गणेश राई, कृष्ण थापा
रसुवाका दुर्गम गाउँका चेलीहरू ‘अभाव, प्रभाव र दबाब’ ले नेपाल र चीनको सीमा केरुङ बजारतर्फ बेचिने गरेका छन् । प्रहरी र प्रशासनले रोक्न जति प्रयास गर्दा पनि सकेका छैनन् । प्रहरीको तथ्यांकअनुसार केरुङमा ३ वटा डिस्को चलेका छन् । कम्तीमा १५ देखि २० नेपाली चेली ती डिस्कोमा काम गर्छन् । ती सबै १९ वर्षभन्दा कम उमेरका छन् । विगतमा रसुवा भेगका चेलीहरू भारत पुर्याइन्थे । अहिले गन्तव्य बदलिएको छ । सीमावर्ती बजार केरुङका डान्स बारमा पुर्याइन्छन् ।
‘अहिले इन्डिया होइन केरुङका डान्स बार, कुवेत, अफ्रिकी मुलुकमा पुर्याउने गरिएको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले भने, ‘छोरीको कमाइले हरियो जस्ताको छानो लगाउन पाउने भएपछि बाबुले नै छोरी पठाउन राजी भएको पाएका छौं ।’
केन्द्रीय अनुसन्धान ब्युरोमा काम गरिसकेका डीएसपी पोखरेलले यसको सञ्जाल पत्ता लगाउन चुनौती बनेको बताए । ‘किनभने उनीहरूको सांस्कृतिक परम्पराले अनुसन्धानमै बाधा पुगेको छ,’ उनले भने ।
हिमाली भेगको चलनअनुसार केटा र केटीबीच मन पराएपछि अभिभावकले मौन समर्थन जनाउँछन् । तर, जब केटा र केटीबीच मनमुटाव हुन्छ या छोरी बेपत्ता भएपछि मात्र प्रहरी कार्यालयमा उजुरी दिन्छन् । अनैतिक सम्बन्धले समस्या निम्तिने गरेको छ । प्रहरी महिला सेलमार्फत अनुसन्धान अगाडि बढाइएको उनले जनाए । ‘अहिलेसम्म त्यस्ता गिरोहका तीनजना महिला जेल पठाइसकेका छौं,’ उनले भने ।
बेचिने मात्र नभई स्थानीय तहमा पनि महिलामाथि दुव्र्यवहार बढ्दो छ । रसुवा क्षेत्रमा १० वटा जलविद्युत् आयोजना छन् । ती ठाउँमा केटीलाई काम लगाउने बहानामा दुव्र्यवहार बढ्न थालेको प्रहरीको भनाइ छ ।
शिक्षा कार्यालयले पनि १० वर्षदेखि १४/१५ वर्ष उमेर समूहका छात्राले बीचैमा पढाइ छाड्ने क्रम बढेको जनाएको छ । ‘कक्षा ६ मा १५ सय भर्ना भएकामध्ये ७ सयले मात्र एसएलसी परीक्षा दिएका छन्,’ विद्यालय निरीक्षक कृष्णराज राईले भने ।
प्रहरीका अनुसार १० देखि १६ वर्ष उमेर समूहका किशोरीमध्ये ६० प्रतिशतले मोबाइल बोक्छन् । ‘हामीले कक्षाकोठामा विद्यार्थीको झोला खोतल्ने हो भने महँगा मोबाइल बोकेको भेट्टाउँछौं,’ शिक्षिका फुर्पु चेमो तामाङले भनिन्, ‘बाबुआमा गरिब छन् तर छोराछोरीले कसरी त्यति महँगो मोबाइल बोक्न पाए भन्नेबारे हामीलाई थाहा छैन ।’
तथ्यांकअनुसार रसुवाबाट स्नातकोत्तर हासिल गर्ने महिला करिब ७ जना मात्र छन् । छोरालाई ‘पर्यटक स्पोन्सर’बाट राजधानीका बोर्डिङ पढाउने चलन छ । छोरीलाई स्थानीय विद्यालयमा पढाइन्छ ।