ताहचलबाट २९ जना बिचौलिया पक्राउ

12 Apr, 2018

वैदेशिक रोजगार विभाग अन्तरगतको ताहचलस्थित काठमाडौं कार्यालयमा सेवाग्राहीलाई सिधै सेवा लिन नदिई ठगी गर्ने ३ महिलासहित २९ जना बिचौलिया पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार २९ विचौलियालाई पक्राउ गरेको हो ।

 

सेवाग्राहीलाई सिधै कार्यालयमा काम गर्ने अवसरबाट वञ्चित गराई दश गुणा बढी रकम लिएर सेवाग्राहीको काम आफूमार्फत् गराउने गुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरी बरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । सेवाग्रहीबाट गुनासो आएपछि सादा पोशाकमा खटिएका प्रहरीलाई नै सेवाग्राही ठानेर पैसाको बार्गेनिङ गर्न थालेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

 

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका हरि खड्का र दीपक कार्की, नवलपरासीका हरिकला सापकोटा, महोत्तरीका दिवेशकुमार झा, सर्लाहीका राधाश्याम थापा र सुशील फुयाल, गोरखाका आइतसिंह गुरुङ, चितवनका महदत्त सापकोटा, पाल्पाका केशव खनाल र गोरखाका निमा शेर्पा छन् ।

 

त्यसैगरी, पक्राउ पर्ने अन्य बिचौलियाहरुमा सुनसरीका किशोर श्रेष्ठ, मकवानपुरका रामबहादुर पन्त, दोलखाका विष्णुबहादुर खड्का, काभ्रेका अनिल हुमागाई, सिन्धुलीका पुष्पकुमार राई, काठमाडौंका सागर लामा, नारायण खनाल र सुरेश सुर्खेती, ताप्लेजुङका सुन्दर शेर्पा, धादिङका अनिल खरेल र दीपक दाहाल, सिन्धुपाल्चोकका सञ्जय लामा, झापाका विपिन सुवेदी, सुनसरीका लक्ष्मण परियार, धादिङका राम राना, बाग्लुङका भुमेश्वर कडेल, मकवानपुरकी रीता दुलाल, खोटाङकी जुनु राई र मोरङका कृष्णप्रसाद सुवेदी छन् ।

 

पक्राउ परेका सबैलाई सार्वजनिक अपराधमा मुद्धा चलाइने प्रहरीले जनाएको छ । यसभन्दा अघि पनि प्रहरीले वैदेशिक रोजगार विभाग अन्तरगतको काठमाडौं कार्यालय अगाडिबाट ३५ जना बिचौलियालाई पक्राउ गरेको थियो । ७ दिन थुनामा राखेर उनीहरुलाई १० हजार रुपैयाँ धरौटीमा छाडिएको थियो ।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024