घर फर्किंदा सीमामा सास्ती

18 September, 2016

भवानी भट्ट

  

भारत पन्जाबको लुधियानास्थित एक होटलमा काम गर्ने बाँके कोलपुरका मानबहादुर केसी शुक्रबार साथीभाइसँगै गड्डाचौकी नाका हँुदै घर फर्किए। सीमावर्ती बजार बनबासादेखि गड्डाचौकीसम्म ४० रुपैयाँ भाडा पर्छ। तर, उनले ३ सय भारु तिर्नुपर्‍यो। जाँचका नाममा भारतीय सुरक्षाकर्मीको अनावश्यक हैरानीसमेत खेप्नुपर्‍यो। ‘भारतीय प्रहरीले पनि पारि ९० र वारि सय रुपैयाँ लियो, गेटमा पुग्नेबित्तिकै पैसा निकाल भन्यो, किन भनेर पनि सोध्न सकेनौं,’ उनले भने। सीमा नाकामा पुग्दा यस्ता गुनासा अनेक सुनिन्छन्। बाटामै लुटिएको, सवारीमा चर्को भाडा असुलेको र भारतीय सुरक्षाकर्मीले अनाहक दु:ख दिएर रकम माग गरेको लगायत घटना दिनहँु दोहोरिने गरेको छ। 

 

दसैं–तिहार नजिकिँदै गर्दा भारत पसेकाहरू घर फिर्न सुरु गरेका छन्। रकम असुली र लुटपाटका घटना बढ्न थालेका हुन्। ‘दिल्ली बसपार्कदेखि नै यात्रुले दु:ख पाउन सुरु हुन्छ,’ केरलाबाट घर फर्किन लागेका बझाङ जयपृथ्वी १३ का ज्ञानेन्द्र कठायतले भने, ‘महेन्द्रनगर नपुग्दासम्म १०/२० रुपैयाँ दिँदैमा ४/५ हजार सकिन्छ।’ केरलाबाट बिहीबार साँझ दिल्लीको आनन्दविहार बसपार्क पुगेका कठायतसहित २ जनालाई महेन्द्रनगर जाने बस भन्दै जबर्जस्ती हल्द्वानीको गाडीमा बसाइएको थियो। बीच बाटामा पुगेपछि मात्र बनबासाको गाडीमा बसाइएको बझाङ चैनपुरका भूपेन्द्र सिंहले बताए। ‘दिल्लीमै सवारी बेच्ने चलन बढेको छ,’ उनले भने, ‘एक ठाउँ जाने यात्रुलाई अर्कै बसमा बसाएर यात्रु दिएबापत कमिसन लिने गरिँदोरहेछ।’ 

 

सीमा क्षेत्रमा म्याजिक, टाँगा र विद्युतीय रिक्सा सञ्चालनमा छन्। यिनै साधनका चालक तथा सञ्चालकबाट यात्रु लुटिन्छन्। यो साता मात्रै तोकिएको भन्दा बढी भाडा लिने सवारी चालकबाट ८ जना कामदारको पैसा फिर्ता गरिएको प्रहरीले जनाएको छ। गत आइतबार २ जना कामदारबाट ११/११ सय भारु लिएर बीच बाटामै छाड्ने टाँगा चालकबाट भारतीय प्रहरीको सहयोगमा उक्त रकम फिर्ता गराइएको इलाका प्रहरीका इन्चार्ज सई गोकुल बलायरले बताए।

 

‘बिहीबार पनि ५ यात्रुबाट ८/८ सयका दरले भाडा लिने टाँगा चालकबाट रकम फिर्ता गराइएको छ,’ उनले भने, ‘बनबासा पुलसम्म मात्रै चल्ने सवारी साधनबाट यात्रु बढी लुटिने गरेका छन्।’ उनका अनुसार दैलेखका नेत्रबहादुर शाही, राजकुमार शाही, कैलालीका शिवराज शर्मा, बझाङका राजकुमार बोहरा र देवबहादुर बोहराबाट टाँगा चालकले ८/८ सयका दरले ४ हजार भाडा लिएका थिए। २ वटा टाँगा चालकबाट लुटिएको रकम फिर्ता गराइए पनि उनीहरूमाथि कारबाही भने भएको छैन। बनबासादेखि महेन्द्रनगरसम्म सञ्चालन हुने टाँगाहरू नेपाली नम्बरका छन्। बनबासा पुलसम्म मात्रै सञ्चालन हुने टाँगा बिनानम्बरका हुन्। तिनै टाँगा चालकले बढी भाडा लिएर बीच बाटामै छाड्ने गरेको सई बलायरले बताए। ‘बढी भाडा तिरेका तथा लुटिएकाहरू पनि सबै प्रहरीकामा पुग्दैनन्,’ उनले भने, ‘पुगेका पनि सामान्य जानकारी दिएर फर्किन्छन्।’  

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026