँगै ल्याएर दूतावासमा काम दिए । उनी अहिले दूतावासमा काम गर्ने र राजदूतको गाडी चलाउने काम गर्छन् । ७ वर्षअघिको पीडा भने उनी बेलाबेला सम्झन्छन् । 

 

श्याम जस्ता लाखौं रुपैयाँ बुझाएर बेखर्ची भएर ज्यान जोगाएर फर्केका उदाहरण धेरै छन् । दूतावासमा उजुरी गर्न आएकामध्ये कसैलाई मानव तस्करको समूहले ल्याएर छाडेका हुन्छन् भने कतिपय दूतावास छ भन्ने थाहा पाएर खोज्दै आउँछन् । दुई साता अघिमात्र दुई नेपाली महिलालाई काठमाडौं फर्काएको दूतावासले जनाएको छ । यहाँ आउनेलाई घर परिवारसँग सम्पर्क गराएर टिकट मगाई फर्काउने गरेको राजदूत राईले बताए । यहाँ आउन असहज भए पनि जान त्यत्ति असहज छैन । कसैको भिसा छैन भने पनि ट्राभल डकुमेन्ट उपलब्ध छ वा कुनै परिचयपत्र छ भने नेपाल फर्काइदिने गर्छन् । पछिल्लो समय नेपाली केन्या आउने र त्यहाँबाट भूमार्ग हुँदै दक्षिण अफ्रिका छिर्ने गर्छन् । खासगरी उनीहरू अनअराइभल भिसा दिने अफ्रिकी मुलुक पुगेपछि त्यताबाट दक्षिण अफ्रिका आउने गर्छन् । यसरी आउँदा उनीहरूको आफ्नो सबै रकम गुमिसकेको हुन्छ । कतै ठगहरूले, कतै यहाँकै प्रहरीले लुट्छन् । दूतावासका अधिकारीहरूका अनुसार दक्षिण अफ्रिकामा नेपाली पठाउन खासगरी शिक्षा क्षेत्रमा काम गर्ने भनेर खुलेका कन्सल्टेन्सी नै बढी सक्रिय देखिएका छन् । थाहा नै नभएको समूहले पनि नेपालीलाई ल्याउने गरेका छन् । 

 

राजदूत राईका अनुसार दक्षिण अफ्रिकामा नेपालीहरू कति छन् भन्ने कुनै यकिन छैन । तर, यहाँ ८ सयभन्दा बढी नेपाली रहेको अनुमान छ । त्यसमा कानुनी रूपमा बसोबास गरिरहेका नेपाली आधा पनि छैनन् । केही नेपाली यहाँ आफ्नो व्यवसाय गरेर बसेका छन् । २३ चिकित्सक यहाँको सरकारी निकायमा काम गरेर बसेका छन् । चार प्राध्यापक दूतावासको सम्पर्कमा छन् । ‘नेपालीहरू अवैध रूपमा चिनियाँ स्टोर (पसल) मा काम गरिरहेका छन् । उनीहरूले स्थानीय कामदारलाई खासै पत्याउन नसक्ने हुनाले दक्षिण एसियाली कामदार खोजिरहेका हुन्छन् । तर, यहाँ वैध नहुने हुनाले उनीहरूले सहज काम लगाउन पाउँदैनन्,’ राजदूतले भने, ‘हामीले यसमा पहल गर्न पनि सक्दैनौं । किनकि यो यहाँको सरकारको नियम नै हो ।’ यहाँ ठगिएका नेपालीको रकम उठाउनसमेत असहज रहेको र स्थानीय सरकारले समेत यस्तो ठगी सामान्यझैँ मान्ने दूतावासका अधिकारी बताउँछन् । अफ्रिकी महादेशमा काम गर्न नआउन सबै नेपालीलाई अपिल गर्दै राजदूत राईले भने, ‘पढ्नैका लागि पनि यहाँ सहज छैन, विश्वविद्यालय राम्रा छन् । तर बाहिर घुम्नुपर्छ । बाहिर निस्कनु भनेको लुटिनु नै हो ।’ 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024