नेपालमा सञ्चालित इँटा उद्योगमा बाल श्रमिकको सङ्ख्या ३२ हजार रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । ग्लोबल फेयरनेस इनीसीएटीभ (जीएफआई) नामक संस्थाले बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै संस्थाका नेपाल प्रमुख होमराज आचार्यले छ लाख २१ हजार बालबालिका नित्कृष्ट श्रममा रहेको र ३२ हजार इँटा उद्योगमा रहेको जनाउनुभयो । आईएलोको तथ्याङ्क अनुसार नेपालमा १६ लाख बालश्रमिक रहेका छन् ।
इँटा उद्योगलगायत मौसमी उद्योगमा वैज्ञानिक श्रम व्यवस्थापन हुनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल सरकार र दातृ निकायको सहकार्य तीन दशकदेखि बालश्रम मुक्त बनाउने अभियान सञ्चालन भए पनि हुन नसक्नु लज्जास्पद विषय भएको प्रमुख आचार्यले बताउनुभयो । अब क्षेत्रगत हिसाबले बालश्रमलगायत बधुवा श्रम शोषणलाई अन्त्य गर्न सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
जीएफआईले इँटा उद्योगमा काम गर्ने आधाजसोलाई दुई वर्षको अवधिमा सचेत गराएर व्यवस्थापन गरिसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । संस्थाका नेपाल प्रमुख आचार्यले नेपालमा एक हजार २९४ इँटा उद्योग रहेका र त्यहाँ ३२ हजार बालबालिका श्रमिक रहेको बताउँदै बाल श्रम अन्त्यका लागि बालश्रम प्रयोग नभएका इँटा उपलब्ध गराउन आग्रह गर्नसके बालश्रम अन्त्य हुने दाबी गर्नुभयो । उहाँले नेपालमा सञ्चालित २३ इँटा उद्योग मात्रै बालश्रम मुक्त रहेको जानकारी दिनुभयो । नेपाल वार्षिक पाँच अर्बको इँटाको माग हुने गरेको छ ।
जीएफआईले सन् २०१४ देखि इँटा उद्योगमा बालश्रमविरुद्ध अभियान सञ्चालन गर्दै आएको र हालसम्म दस हजार ९७१ जना बालबालिकालाई विद्यालयमा पढ्ने व्यवस्था मिलाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । हालसम्म ४० वटा उद्योगमा पुगेर बालबालिका व्यवस्थापन गर्दा त्यहाँ रहेका ५० प्रतिशत बालबालिकालाई उद्धार गरी व्यवस्थापन गरिएको प्रमुख आचार्यले बताउनुभयो ।
उद्योग सञ्चालक र मजदुरलाई सँगै राखेर छलफल गरेपछि त्यहाँ कार्यरत बालबालिकालाई निकाल्न दुवैपक्ष सहमत भएको बताउनुभयो । उहाँले आफ्नो संस्थाले गरेको कामबाट प्रभावित भएर हाल दुई सय उद्योगले बोलाइरहेको दाबी गर्नुभयो ।
प्रमुख आचार्यले इँटा उद्योगमा बाल श्रम मुक्त गर्नका लागि शून्य सहनशीलता अपनाइएकाले प्रभावकारी भएको बताउनुभयो । इँटा उद्योग सञ्चालक र मजदुरलाई बाल श्रमिक नराख्दा झैंझगडा नहुने र झैंझगडा मिलाउँदा जाने समय वयस्क मजदुरले इँटा निर्माणमा लगाउँदा बालबालिकाले बनाएको भन्दा पनि बढी उत्पादन हुने कुरा बुझाएपछि यो मोडेलका रूपमा स्थापित भएको बताउनुभयो । अब यो मोडललाई राज्यले अवलम्बन गरेर काम गर्नुपर्ने आचार्यको भनाइ छ ।
प्रमुख आचार्यले बालश्रम मुक्त उद्योगको इँटा प्रयोग गरेर होटल, रेस्टुरेन्ट वा त्यसको कुनै एक कोठा भए पनि निर्माण गरेर पर्यटकलाई बुझाउन सके उनीहरूलाई थप रकम शुल्क लिन सकिने वा उनीहरूको बसाइँसमेत लम्ब्याउन सकिने बताउनुभयो ।
आचार्यले अब बालश्रम मुक्त उद्योग सञ्चालकलाई सम्मान गर्ने, नराम्रो गर्नेलाई राम्रो गर्न उत्प्रेरित गर्ने र त्यसपछि पनि अटेर गरे दण्ड वा जरिवाना गर्ने नीति लिनुपर्नेमा जोड दिनुभयो । यसो गरेर नेपालमा बालश्रम अन्त्य गरेपछि प्रचारप्रसार गरेर अन्तर्राष्ट्रिय रूपमा नेपालको छवि र इज्जत बढाउँदै पर्यटनमा आकर्षित गर्न सकिने उहाँको भनाइ थियो ।
पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष गोकर्ण कार्कीले ग्लोबल फेयरनेस इनीसीएटीभले गरेको काम सुरुवात मात्रै भएकाले यसलाई राज्यले जिम्मा लिएर देशव्यापी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले उद्योग वाणिज्य सङ्घले पनि बालश्रम उन्मूलनका लागि कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।