छ प्रतिशतले घट्यो विप्रेषण

17 June, 2020

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार ३ गते । आर्थिक वर्ष २०७६/७७ को दस महिनामा विप्रेषण आप्रवाहमा ६.१ प्रतिशतले कमी आएको छ ।

नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको आर्थिक वर्ष २०७६/७७ को दस महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३६.८ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २४.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा ६.५ प्रतिशतले कमी आई रु. ७७२ अर्ब ५१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १९.४ प्रतिशतले बढेको थियो । 

निक्षेप ११ प्रतिशतले बढ्यो

यसैगरी समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप ११ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ वैशाख मसान्तमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप १७.३ प्रतिशतले बढेको छ ।

२०७७ वैशाख मसान्तमा चल्ती, बचत र मुद्दती निक्षेपको कुल निक्षेपमा क्रमशः ८.६ प्रतिशत, ३२.६ प्रतिशत र ४८.६ प्रतिशत अंश रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.७ प्रतिशत, ३२.८ प्रतिशत र ४७.८ प्रतिशत रहेको थियो । २०७७ वैशाख मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.३ प्रतिशत रहेको छ । २०७६ वैशाख मसान्तमा यस्तो निक्षेपको अंश ४५.७ प्रतिशत रहेको थियो । 

निजी क्षेत्रमा प्रवाहित कर्जा ११.१ प्रतिशतले बढ्यो

बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १७.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ वैशाख मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १३.२ प्रतिशतले बढेको छ । बैङ्क तथा वित्तीय संस्थाको २०७७ वैशाख मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.४ प्रतिशत घरजग्गाको धितोमा र १३.२ प्रतिशत चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.२ प्रतिशत र १३.८ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ १३.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ १२.१ प्रतिशत, निर्माण क्षेत्रतर्फ १२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १५.१ प्रतिशत र सेवा क्षेत्रतर्फ १८.५ प्रतिशतले कर्जा बढेको छ । समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा २५ प्रतिशत, ओभरड्राफ्ट कर्जा ५.७ प्रतिशत, ट्रस्ट रिसिट (आयात) कर्जा १९.२ प्रतिशत, डिमान्ड तथा चालू पँुजी कर्जा ११.५ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ८.१ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ४.३ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ०.४ प्रतिशतले घटेको छ ।

यस्तै समीक्षा अवधिमा कुल आन्तरिक कर्जा १०.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १४.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ वैशाख मसान्तमा यस्तो कर्जा १६.७ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १७.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ वैशाख मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १४.४ प्रतिशतले बढेको छ । 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026