जेन-जी आन्दोलन : कोरिया गएर पैसा कमाउने प्रविनको सपना अधुरै

18 September, 2025

नवीन गुरुङ

पूर्वी पहाडी जिल्ला संखुवासभा यति वेला शोकमा डुबेको छ। गत भदौ २३ गते सोमबार भएको जेन-जी आन्दोलनका क्रममा संखुवासभाको सिलिचोङ–३, लकुवाका २१ वर्षीय प्रविन कुलुङ र सिलिचोङ– ५ याफुका ४२ वर्षीय साजन राईले काठमाडौंमा ज्यान गुमाए।

बुधबार मृतक प्रविनको शव नेपाली सेनाको हेलिकप्टरले सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कुमा ल्याई परिवारजनलाई जिम्मा दिइएको छ। साजनको शव भने आइतबार नै सेनाको हेलिकोप्टरबाट धरानमा ल्याई जिम्मा दिएको सिलीचोङ गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले बताए। दुवैजना सिलिचोङकै स्थायी बासिन्दा भए पनि केही समयदेखि साजनको परिवार धरानमा बस्ने भएकाले अन्तिम संस्कारको लागि शव धरानमा नै जिम्मा दिइएको अध्यक्ष मेवाहाङले बताए।

जेन-जी आन्दोलनमा सहादत प्राप्त गरेका वीर सहिदहरूको शव घरसम्म पुर्‍याउने प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्णय गरेको थियो। सिलिचोङ गाउँपालिका केन्द्र ताम्कुमा प्रविनको पार्थिव शरिरमा गाउँपालिकाका अध्यक्ष मेवाहाङले राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गरेका थिए। उक्त श्रद्धाञ्जली सभापश्चात् मृतकका आफन्तलाई बुझाइएको थियो। त्यसपछि सिलिचोङ–३, लकुवामा कुलुङ जातिको जातीय संस्कारअनुसार कुलुङको अन्त्येष्टि गरिने जनाएको छ।

कोरिया जाने तयारीमा थिए प्रविन
सिलिचोङ–३ लकुवाका बालकिशोर र मालती कुलुङको माइलो छोरा हुन् प्रविन। बालकिशोरका तीन छोराहरू र श्रीमान् श्रीमती गरी पाँचजनाको परिवार थियो। जेठा छोरा नेपाली सेनामा कार्यरत रही बाग्लुङमा छन्। गाउँमै कृषि पेसा गर्दै माइलो प्रविन र कान्छो छोरालाई राम्रो शिक्षादीक्षा दिने सपनासहित उनीहरू केही वर्षदेखि काठमाडौंमा बस्दै आएका थिए।

प्रविन कोरिया गएर पैसा कमाएर परिवारको दुःखको काँचुली फेर्ने सपना बोकेर भाषा अध्ययन गर्दै थिए। देशमा व्याप्त भ्रष्टाचार र बेथितिबाट आजित भई विदेशिन लागेका प्रवीन पनि सोमबार भएको आन्दोलनलाई समर्थन गर्दै प्रदर्शनमा उत्रिए। आन्दोलनको क्रममा प्रवीनलाई गौशालामा प्रहरीको गोली लाग्यो र त्यहीँ ज्यान गुमाए। उता छोराले आन्दोलनमा ज्यान गुमाएको खबरले आमा मालती यता गाउँमा बेहोस भइन्।

प्रविनका बुबा बालकिशोर पनि स्थानीय नेता हुन्। जनयुद्धमा लडाकु रहेका बालकिशोर विस्तृत शान्ति सम्झौतापछि घर फर्किएर कृषि क्रान्ति गर्दै बसिरहेका थिए। उनी गएको ०७४ र ०७९ को स्थानीय निर्वाचनमा सिलिचोङ–३ बाट वडाध्यक्षका उम्मेदवार थिए। थोरै मतान्तरले पराजित भए। घरबाटै अन्याय र अत्याचार सहन नहुने शिक्षा सानैदेखि पाउँदै आएकै कारण उनलाई आन्दोलनमा होमिए। प्रविन र साजनको निधनले सिंगो संखुवासभा र सिलिचोङ शोकमा डुबेको छ। मृतकका परिवारजनले दोषीलाई कारबाही गर्न मागसमेत गरेका छन्।

सहिदप्रति जेन-जीको श्रद्धाञ्जली सभा
जेन-जी आन्दोलनमा ज्यान गुमाएका प्रवीन र साजनको सम्झनामा संखुवासभाका जेन-जी युवाहरूले श्रद्धाञ्जली सभा आयोजना गरेका छन्। देशको परिवर्तनका लागि ज्यान गुमाउने सहिदहरूको सम्झनामा खाँदबारीको पोखरीबजारस्थित चाँदनी चोकमा श्रद्धाञ्जली सभा आयोजान गरिएको हो। श्रद्धाञ्जली दिन चाहनेहरुका लागि आगामी पाँच दिनसम्म जिल्ला प्रशासनअगाडि नाम लेखेर अगरबत्ती बालेर श्रद्धाञ्जली दिन सकिने जेन-जीहरूले जनाएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024