प्रहरीले रोजगारीमा थाइल्यान्ड र क्यानडा पठाउने भन्दै ठगेको अभियोगमा गायत्री वाग्ले र उत्तम महर्जनलाई पक्रेको छ। वाग्ले थाइल्यान्ड पठाउने भन्दै ठगेको अभियोगमा पक्राउ परेकी हुन् भने महर्जन क्यानडा पठाउने बहानामा ठगी अभियोगमा दोषी ठहर भए पनि फरार थिए।
वाग्लेलाई बिहीबार थाइल्यान्डमा मासिक ६० हजार रुपैयाँ तलबको रोजगारीमा पठाउने भन्दै ३ लाख ५० हजार ठगेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।
महाशाखाका अनुसार वाग्लेले आइडियल कन्सल्टेन्सी एन्ड करिअर डेभलपमेन्ट र दि वेस्ट एजुकेसन कन्सल्टेन्सीको नामबाट थाइल्यान्डमा वर्किङ भिसामा पठाउने प्रलोभन देखाएर ठगी गरेकी थिइन्।
महाशाखाका अनुसार काठमाडौं बुढानिलकण्ठ–१२ का गोकुल क्षेत्रीलाई वाग्लेले ३ लाख ५० हजारमा थाइल्यान्डको वर्किङ भिसा दिलाइदिने भन्दै रकम लिएकी थिइन्।
वाग्लेले थाइल्यान्डमा रहेका भिमेश डोटेल आफ्नो दाजु भएको र उनले काम मिलाइदिने भन्दै क्षेत्रीसँग नेपालमा एक लाख र थाइल्यान्ड पुगेपछि डोटेलले २ लाख ५० हजार रुपैयाँ लिएका थिए।
सहमतिअनुसार थाइल्यान्ड पुगेपछि क्षेत्रीलाई डोटेलले एक थाई नागरिकको जिम्मा लगाए। तर काम नपाएपछि क्षेत्री नेपाल फर्केका थिए। नेपाल फर्केका क्षेत्रीलाई वाग्लेले काम पाइन्छ भन्दै फेरी थाइल्यान्ड पठाए पनि दोस्रोपल्ट समेत उनले काम पाएनन् र नेपाल फर्केपछि क्षेत्रीले वाग्लेविरुद्ध प्रहरीमा उजुरी गरेका थिए।
प्रहरीले खोजी गर्दा वाग्ले पछिल्लो समय आइडियल कन्सल्टेन्सी छाडेर दि वेस्ट एजुकेसन खोलेर बसेको खुलेको थियो। प्रारम्भिक अनुसन्धानमा उनलेे दि वेस्ट कन्सल्टेन्सी दर्ताबिनै सञ्चालन गरिरहेको खुलेको महाशाखाले जानकारी दिएको छ।
४ वर्ष अघिको ठगी अभियोगमा दोषी ठहरिए पनि फरार महर्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। ज्ञानीछोरी महर्जनको जाहेरीका आधारमा वैदेशिक रोजगार न्यायाधिकरणले क्यानडा पठाउने भन्दै महर्जनले ठगेको पुष्टि गर्दै २०६८ माघ २९ मा २ वर्ष कैद र २ लाख जरिवाना फैसला गरेको थियो।
आकर्षक वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने भन्दै उनले ज्ञानीछोरी र उनका पति राजकुमार महर्जनसँग २०६५ माघ १५ मा १९ लाख ३० हजार रुपैयाँ ठगेका थिए। महर्जनले उस्तै प्रलोभन देखाएर हरि रेग्मीसँग १५ लाख ८१ हजार बराबरको तमसुक गराएका थिए।
महर्जनले क्यानडा नपठाएपछि परेको जाहेरीमा सुनुवाइ गर्दै न्यायाधिकरणले ज्ञानीछोरी र राजकुमारको मुद्दामा २० लाख २५ हजार र हरिको मुद्दामा ९ लाख ४६ हजार बिगो कायम गर्दै बिगो भराउने गरी कैद र सजायको फैसला गरेको थियो।