रुद्र खड्का
जोहोरबारु (मलेसिया)— जोहोरबारुको एक होटलमा क्लिनरको काम गरिरहेका कैलाली, टीकापुरका रतन ऐर पछिल्लो एक महिनामा दुईपटक लुटिए। पहिलोपटक बैंकमा रकम निकाल्न पुगेका ऐरलाई स्थानीय युवाले लुटेका हुन् भने दोस्रोपटक मलेसियन प्रहरीले नै । ऐरका अनुसार होटलले बैंकमा हालेको तलब निकाल्न जाँदा चार सय रिंगिट (१० हजार आठ सय रुपैयाँ) स्थानीय युवाले लुटेको तीन साता बित्न नपाउँदै सडकमा हिँडिरहेको बेला प्रहरीले नियन्त्रणमा लिई तीन सय रिंगिट (आठ हजार एक सय रुपैयाँ) लुटेको थियो।
‘मलेसियामा कमाएर मात्र बचाउन नसकिने रहेछ,’ सात महिनाअघि यहाँ आएका ऐरले भने, ‘मलेसियाको अवस्था नेपालबाट सोचेजस्तो रहेनछ ।’ डिउटीमा रहेको प्रहरीले नै विभिन्न आरोप लगाउँदै कामदारलाई लुटपाट गुर्नलाई उनले आश्चर्यको रूपमा लिएका छन् ।
‘सडकमा हिँडिरहेको बेला सुरुमा प्रहरीले पासपोर्ट मागे । मैले पासपोर्टको फोटोकपी देखाएँ,’ ऐरले भने, ‘त्यसपछि प्रहरीले सक्कल पासपोर्ट माग्यो । मसँग सक्कल पासपोर्ट नभएपछि प्रहरीले रकम माग्यो ।’ मलेसियामा कार्यरत अधिकांश कामदारको पासपोर्ट साहुले नै राख्ने गरेका कारण प्रहरीले धेरैजसो कामदारसँग रकम असुल गर्ने सजिलो माध्यम सक्कल पासपोर्टको खोजी हुने गरेको छ । ‘पासपोर्ट मालिकले नदिने, सडकमा हिँड्दा प्रहरीले सक्कल खोज्ने,’ ऐरले भने, ‘साहु र प्रहरीको जुहारीले कामदार दिनहुँ लुटिन्छन् ।’
क्वालालम्पुरको एक सपिङ कम्प्लेक्समा सुरक्षा गार्डको रूपमा कार्यरत संखुवासभाका राजेश गुरुङलाई कतिखेर घर फर्कौं जस्तो भइरहेको छ । कम्प्लेक्सबाहिर डिउटीमा रहेको बेला दुई महिनाअघि एक हुल स्थानीय युवाको समूहबाट मरणासन्न हुने गरी कुटिएका ३९ वर्षीय गुरुङलाई घरको यादले धेरै सताएको हो । उनका अनुसार डिउटीमा रहेको बेला स्थानीय युवाले कुटपिटपछि पाँच सय रिंगिट (१३ हजार पाँच सय रुपैयाँ) समेत लुटेर लिएका थिए । ‘त्यस घटनाअघि मैले ती युवालाई कहिल्यै देखेको पनि थिइनँ,’ गुरुङले भने, ‘मलाई कुट्नुमा लुटपाट गर्नुमात्रै थियो या अन्य कुनै कारण थियो अहिलेसम्म थाहा पाउन सकेको छैन ।’ कुटपिटका कारण अहिलेसम्म स्वास्थ्यमा खराबी भइरहेको र जतिसक्दो चाँडो घर फर्कने योजनामा रहेको उनको भनाइ छ ।
‘यहाँ आएका धेरै युवालाई रोजगारदाताले मन पराएका कारणले स्थानीय कामदारलाई डाहा भइरहेको छ,’ फेडेरल होटलमा सुरक्षा गार्डको काम गरिरहेका भोजपुरका शंकर अधिकारीले भने, ‘नेपाली श्रमिकलाई एक्लो वा सानो समूहमा देख्नेबित्तिकै आक्रमण भइहाल्छ ।’
नेपालीमा त्रास फैलाउन सके यहाँ आउनेको संख्या घट्ने र आफ्नो रोजगारी सुरक्षित हुन सक्ने मलेसियन कामदारको सोच हुन सक्ने धेरैको अनुमान छ । स्थानीयको तुलनामा नेपालबाट आएका युवाले इमानदारीपूर्वक काम गर्ने भएकाले धेरै रोजगारदाताको छनोटमा नेपाली नै पर्छन् । श्रमिकका अनुसार स्थानीयले आप्रवासी कामदारलाई बिनाकारण कुटपिट गर्दासमेत प्रहरी सहयोग गर्न आउँदैन । ‘प्रहरीकै अगाडि कुटपिट हुँदा पनि मलेसियन प्रहरी टुलुटुलु हेर्छ । उल्टै आप्रवासी कामदारलाई निरुत्साहित गर्दै रकम असुल्छ,’ ६ महिनाअघि कोतरायाको सडकमा हिँडिरहेको बेला स्थानीयको कुटपिटमा परेका सुन्दर तामाङले भने ।
खुला समाज र नेपालको जस्तो मौसम भएका कारण अघिल्लो वर्षसम्म सर्वाधिक युवाको रोजाइमा परेको मलेसियामा नेपाली कामदार असुरक्षित हुनुको कारणमा कतिपयले नेपाल सरकारको लोसे प्रवृत्तिलाई पनि लिएका छन् । ‘नेपाल सरकारले आफ्ना नागरिकलाई कसरी सुरक्षित राख्ने भन्नेबारे कहिल्यै चासो गरेन,’ तामाङले गुनासो गरे, ‘बिनाकारण कुटपिट र लुटपाटमा पर्दासमेत नेपाल सरकारका अधिकारीले कहिल्यै पनि मलेसियन सरकारसँग त्यसबारे कुरा गरेको सुनिँदैन ।’
उनका अनुसार जिउ, धनको सुरक्षा गर्ने जिम्मा लिएको प्रहरीले नै आप्रवासी कामदारको सुरक्षामा बेवास्ता गर्न थालेपछि असुरक्षा चुलिँदो छ । होटल, निर्माण कम्पनी, सपिङ कम्प्लेक्स लगायत स्थानमा कार्यरत श्रमिकले जुनसुकै बेला आक्रमण र चोरी हुन सक्ने भन्दै त्रास पोखे ।
करिब ६० लाख आप्रवासी कामदार रहेको मलेसियामा सबभन्दा बढी असुरक्षित नेपाली रहेको बताइएको छ । संख्याको हिसाबले नेपाली कामदार यहाँ तेस्रो नम्बरमा छन् । कामदारका अनुसार पहिलो र दोस्रो नम्बरमा कामदार पठाएको इन्डोनेसिया र बंगलादेशले आफ्ना नागरिकप्रति बेलाबेला यहाँको सरकारसँग चासो राख्ने गरे पनि नेपाल सरकारले भने सधैं बेवास्ता गर्दै आएको छ । श्रमिकका अनुसार स्थानीयले सबभन्दा बढी सुरक्षा गार्डको रूपमा काम गर्ने नेपालीलाई तारो बनाएका हुन्छन् । मलेसियन सरकारले सुरक्षा गार्डको रूपमा नेपाली र मलेसियन नागरिकबाहेक अन्यलाई राख्न दिँदैन । अन्य कामको तुलनामा सुरक्षा गार्डको कामलाई केही सहज मान्ने स्थानीयले सुरक्षा गार्डको काम आफैंले गर्न पाउनुपर्ने माग पटकपटक राख्दै आएका छन् ।
नेपाली राजदूत निरन्जनमानसिंह बस्न्यात कामदारलाई असुरक्षित बनाउने कार्यमा स्थानीयमात्र नभई लामो समयदेखि यहाँ बस्दै आएका कतिपय नेपाली पनि लागेको बताउँछन् । ‘काम गर्दै आएको कम्पनीबाट कामदारलाई भगाएर केही नेपालीले नै अवैध बनाएको पाइन्छ,’ उनले भने, ‘कामदार अवैध हुर्नेबित्तिकै जोकोहीलाई शोषण गर्न सहज हुने भयो ।’ विभिन्न सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो ठूलो संख्यामा नेपाली श्रमिक समस्यामा नपरेको बस्न्यातको दाबी छ । ‘विभिन्न कारणले १०–१५ प्रतिशत कामदार समस्यामा परेको अनुमान गरेका छौं,’ उनले भने, ‘समस्यामा परेका कामदारको सहयोगका लागि हामीले पनि आग्रह गर्ने निकाय स्थानीय प्रहरी नै हो, कतिपय अवस्थामा यहाँको प्रहरीले दूतावासकै आग्रहलाई टेर्दैन ।’
श्रमिकका अनुसार मलेसियामा सबभन्दा बढी सुरक्षा गार्ड असुरक्षित छन् । हतियार नबोकी एक्लै डिउटीमा खटिनु पर्दा उनीहरूमाथि जुनसुकै बेला आक्रमण र लुटपाट हुने गरेको बताइन्छ । मलेसिया सरकारका अनुसार यहाँ पाँच लाख ८३ हजार नेपाली कार्यरत छन् । जसमध्ये २०–२५ हजार जति नेपाली युवाले सुरक्षा गार्डको काम गरिरहेको बताइएको छ ।