दिनेश रेग्मी
ओमानको समानजिक संयुक्त अरब इमिरेस्ट्स (यूएई) को फुजेरा प्रान्तमा कार्यरत दमक-१६ झापाका वीरेन्द्र धिमाललाई दसैं मनाउने साइत टीकाको भोलिपल्ट मात्र जुर्यो ।
एउटै कोठामा ८ जना नेपाली बस्ने भए पनि ड्युटीको समय फरक हुनाले उनीहरू सबैको भेट शुक्रबारको छुट्टीमा मात्र हुने गर्छ । त्यही छुट्टीको सदुपयोग गर्दै उनीहरूले सँगै खानपिन गरी दसैंको रमाइलो गरे ।
‘छुट्टी मिल्दैन,’ चुरोट कारखानामा कार्यरत धिमालले कान्तिपुरलाई भने, ‘चाडपर्व मनाउने भने पनि रमाइलो गर्ने भने पनि शुक्रबारकै छुट्टी आउनुपर्छ ।’ २४ सै घन्टा सञ्चालन हुने चुरोट कारखानामा कार्यरत उनीहरूमध्ये ४ जनाको ड्युटी दिउँसो र ४ जनाको ड्युटी राति पर्ने भएकाले उनीहरूको कोठामा भेटघाट हुन शुक्रबार नै कुनुपर्ने रहेछ । यूएई र कतारमा करिब ३ वर्ष बिताएका धिमालले यसअघि पनि खल्लो अनुभव लिइसकेका छन् ।
पहिलोपटक विदेश आएर परिवारसँग दसैं गुमाएका आग्रा-६ मकवानपुरका नारायण सिलवालले यतिबेला बढी नै नरमाइलो मानेका छन् । ‘पहिलोपटक परिवारसँग दसैं छुट्दा नरमाइलो भएको छ,’ क्याम्पमा भेटिएका सिलवालले भने, ‘परदेशको हाल यस्तै छ ।’ परदेशमा परिवारसहित नहुनेहरूको समस्या सिलवालको जस्तै हो । चाडपर्वका बेला घरको नियास्रो लिँदै उनीहरूले छुट्टीको बेलामात्र साथी र परदेशमा इष्टमित्रसँग भेटघाट, खानपिन र नाचगान गर्छन् ।
परिवारसँग विदशमै बस्नेहरूको भने अलि भिन्न छ । बृहत् रूपमा गाउँघरमा जसरी दसैं मनाउन नसके पनि उनीहरूले टीका टालो गर्ने, दसैंका परिकारहरू बनाउने गर्छन् । श्रीमान् र छोराहरूसँग ५ वर्षदेखि यूएईमा बस्दै आएकी खिलुङदेउराली-२ स्याङ्जाकी अर्चना रोकाहाले दसैंमा जमरा राखिन् र सेलरोटी तयार गरिन् । ‘पहिला सेलरोटी पकाउन आउँदैनथ्यो, गत वर्ष यहीँ नै साथीहरूसँग सिकेर बनाउँदै छु’ सेलरोटी पकाउँदै गर्दा उनले भनिन्, ‘घर-माइतमा जस्तो दसैंको रमाइलो नभए पनि परदेशमा परिवारसँग बसेर मान्न पाउँदा सुखी छु ।’
छोराछोरीको पढाइका लागि स्वदेश छाडेर रोजगारीका लागि परदेशमा कार्यरत बागलुङ बजारका प्रेमकुमार हमाल र सुमनले यूएईको सार्जामा टीकाटालो गरी दसैं मनाए । ‘विदेशमा जति बसे पनि प्रत्येक दसैंमा घर पुग्ने गर्थें । यसपालि जान नसकेकोमा खल्लो लागेको छ,’ हमालले भने, ‘पहिलो पटक दसैंमा छोरा, छोरी, बुबा, आमालाई मिस गरेको छु ।’ अबुधावीमा कार्यरत तनहुँ माझकोटका विष्णुप्रसाद पौडेललाई आफन्तको मृत्युले दसैं खल्लो नै भयो । बुटवल निवासी चालक नारायण क्षेत्रीई ड्युटीको व्यस्तताले दसैंको अनुभवै हुन पाएन । ‘नेटवर्कको कारण घरमा फोन पनि मुस्किलले गर्न पाएँ,’ क्षेत्रीले भने, ‘पहिला साथीहरू मिलेर ग्यादरिङ गरिन्थ्यो, यसपालि व्यस्तताले दसैंको अनुभवै हुन पाएको छैन ।’
परिवारबाट टाढा हुने कैयांैले फोनमार्फत आशीर्वाद लिँदै र दिँदै दसैं मनाएका छन् । ‘साथीहरू ग्यादरिङ भएर बिहीबार राति दसैंको अवसरमा खानपिन र नाचगान गर्यौं, अनि फोनबाटै आशीर्वाद लियौं, दियौं,’ एनआरएन यूएईका महासचिव सन्तोष प्रसाईंले भने ।
पाली बाहुल्य प्रान्त दुबईमा नेपालीहरू बढी भेला हुने बरदुबईस्थित आब्रा चोकमा नेपालीहरूको जमघट पनि बाक्लै थियो । दुबईमै दसैंको अवसरमा एक रेस्टुरेन्टमा शुक्रबार दिउँसैदेखि स्थानीय नेपाली कलाकारका साथ सांगीतिक कार्यक्रम भयो । ‘हामी हरेक दिन दोहोरी साँझ गर्छौं, दसैंमा चाहिँ दिउँसैदेखि सुरु गर्यौं,’ याक एन्ड यती रेस्टुरेन्ट एन्ड दोहोरी साँझका सञ्चालक गुप्तलाल (रेसम) भुसालले भने ।