चाडपर्वपछि वैदेशिक रोजगारीमा जाने ह्वातै बढे

22 Nov, 2014

कामको खोजीमा बिदेसिने युवाको संख्या ह्वात्तै बढेको छ। चालू आर्थिक वर्षको कात्तिक महिनामा ४३ हजार दुई सय १३ जना नेपाली काम गर्न विदेशी भूमिमा पुगेका छन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ३५.२६ प्रतिशतले बढी हो। गत वर्ष कात्तिकमा जम्मा ३१ हजार नौ सय ४९ जनामात्र वैदेशिक रोजगारीमा गएका थिए।

आन्तरिक बजारमा काम पाउन नसकेपछि युवा बिदेसिने क्रम बढेको हो। गत वर्षभन्दा निकै धेरै कामदार विदेश गएकाले बेरोजगारी समस्या थप चुलिँदो क्रममा रहेको पुष्टि हुन्छ। नयाँ तथ्यांकले दुई ठूला चाड दसैं र तिहारपछि कामको खोजीमा बिदेसिने क्रम बढेको देखाएको छ। गएको असोजमा ३५ हजार पाँच सय ५० जना काम गर्न बिदेसिएका थिए। त्यो संख्या बढेर कात्तिकमा ४३ हजार पुगेको हो। वैदेशिक रोजगार विभागका अनुसार कात्तिकमा संस्थागततर्फबाट ३६ हजार ६ सय २६ जनाले वैदेशिक रोजगारीमा जान अनुमति पाएका छन्। यसमा पुरुषको संख्या ३६ हजार ६ सय ३६ छ भने महिला १३ सय ९२ जनामात्र छन्।

यसैगरी व्यक्तिगत पहलमा जाने कामदार जम्मा चार हजार चार सय ७४ जना छन्। यसमा महिला चार सय ६१ मात्र छन्। म्यानपावर कम्पनीमार्फत जानेलाई संस्थागत र व्यक्तिगत रूपमा भिसा मगाएर जाने व्यक्तिगतमा पर्छन्। विगतमा जस्तै यसपटक पनि नेपाली कामदारको पहिलो रोजगारी गन्तव्य भने मलेसिया नै परेको छ। दुई वर्षयता लगातार मलेसिया सबैभन्दा धेरै नेपालीलाई रोजगारी दिने मुलुक बनेको छ। कात्तिकमा यो मुलुकमा मात्रै २० हजार सात सय ५६ जना कामदार पुगेका छन्। यो महिनाभरिमा गएका कुल कामदारको झन्डै आधा हो।

मलेसियामा न्यूनतम तलब कार्यान्वयनमा ल्याइएको छ। जाने कामदारले त्यहाँ कम्तीमा पनि २७ हजार रुपैयाँ कमाउन सक्छन्। यसबाहेक यो मुलुकमा इन्डोर (उद्योगभित्र गरिने काम) काम पाइन्छ। बहुराष्ट्रिय कम्पनी धमाधम खुलिरहेकाले कामदारको माग पनि बढेको म्यानपावर व्यवसायी बताउँछन्। कामदारको दोस्रो रोजाइमा कतार परेको छ। यो मुलुकमा कात्तिकमा नौ हजार पाँच सय ११ जना नेपाली पुगेका छन्। सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबल खेलको तयारी गर्न कतारमा अहिले पूर्वाधार निर्माणको काम भइरहेको छ।  त्यही भएर नेपाली कामदारको मागसमेत बढेको व्यवसायीले जानकारी दिएका छन्। यसैगरी तेस्रो धेरै कामदार जाने मुलुकमा भने साउदी अरब परेको छ। साउदीमा पाँच हजार एक सय २४ जना गएका हुन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024