झुलाघाट नाकाबाट ५ सय ८० जना भित्रिए

29 May, 2020

बिरा गडाल

बैतडीको झुलाघाट सीमानाकाबाट ५ सय ८० जना नेपाली भित्रिएका छन्। रोजगारी एवम् अन्य कामको सिलसिलामा भारतमा रहेका नेपालीलाई बिहीबार जिल्ला प्रशासन कार्यालय बैतडीले सीमा पुल खोलेर भित्र्याएको हो। नेपाल–भारतको स्थानीय प्रशासनको समन्वयमा नाकामा अलपत्र परेका नागरिकलाई ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले  बताए।

कोरोना भाइरसका कारण सीमा सिल भएपछि नेपाल आउन नपाएर भारतीय सीमानाका भुलाघाटमा अलपत्र परेका नागरिकलाई ल्याइएको हो। सीमानाकामा समान्य चेकजाँच मात्रै गरेर स्वदेश ल्याइएको सहायक प्रजिअ नेगीले बताए। सीमानाका खोलेर ल्याइएका अधिकांश बझाङ जिल्लाका छन्। आज पनि सीमानाका खोलेर सीमा पारी पिथौरागढ, झुलाघाट लगायतका क्षेत्रमा अलपत्र परेका नागरिकलाई ल्याइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

धेरै नेपाली अझै स्वदेश फर्किन नपाएर अप्ठारोमा परेको खबर प्राप्त भएकाले शुक्रबार पनि दिउँसो दुइ बजेसम्म सीमानाका खोल्ने योजना बनाएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए। कोरोना भाइरसको विश्वव्यापी महामारीको कारण सीमानाका सील भएपछि  सीमासम्म पुगेका नागरिक अलपत्र परेका थिए।

यसअघि पनि दुवै देशको सहमतिमा बैतडीको झुलाघाट नाका र दार्चुलाको धार्चुला नाकाबाट धेरै नेपाली नागरिकलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरेर सम्बन्धित  जिल्ला र स्थानीय तहमा पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024