नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा र कामदार उद्धार कोषका एक–एक करोड रकम सहयोग गरेको छ ।
संघले वैदेशिक रोजगार व्यवसायीहरूले राखेको नगद धरौटीको २५ प्रतिशत (करिब ९५ करोड) को ब्याजबाट प्राप्त हुने रकममध्ये एक–एक करोड सरकारी कोष र कामदार उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै, वैदेशिक रोजगार बोर्ड सचिवालयले कामदार उद्धार कोषमा चार करोड रकम छुट्याएको छ ।
संघले पनि विश्वव्यापी रूपमा कोरोना बढ्दै गएको हुनाले यदि विदेशमा रहेका नेपाली फर्काउनुपर्ने अवस्था सिर्जना भएमा यस कोषबाट सहयोग गर्ने महासचिव श्रेष्ठले बताए ।
हाल कामदार उद्धार कोषमा पाँच करोड रकम जम्मा भएको श्रेष्ठले जानकारी दिए ।
सबै क्षेत्रका सरकारी कोषमा जम्मा हुने सहयोग रकम कोभिड– १९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), स्वास्थ्य सामग्री, पिसिआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुने बताइएको छ ।