ट्राभल एजेन्सीबाट म्यानपावरको धन्दा

12 Apr, 2013

दिनेश रेग्मी

ट्राभल एन्ड टुर्स लागि सञ्चालित केही एजेन्सीले विदेशमा मान्छे पठाउने भन्दै म्यानपावर कम्पनीको काम गर्दै आएको खुलेको छ । ट्राभल एजेन्सीहरूले सरकारले श्रम स्वीकृत दिन प्रतिबन्धित लगाएको इराकमा समेत २९ युवती पठाउन लागेका थिए । वैदेशिक रोजगार विभागले र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सिनामंगल, गौशाला क्षेत्रका ३ वटा ट्राभल एन्ट टुर्स एजेन्सी छापा मारेपछि यस्तो तथ्य भेटिएको हो । यसअघि पनि विभिन्न ट्राभल एजेन्सीले म्यानपावर कम्पनीको काम गर्दै आएको आशंका गरिएको थियो ।

विभाग र ब्युरोले बुधबार साँझ २ घन्टा वेस्ट फ्रेन्डसीप इन्टरनेसनल टुर्स एन्ड ट्राभल, एयर हिमाल ट्राभल एन्ड टुर्स र किङ अकबर ट्राभल एजेन्सीमा छापा मारेको थियो । उनीहरूले

अनधिकृत रूपमा वैदेशिक रोजगारमा कामदार पठाउने काम गरेको गुनासो आएपछि छापा मारी कम्प्युटर, ल्यापटपसहित विभिन्न कागजातहरू बरामद गरेको विभागले जनाएको छ ।

वेस्ट फ्रेन्डसिपमा इराकमा महिला पठाउन त्यहाँको कुर्दिस्तान रिजनल काउन्सिल अफ मिनिस्टरबाट आएको २९ महिलाको भिसाको लिस्ट राखेको फेला परेको छ । जसमा सरिता तामाङ, अनिता तामाङ, रेश्मा तामाङ, परिमाया तामाङ, देवी तामाङ, रेस्मा गुरुङ, गौमती गुरुङ, हिमाकुमारी आले, निमा ल्हामु शेर्पासहितको नामावली र पासपोर्ट नम्बर छ ।

‘प्रतिबन्धित मुलुकमा महिला पठाउन खोज्नु गम्भीर विषय हो, हामीले छानबिन गरिरहेका छौं,’ विभागका महानिर्देशक विनोद केसीले कान्तिपुरलाई भने, ‘ट्राभल एजेन्सीलाई मान्छे पठाउने अधिकार नै छैन ।’ वैदेशिक रोजगार ऐनअनुसार विभागको इजाजत नलिई विदेशमा कामदार पठाएमा ३ लाखदेखि ५ लाख रुपैयाँ जरिवाना र ३ वर्षदेखि ७ वर्ष कैद सजाय छ ।

विभागका अनुसार ती ट्राभल एजेन्सीबाट इराकमा महिला पठाउन तयार पारिएका कागजात, महिलाको स्वास्थ्य परीक्षणको थानका थान रिपोर्ट, डिमान्ड लेटरका स्क्यान कपी, कुबेतका भिसा नम्बर २० (हाउसमेड) का भिसा, दूतावासबाट प्रमाणित भएको सक्कल पत्र, म्यानपावर कम्पनीका लेटर हेड, ६ वटा कम्प्युटर, एउटा ल्यापटप, मोबाइल, सीपीयू प्रहरीले बरामद गरेको छ । एजेन्सीहरूले अनधिकृत कामलाई छल्न र लुकाउन डेस्टप कम्प्युटरभन्दा ल्यापटपको प्रयोग बढी गरेको पाइएको जनाएको छ ।

ट्राभल एन्ट टुर्सको ठूलो संस्था ‘नेपाल एसोसिएनस अफ ट्राभल एन्ड टुर्स एजेन्स (नाट्टा)’ ले आफ्नो संस्थाका सदस्यहरू कसैले म्यानपावर व्यवसायको काम गरेको भेटिए कारबाही गर्ने जनाएको छ । कान्तिपुरले प्रहरी छापामा परेका एजेन्सीहरूको नेपाल टेलिकममा फोन नम्बरका लागि सम्पर्क गर्दा वेस्ट फ्रेन्डसिपको बाहेक किङ अकबर र एयर हिमालको उपलब्ध हुन सकेन । वेस्ट फ्रेन्डसिपको सम्पर्क नम्बरले काम गरेन ।

‘एउटा कामका लागि लाइसेन्स लिएर अर्को काम गरेको पाइए हामी आफैं पनि कारबाही गर्छौं र सरकारलाई पनि सिफारिस गर्छौं,’ नाट्टाका अध्यक्ष पवित्रकुमार कार्कीले कान्तिपुरलाई फोनमा भने । नाट्टा, नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो) र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर (सोटो) ले म्यानपावरको काम गरेका ती संस्था आफूहरूको सदस्य नभएको बताए ।

ट्राभल एन्ट टुर्स एजेन्सीका लागि पर्यटन महाशाखामा ३ लाख रुपैयाँ धरौटी राख्नुपर्ने र वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न ७ लाख रुपैयाँ नगद र २३ लाख रुपैयाँको बैंक ग्यारेन्टी राख्नुपर्ने भएकाले उनीहरूलाई कामदार पठाउन सजिलो भएको छ । बेरोजगारीले छट्पटिएका युवाहरूलाई वैदेशिक रोजगारको नाममा लुट्नका लागि अहिले दलाल, एजेन्ट, म्यानपावर व्यवसायीदेखि ट्राभल एजेन्सी, एजुकेसनल कन्सल्टेन्सी, होटल व्यवसायीसम्म सक्रिय भएर लागेका छन् ।

अनधिकृत रूपमा व्यक्तिगत स्वीकृतिका नाममा युवतीहरूलाई विदेश पठाइने क्रम बढेको भन्दै विभागले अनुगमन बढाउने जनाएको छ । ‘अब अनुगमन बढाउनुपर्छ,’ महानिर्देशक केसीले भने, ‘यसलाई काठमाडौं र जिल्लाहरू पनि नियमित गर्छौं ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024