छोरालाई राहदानी, बुहारीलाई सीप

23 May, 2018

अगन्धर तिवारी

तीन वर्षदेखि कतारमा काम गरिरहेका श्रीमान्ले पठाउने पैसाले घरखर्च धान्न गाह्रो भइरहेका बेला फलेवास ५ खानीगाउँकी विन्दु सुनारले राहत पाउने अर्को बाटो भेटेकी छन् । त्यो हो लुगा सिलाइकटाइको काम ।

 

‘सिलाइकटाइको तालिम लिन थालेकी छु,’ उनी भन्छिन्, ‘तालिम सकिएपछि घरै बसेर काम गर्न सकिने रहेछ ।’ श्रीमान्ले मासिक ३० हजार रुपैयाँ कमाउँछन् । घरमा उनले पठाउने १०/१२ हजार रुपैयाँ हो । ‘गाउँका मान्छे राहदानी बनाउँछन्, विदेश जान्छन्,’ उनी भन्छिन्, ‘हामी महिलाले घरधन्दा थामेर बस्नुपर्छ । सीप सिक्दा धेरै–थोरै पैसा आम्दानी आफैं गर्न सकिने रहेछ ।’ व्यावसायिक सीप विकास तालिम केन्द्रले घरनजिकै सिलाइकटाइ तालिम दिन थालेपछि उनलाई ‘ढुंगो खोज्दा देउता मिलेजस्तै’ भएको हो । एउटा मेसिन किनेर घरमै आम्दानी गर्न सकिने बुझेकी उनी हिजोआज दिनहुँ बिहान घरको काम सकेर तालिममा आउँछिन् । तालिममा महिला–पुरुषका सबै पोसाक सिलाउने तरिका उनी सिकिरहेकी छन् ।

 

गाउँमै दुई महिने तालिम सञ्चालन भएपछि विन्दुजस्तै २० बुहारी महिलाहरू तालिममा व्यस्त छन् । सिक्न आएकी खानीगाउँकी सविता थापा पनि तालिमपछि व्यवसाय चलाउने सोचमा छिन् । ‘दैनिक घरव्यवहारको खाँचो पर्दा अरूसँग हात थाप्न नपरोस् भन्ने कसको चाहना हुन्न,’ उनले भनिन्, ‘आफ्नै खुट्टामा उभिन पाए विदेशिएका लोग्नेलाई घरमै फर्काउन सकिन्थ्यो ।’ तालिममा आएका मध्ये दुई तिहाइ महिलाका श्रीमान् विदेशमा छन् । ‘हाल केटाहरूमा गाउँघरमा काम गर्ने होइन, पासपोर्ट बनाउने, विदेश कुदिहाल्ने गर्छन्,’ तालिमेमध्येकी अनिता नेपालीले भनिन्, ‘छोरालाई पासपोर्ट बनाइदिने सबैले छोरी–बुहारीलाई सीप सिक्न दिनुपर्छ ।’ सीप सिकेर काम थालेपछि सके श्रीमान्लाई फर्काउने, नसके आफू आत्मनिर्भर हुने सोच उनको छ ।

 

प्रशिक्षक सम्झना परियार पनि बुहारी हुन् । उनले दिने हौसलाले तालिममा सहभागी बुहारीमा सीप सिक्न जाँगर बढेको छ । पढेलेखेका र नपढेका सबैले गर्न सक्ने, धेरै लगानी नपर्ने र सीप भए सहजै आम्दानी गर्न सकिने भएकाले बुहारीलाई यो सीप उपयोगी हुने सीप विकास तालिम केन्द्रका प्रमुख किरणचन्द्र सुवेदीले बताए । फलेवास नगरपालिकाको केन्द्र खानीगाउँमै छ । नगरको केन्द्र बनेपछि सर्वसाधारणको चाप बढदो छ । सबै प्रकारका व्यवसाय बढ्ने क्रममा छन् । बस्ती बाक्लिन थालेपछि सिलाइकटाइ व्यवसाय गतिलो आम्दानीको स्रोत बन्नेमा महिला ढुक्क छन् ।

 

हाल गाउँमा घरैपिच्छेका युवा विदेशमा छन् । विवाहित युवक विदेशिएपछि उनीहरूका परिवार घर छाडेर बजारमा झर्ने चलन अझै पनि छ । तर, खानीगाउँमा सीप सिक्न आएका महिलाहरू आफू मात्रै नभएर अरू महिलालाई पनि गाउँमै बस्न प्रेरित गर्ने बताउँछन् । ‘अब सबै सुविधा यहीं छ,’ स्थानीय सन्तु दर्जीले भनिन्, ‘यातायात, सञ्चार, शिक्षा सबै गाउँमै भएपछि किन बजार जानु ? हातमा सीप भएपछि छोराछोरी पढाउने खर्च आफैं जुटाउन सकिन्छ ।’

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024