कोलम्बो हिँडेका पाँच युवती पक्राउ

13 Jan, 2016

 

शम्भु कट्टेल

काठमाडौं: श्रीलंकाको राजधानी कोलम्बोमा क्यासिनो खेलाउन जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक पुरुषसहित पाँच युवती पक्राउ परेका छन्।

 

भारत जाने भन्दै विमानस्थल प्रहरीलाई झुक्याएर विमानस्थल प्रवेश गरेका उनीहरूलाई अध्यागमन कार्यालयले मंगलबार बिहान पक्राउ गरेको हो। कोलम्बोको एकतर्फी टिकट र राहदानी भए पनि उनीहरूले भारत जाने भन्दै विमानस्थल प्रहरीलाई नागरिकता देखाएर भित्र छिरेका थिए। 

 

भिजिट भिसामा जाने यात्रुले दुईतर्फी टिकट, गन्तव्य मुलुकमा होटल बुकिङ र डलर अनिवार्य देखाएपछि मात्र प्रहरीले प्रवेश दिन्छ। तर उनीहरूले कोलम्बोको प्रस्थान अनुमति लिन आवश्यक पर्ने कुनै कागजपत्र देखाउन सकेनन्। 

 

उनीहरूले आवश्यक कागजपत्र नदेखाएपछि विमानस्थल अध्यामगन कार्यालयले पक्राउ गरेको हो। प्रहरीलाई उनीहरूले नयाँदिल्ली जाने भन्दै झूटो विवरण दिएका थिए।

 

अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले आवश्यक कागजपत्र नबोकी हिँडेकाले उनीहरूको यात्रा शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको बताए। ‘मानव बेचबिखनका संगठित अपराधीले नेपाली चेलीलाई प्रलोभन देखाएको हुनसक्छ’, महानिर्देशक न्यौपानेले अन्नपूर्णसँग भने, ‘त्यससम्बन्धी विस्तृत अनुसन्धानका लागि उनीहरूलाई महानगरीय अपराध महाशाखामा बुझाइएको छ।’

 

भिजिट भिसामा कुनै पनि मुलुक जान विशेष गरी युवतीलाई विमानस्थलमा कडाइ गरेपछि उनीहरूले व्यक्तिगत कामका लागि भारत जाने भनेपछि प्रहरीले छाडिदिएको थियो। भारत यात्राका क्रममा विमानस्थलमा नेपाली नागरिकले आफ्नो नागरिकता देखाएमा सजिलै यात्रा अनुमति पाउँछन्। 

 

तर पक्राउ परेका युवतीले कोलम्बोको टिकट र राहदानी लुकाएका थिए। बोडिङ पास लिइसकेपछि यात्रा अनुमतिका लागि अध्यागमन कार्यालयका अधिकारीले सोधेको जबाफ दिन नसेकेको र कोलम्बो जान चाहिने आवश्यक कागजपत्र नभएपछि विमानस्थल अध्यागमन कार्यालयले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि अध्यागमन विभाग पठाएको थियो। 

 

पक्राउ पर्नेमा चुरियामाई ५ मकवानपुरकी शिला श्रेष्ठ, बराह १ उदयपुरकी भूमिका पुलामीमगर, काठमाडौं रातोपुलकी निशा नेपाल, काठमाडौंकै बिनु श्रेष्ठ, खरानीटार नुवाकोट १ की शिला उप्रेती र बलथली काभ्रेका तेन्जिङ प्रधानांग छन्। उनीहरू नेपाल एयरलान्सको विमानबाट नयाँदिल्ली हुँदै कोलम्बो जान लागेका थिए।

 

नेपाल एयरलाइन्सले उनीहरूलाई कोलम्बोसम्मको बोडिङ पास दिएको थियो। अध्यामगन अधिकारीसँगको बयानका क्रममा उनीहरूले आफूहरूले कोलम्बो जान दलालको सहयता नलिएको बताएका छन्। तर उनीहरूलाई कोलम्बो जानका लागि बाबा नाम गरेका एक नेपालीले सेटिङ मिलाइदिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

 

पक्राउ परेकामध्ये केही यसअघि पनि कोलम्बो गएका थिए । थोरै समयमा आकर्षक पैसा कमाउन सकिने भएपछि उनीहरू कोलम्बोको क्यासिनोमा काम गर्न गएको स्रोतले बताएको छ। उनीहरू कोलम्बोको क्यासिनोमा टेबल डान्स गर्न जान लागेको स्रोतको दाबी छ। 

 

एक विदेशी नागरिक अमित नायल र बाबा नाम गरेका एक नेपालीले कोलम्बोको एक क्यासिनोमा लगानी गरेको र उनीहरूकै सेटिङमा कोलम्बो जान लागेको स्रोतले बताएको छ। हिरासतमा रहेकी निशा नेपालले ११ मध्ये पाँचजना गएको र आफूलाई मात्र नियन्त्रणमा लिइएको गुनासो गरिन्।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024