घर फर्किने प्रतीक्षामा भुटानी शरणार्थी

30 Nov, 2014

उमाकान्त खनाल 

 

सन् २००७ बाट सुरु भएको तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रमपछि अहिलेसम्म ९३ हजार पाँच सय भुटानी शरणार्थी तेस्रो मुलुकमा पुनस्थापित भएका छन्। शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय संस्था यूएनएचसीआरले दिएको समयसीमा गएको जुन महिनाको अन्त्यसम्ममा करिब दुई हजार भुटानी शरणार्थीले तेस्रो मुलुक पुनस्र्थापनामा जाने इच्छा गरेका छैनन्। शिविरमा बाँकी रहेकालाई भुटान नै फर्काउन पहल गरिने सरकारी अधिकारी बताउँछन्। 

 

बेल्डाँगी शिविरका हरिप्रसाद अधिकारीका अनुसार सन् १९९० को सुरुआततिर जब नेपालीभाषी भुटानी नेपाली संस्कारअनुसारको पोसाक र नेपाली भाषा पनि शिक्षण संस्थामा पठनपाठन गराउनुपर्छ भनेर आन्दोलित भएपछि उनीहरूलाई भुटान छाड्न बाध्य बनाइयो। अधिकारीले भने, ‘हामीले बख्खु, कीरा, काम्नेलगायत पोसाक लाउन नमानेपछि लखेटिएको हो।’ विशेषगरी दक्षिण भुटानमा बसोबास गर्ने नेपालीभाषी भुटानी राजनीतिक दल स्थापना गरी आन्दोलनमा उत्रेका कारण उनीहरूलाई भुटान छाड्न भनिएको र त्यहाँबाट रातबिरात हिँडेको सम्झना ताजै छ भन्छन् बेल्डाँगी शिविरका शरणार्थी रामप्रसाद शिवाकोटी। उनी भन्छन्, ‘सेना लगाएर खेदेपछि हाम्रो केही लागेन। रातारात भाग्नुप:यो।’ 

 

तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रमअन्तर्गत ९३ हजार पाँच सयभन्दा बढी भुटानी शरणार्थीलाई अमेरिका, अस्ट्रेलिया, नेदरल्यान्ड्सलगायत विभिन्न मुलुकमा पुर्‍याइएको छ। यूएनएचसीआरका अनुसार शिविरमा रहेका २४ हजार शरणार्थीमध्ये दुई हजार शरणार्थी अहिले पनि भुटान नै फर्कन चाहन्छन्। भुटान सम्झिनेबितिक्कै अधिकांश बुढापाका शरणार्थी भक्कानिन्छन्। बेल्डाँगी शिविरका ८१ वर्षीय पदमबहादुर भट्टराईले परिवार वियोगको आँसु अहिले पनि थाम्न सकेका छैनन्। आँसु झार्दै भट्टराईले भने, ‘हामी पनि छोराछोरी जोगाउन भन्दै भाग्यौं। यो बुढेसकालमा यहाँ बसेका छौं। भुटानमै गएर मर्न पाए स्वर्ग जान्थेंजस्तो लाग्छ।’ 

 

यूएनएचसीआरले बाँकी रहेका शरणार्थीलाई भुटान नै फिर्ता गराउन नेपाल तथा भुटान सरकारसँग समन्वय जारी राख्ने बताउँदै आएको छ। यूएनएचसीआरको दमक कार्यालयका बाह्य सूचना सहायक दीपराज उप्रेतीले भने, ‘हामी सकेसम्म शरणार्थीलाई तेस्रो देश पुनस्र्थापनामा पठाउँछौं। शिविरमा रहेकाको दिगो समाधानका लागि भुटान तथा नेपाल सरकारसँग समन्वय जारी राख्छौं।’ 

 

गृह मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवाल पनि तेस्रो मुलुक जान नचाहने शरणार्थीलाई भुटान नै फर्काउन पहल गरिने बताउँछन्। सिलवालले भने, ‘अहिलेसम्म कुनै टुंगो नलाग्नु अचम्मको कुरा हो। सरकारको इच्छा उनीहरूलाई आफ्नो घर पठाउने नै हो।’ पूर्वी नेपालका विभिन्न शिविरमा रहेका भुटानी शरणार्थी आफ्नो देश फर्किने दिन कहिले आउला भन्दै झिनो आशाका साथ प्रतीक्षा गरिरहेका छन्। 

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024