तत्काल मलेसिया नखुले लाइसेन्स फिर्ता गर्ने चेतावनी

31 July, 2019

१४ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी तत्काल नखुले म्यानपावर सञ्चालनको लाइसेन्स फिर्ता गर्ने व्यवसायीले चेतावनी दिएका छन्। लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारी खुलाउन माग गर्दै मंगलबार वैदेशिक रोजगार विभाग घेराउ गर्न पुगेका म्यानपावर व्यवसायीले यस्तो बताएका हुन्।

वैदेशिक रोजगार व्यवसायी संघसम्बद्ध व्यवसायीले विभाग घेराउका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कदमले वैदेशिक रोजगारी अस्तव्यस्त भएको समेत बताए। ८० प्रतिशतभन्दा बढी  व्यवसायीले मलेसिया रोजगारीको काम गर्दै आएको उल्लेख गर्दै उनीहरूले मन्त्रालयको निर्णयले ठूलो संकट निम्तिएको गुनासो पोखे।

संघका अध्यक्ष रोहन गुरुङले श्रममन्त्री गोकर्ण विष्टले आवेगमा आई कूटनीतिक पहलबिना मलेसिया रोजगारी बन्द गर्दा समस्या निम्तिएको बताए। ‘कसैको इगोलाई लिएर आवेगमा एक्सन लिँदा कामदारको प्रमुख गन्तव्य मलेसिया रोजगारी संकटमा परेको छ,’ गुरुङले भने।

सरकारले  कात्तिक १२ गते मलेसियासँग गरेको श्रम समझदारी (एमओयू) मा नेपाली कामदारको सम्पूर्ण लागत रोजगारदाता कम्पनीले बेहोर्नुपर्ने उल्लेख भइसकेकाले अब मलेसिया बन्द गरिराख्नुको औचित्य नरहेको व्यवसायीको भनाइ छ। ‘सरकारले तत्काल मलेसिया रोजगारी सुचारु गर्नुप-यो,’ गुरुङले भने, ‘होइन भने हामी सरकारलाई लाइसेन्स जिम्मा लगाउँछौं।’

वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष रामप्रसाद भन्तनाले मलेसिया रोजगारी बन्द भएसँगै व्यवसायीहरू जटिल अवस्थामा परेको उल्लेख गर्दै कामदारको रोजगारीका अवसर गुमेको बताए। तत्काल मलेसिया रोजगारी बन्दको असर नदेखिए पनि यसले भविष्यमा ठूलो समस्या निम्त्याउने उनले बताए।

सरकारले मलेसिया सरकारसँग श्रम सम्झौता गरेको तर सम्झौताका विषयहरु सार्वजनिक नगर्नुले आम नागरिकलाई सूचनाको हकबाट वञ्चित गरिएको समत उनको भनाइ छ।  ‘सरकारले एमओयूमा समावेश भएका विषयवस्तु पनि सार्वजनिक गर्न सकेको छैन,’ उनले भने।

व्यवसायीहरूले विभागका महानिर्देशक भीष्मकुमार भुसालसँग मलेसिया रोजगारीलाई निष्कर्षमा पु¥याउन माग गरे। भुसालले मलेसिया रोजगारी सुचारुबारे मन्त्रालयसँग छलफल गरिने बताए। बन्द रोजगारी कहिले खुल्छ भन्नेबारे मन्त्रालयको निर्देशन अनुसार भन्न सक्ने उनले बताए। मन्त्रालयले २०७५ जेठ २ गतेदेखि मलेसिया रोजगारी बन्द गरेको  छ। जसले गर्दा एक लाख ५० हजारभन्दा बढी युवा रोजगारीका लागि वञ्चित भएको व्यवसायीको भनाइ छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024