चार महिनामा ६० करोड रेमिटेन्स

26 November, 2015

धादिङमा चार महिनाको अवधिमा ६० करोड रेमिटेन्स भित्रिएको छ। 

 

धादिङबेसीमा रेमिटेन्स कारोबार गर्दै आइरहेको कला इन्टरनेसनल प्रालिका अनुसार यस वर्षको दसैं र तिहार जस्ता ठूला चाडपर्वको आसपासमा विभिन्न देशबाट ५९ करोड ९८ लाख सात सय २१ रुपैयाँ रेमिटेन्स भत्रिएको हो। यो कारोबार चालू आर्थिक वर्षको पहिलो चार महिनाको हो।

 

चाडपर्वमा खर्च चलाउन र विदेश जाँदा लागेको ऋण तिर्ने भाका पनि अधिकांशले दसैं नै राखेको हुनाले पनि विदेशबाट चाडपर्वको समयमा बढी रकम आउने गरेको हो। जिल्लामा रहेका रेमिटेन्स भित्र्याउने आईएमई लगायतका सबैजसो कम्पनी र निजी बैंकहरूबाट बाह्य र आन्तरिक कारोबार बढेको छ।

 

अरू बेलाभन्दा चाडपर्वको समयमा विदेशबाट पठाएको रकम झिक्न आउने मानिसको भीड नै लाग्छ। अरू बेला सरदर दैनिक एक सय ५० जनाको हाराहारीमा ग्राहक आउने गरेको भए पनि चाडपर्वको समयमा भने दैनिक सात सय ५० जनासम्म विदेशबाट पठाएको पैसा झिक्न आएको कला इन्टरनेसनलका प्रालिले जनाएको छ।

 

रेमिटेन्स कारोबार गर्ने बैंक तथा वित्तीय सस्थाले पनि चाडपर्वको समयमा बाह्य रेमिटेन्स कारोबारमा वृद्धि भएको बताएका छन्। आन्तरिकभन्दा बाह्य रेमिटेन्स झण्डै आठ गुणाले बढी भित्रिने गरेको कला इन्टरनेसनल प्रालिका प्रबन्धक रामचन्द्र गिरीले जानकारी दिए। 

 

उनले भने, ‘आन्तरिक रेमिटेन्सको तुनामा बढीले आउने गरेको छ। यस आर्थिक वर्षको सुरुका चार महिनामा मात्रै सात करोड ५३ लाख आन्तरिक रेमिटेन्सको कारोबार भएको थियो।

 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024