खोई श्रीमान् ?

27 Jul, 2013

दिनेश रेग्मी

शीला र दीपकको भेट दिल्लीमा भयो । दीपक दिल्ली, सालीमारबाघमा काम गर्थे । शीला बुवा-आमासँग बस्थिन् । आफन्तकहाँ आउँदा-जाँदा उनीहरूको चिनजान भएको थियो । चाँदनी-७, कञ्चनपुरकी शीला सुनार र बाजुरा बारबिसका दीपकको भेट बाक्लिँदै गयो । उनीहरूले आफ्नै राजीखुसीले विवाह गरे ।

विवाहको २ वर्षमा छोरा जन्मिएपछि परिवारमा अर्को खुसी छायो । ३ वर्ष उनीहरू हाँसीखुसीले बसे । दीपकको मासिक ८/१० हजार (भारु) ले परिवारको गुजारा गतिलै चलेको थियो । एक दिन दीपकले भाइ (साला) बिरामी छ भनेर शीलालाई माइती पठाए । त्यतिखेर डेंगुको प्रकोप थियो । उनी हानिएर माइती गइन् । भाइ बिरामी थिए, भेटिन्, बसिन् । दीपकले चाँडै लिन आउँछु भनेका थिए, तर आएनन् । दीपक जहाँ चौकीदारी र गाडी सफाइको काम गर्थे, शीला त्यहीं घरमा पुगिन् । मालिकले उल्टै शीलालाई सोधे, खोई दीपक ?

प्रवासी नेपालीको एक संस्थामा आएकी उनले सुनाइन्, ‘ऊ कसरी भेटियोस्, अर्कै केटीसँग फसेर मलाई छोडेर भागेको पो रहेछ ।’ २ वर्ष भयो दीपक नफर्केको । एकपटक आफन्तकोमा भेट हुँदा उनी तुरुन्तै त्यहाँबाट निस्किएछन् । शीला फेरि दिल्लीसँग जोडिइएको गाजियाबाद (उत्तरप्रदेश) को शालिमार गार्डेनमा फर्किन् आमा-बुवासँग बस्न । उनी अर्काको घर (कोठी) मा भाँडा माझ्ने, कपडा धुने, झाडु लगाउने गरेर जीविकोपार्जन गर्दै छिन् । ‘उसको पहिला अर्कोसँग पनि विवाह भएको रै’छ, आफूलाई केही थाहा भएन, फसियो,’ उनले भनिन् । उनी आफन्तको सहयोगमा प्रहरीमा पनि पुगिन् । कुनै प्रहरीले श्रीमान् खोजेर ल्याऊ, कारबाही गर्छु भनेछन् । कुनैले यो दिल्लीको केस हो गाजियाबादले हेर्दैन भनेछन् । ‘कसैले के भन्छन्, कसैले के ?’ उनी भन्छिन्, ‘खोज्न नसकेर त्यत्तिकै बसेकी छु ।’

दिल्ली र आसपास गाजियाबाद, गुडगाउँमा अर्को विवाह गर्दै श्रीमती छाडेर भाग्नेहरू अरू पनि छन् । कतिले श्रीमान् छाडेर हिँडेका पनि छन् । स्थानीय ‘आँचल च्यारिटेवल ट्रस्ट’मा कार्यरत कमलराज गिरी आफूले करिब ५० वटा यस्ता मुद्दाहरू भेटेको सुनाउँछन् । ‘दोस्रो विवाह, जाँड, रक्सी, जुवा-तास, घरायसी झगडा, शंका-उपशंकाले यस्ता घटना वृद्धि भएका छन्,’ आफैंले दुई विवाह गरेका ३५ वर्षे गिरी भन्छन्, ‘मैले त १५ वर्षसम्म सन्तान नभएर गरेको हुँ तर यहाँ एउटालाई छाड्दै अर्को विवाह गरेका घटना छन् ।’

शीलाकी बहिनी बिना पनि श्रीमान्सँग छैनन् । विवाह गरेको ३ वर्ष भयो अनि श्रीमान्सँग छुट्टिएको एक वर्ष । उनी पनि गाजियाबादमा माइतीमा छिन् । आमा पवीलाई दुई छोरीको चिन्ता परेको छ । ‘अहिले त हामीले हेरौंला, भोलि कसले हेर्छ ?’ उनी भन्छिन् ।

गाजियाबादमा भेटिएकी शान्तिको व्यथा पनि उस्तै छ । आफैं विवाह गरेकी शान्ति श्रीमान्सँग बरेलीमा बसिन् । २ छोरी छन् । उनी दिल्ली आएको ११ महिना भो । दिल्लीमा पति भरत पार्की चौकीदारी गर्थे । ‘सुतेकै बेला भागेर गए, एकपटक फोन र एकपटक भेट भो तर फर्केनन्,’ माइतीमा बसेकी शान्ति भन्छिन्, ‘उसले लिएको क्रृण तिर्न मैले चौकीदारीसम्म गर्नुपर्‍यो ।’

प्रवासी भूमिमा एकले अर्कोलाई छाडेर भाग्ने समस्या कसरी हटाउने भन्ने चिन्ता नेपाली समुदायमा उत्तिकै छ । ‘यहाँ आएर श्रीमान्ले अर्की केटी र श्रीमतीले अर्को केटो लिएर हिँडेका पनि छन्,’ गुडगाउँमा भेटिएका एक अनलाइनसम्बन्धी स्टोरका इन्चार्ज मोहन थापाले भने, ‘एक भारतीय, जसले नेपालीलाई सहयोग गर्थे, उनले तिमीहरू किन यस्तो रोक्ने कार्यक्रम ल्याउँदैनौ भने ।’ एक मेडिकल र्फममा कार्यरत पाल्पाका गणेश थापाले सुनाए, ‘यस्ता समस्याहरू धेरै छन्, कसले सुन्ने ? ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024